
पाटन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनावभन्दा अगाडि नेताहरु मिलेर चुनावमा जाने परम्पराले नेपालको राजनीतिलाई दूषित बनाएको बताउनुभएको छ ।
गोदावरी नगरपालिकाको आठौँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा महामन्त्री थापाले पछिल्लो सत्ता गठबन्धनको उद्देश्य पनि आगामी चुनावमा गठबन्धन गर्न नै हो भन्नुभयो । उहाँले चुनावी गठबन्धनले राजनीतिलाई दूषित बनाएको तर्क गर्नुभयो ।
‘अहिले पनि संसद्मा कुनै दलको बहुमत छैन, यही प्रणाली हुँदा भोलि पनि कुनै दलको बहुमत हुँदैन । यसले नेताहरुको स्वार्थमा संसद् र सरकार बन्धक बनाउँछ । जनताको आवश्यकता र अपेक्षाको सम्बोधन हुनुपर्छ । राजनीतिलाई दूषित हुनबाट बचाउन निर्वाचन प्रणालीलाई बदल्नुपर्छ’ महामन्त्री थापाले भन्नुभयो ।
मिश्रित निर्वाचन प्रणाली विकृत भएको र त्यसबाट नेताहरूलाई सत्तामा पुग्न सहज हुँदा शक्तिको दुरुपयोग हुने गरेका आरोप महामन्त्री थापाले लगाउनुभयो । प्रणाली ठीक नहुँदा देश विकासको गति ठप्प प्रायः भएको बताउँदै उहाँले सङ्घीय प्रणालीलाई ठीक ढङ्गले उपयोग गर्दै नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय तहलाई दिइएको जिम्मेवारीअनुसार सेवा प्रवाह हुनुपर्ने बताउनुभयो ।
बागमती प्रदेशसभा सदस्य मीनकृष्ण महर्जनले गोदावरी नगरपालिकाका प्रमुखमा नगरपालिकाको विकास र समृद्धिको लक्ष्य, दृष्टिकोण र मार्गचित्र स्पष्ट रहेको बताउनुभयो ।
बागमती प्रदेशसभा सदस्य उर्मिला लामाले मुलुक सङ्घीय संरचनामा गएपछि बनेको गोदावरी नगरपालिकाले आठौँ स्थापना दिवससम्म आइपुग्दा महत्वपूर्ण कार्यसम्पादन गरेको बताउनुभयो । उहाँले यस नगरपालिकालाई शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र पर्यटनको क्षेत्रमा नमूना नगरपालिकाका रुपमा विकास गर्न स्थानीय जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।
बागमती प्रदेशसभा सदस्य रघुनाथ महर्जनले सरकारले लिएको दिगो विकास लक्ष्यलाई पूरा गर्नेतर्फ विशेष महत्व दिएर मानव विकास, सामाजिक विकास र पूर्वाधार विकासमा लाग्न आग्रह गर्नुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुँयालले गोदावरी नगरपालिकाले नगरबासीको चाहना पूरा गर्न महत्वपूर्ण काम गरेको बताउनुभयो । उहाँले विकास निर्माणका सन्दर्भमा स्थानीय तहले चाहना गरेबमोजिम सङ्घ र प्रदेशले बजेट प्रवाह गर्न नसकेको बताउनुभयो ।
नगरप्रमुख गजेन्द्र महर्जनले भूगोलका हिसाबले उपत्यकाको सबैभन्दा ठूलो नगरपालिकाका जनप्रतिनिधिहरुको गुनासोलाई सुझावका रुपमा लिएर काम गरिरहेको बताउनुभयो । उहाँले सीमित स्रोत र साधनका बावजुद शिक्षा, स्वास्थ्यसँगै सम्पदा संरक्षणमा पनि ध्यान दिएको बताउनुभयो ।
उपप्रमुख मुना अधिकारीले नयाँ नगरपालिका भएकोले आन्तरिक स्रोतको अभावका कारण सबै वडा कार्यालय भवन बनिनसकेका बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो