
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिवद्धता पहिलो प्रस्थान विन्दु भएको बताउनुभएको छ ।
राष्ट्रपतिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन भ्रष्टाचार न्यूनिकरणका लागि सार्वजनिक निकायमा पारदर्शीता जरुरी रहेको उल्लेख गर्नुभएको हो । ‘शासन प्रणाली जति पारदर्शी र जवाफदेही हुन्छ भ्रष्टाचार न्यूनीकरणको सम्भावना त्यति नै हुने भएकाले सार्वजनिक निकायका हरेक काम, कारबाही र निर्णय पारदर्शी हुनुपर्छ भन्ने कुरामा सबैको ध्यानाकर्षण गराउन चाहन्छु’ उहाँले भन्नुभयो– ‘नेपाली जनताको ठूलो बलिदान र सङ्घर्षबाट ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावना पनि यही हो ।’
भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको विकास र उन्नतिमा अवरोध सृजना गर्ने राष्ट्रपतिको भनाई छ । उहाँले भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको नैतिक धरातल भासिदै जाने र राष्ट्रियता नै कमजोर बन्न पुग्नेमा चिन्ता पनि प्रकट गर्नुभयो । राष्ट्रपतिले भन्नुभयो– ‘भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको विकास र उन्नतिमा अवरोध सृजना गर्नेमात्र होइन राष्ट्रको नैतिक धरातल भासिदै जान्छ र यसले राष्ट्रियता नै कमजोर बन्न पुग्ने हुनजान्छ ।’
विद्यमान कार्य संस्कृतिमा परिवर्तन पनि भ्रष्टाचार नियन्त्रण गर्ने एउटा प्रभावकारी पक्ष हुन सक्ने उहाँको सुझाव थियो । राष्ट्रपतिले अख्तियारले अनुसन्धान र मुद्दा दायर गर्दा आग्रह पूर्वाग्रहरहित भएको सन्देश प्रवाह हुनुपर्नेमा जोड दिनुभयो ।
जनमुखी विकासबाट नागरिकमा सकारात्मक सन्देश जाने र प्रशासनिक क्षेत्रलाई पनि सोहीअनुरुप चुस्त र दुरुस्तरुपले अघि बढ्न मद्दत मिल्ने बताउनुभयो । प्रकृति मानिसका आवश्यकता पूरा गर्न सक्षम छ तर मानिसको लोभ पूरा गर्न सक्षम छैन भन्ने पूर्वीय दर्शनको मान्यतालाई अनुसरण गर्नु आजको आवश्यकता भएकोमा उहाँले जोड दिनुभयो ।
राष्ट्रपतिले ‘सुशासन लोकतन्त्रको प्राणवायु हो’ भन्दै ‘मुलुकमा उपलब्ध प्राकृतिक, मानवीय र सांस्कृतिक सम्पदाहरूको उपयोग र सुदृढीकरण गर्दै आर्थिक समृद्धि तथा सामाजिक न्याय हासिल गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त हो’ भन्नुभयो । ‘हाम्रो अन्तर्राष्ट्रिय प्रतिबद्धता, संवैधानिक दायित्व, आयोगले तयार गरेको संस्थागत रणनीतिक योजना र नागरिकको अपेक्षाका लागि लोकतन्त्रको मूल्यमान्यताअनुरुप हामी सबैले मुलुकको हित र कल्याण तथा अन्तर्राष्ट्रिय छविको लागि आफ्नो जीवनशैलीलाई सरल, इमान्दार, पारदर्शी र सदाचारयुक्त बनाउन आवश्यक छ’ उहाँले भन्नुभयो ।
राष्ट्रपतिले आयोगले आफ्नो कार्यसम्पादन र भ्रष्टाचारका उपर अनुसन्धान छानविन गर्ने क्रममा साना प्रकृतिका कसुरदारका मात्र होइनन् बरु ठूला प्रकृति र कसुरदारको पहिचान गर्न र जतिसुकै ठूला व्यक्ति भए पनि उनीहरूलाई कानुनको दायरामा ल्याउन पछि पर्न हुन्न भन्ने आम नागरिकको मत ध्यानमा राख्न सुझाव दिनुभयो ।
उहाँले मुलुकमा भ्रष्टाचारविरुद्ध जागरण आउनेछ र विश्वस्तरीय भ्रष्टाचार सूचकाङ्कमा नेपालकोस्तरमा क्रमशः सुधार हुने विश्वास व्यक्त गर्नुभयो । तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक समाज, सञ्चार जगत लगायत प्रत्येक नागरिकलाई भ्रष्टाचारविरुद्धको अभियानमा सक्रियतापूर्वक सहभागी भई हातेमालो गर्न समेत उहाँले आव्हान गर्नुभयो । ‘मुलुकको नीति र कानुन निर्माण, विकास व्यवस्थापन र नागरिकको आधारभूत सेवा प्रवाहमा संलग्न अख्तियार प्राप्त अधिकारीलाई प्रचलित नीति र कानुनबोजिम निर्धक्कसाथ विवकेशील निर्णय र कार्यसम्पादन गर्न अनुकूल वातावरणको सृजना गर्नुपर्ने चुनौती समेत यस आयोग तथा सम्बन्धित निकायका सामु देखापरेको छ’ राष्ट्रपतिले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु