+

विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै  नेकपा एमालेले कसैको सदस्यता नखोसेको दाबी गर्नुभएको छ । 


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा सक्रिय भएर एमालेको नेतृत्व लिन खोजेपछि आफ्नो  पार्टी सदस्या अध्यक्ष ओलीको निर्देशनमा खोसिएको बताउँदै आउनुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले बिहीबार आफ्नो सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा पनि त्यही प्रकरण दोहोर्याउनु भएको थियो । त्यसको भोलि पल्ट  शुक्रबार अध्यक्ष ओलीले पार्टी मुख्यालय च्यासल पुगेर पूर्वराष्ट्रपति भण्डारीप्रति लक्षित गर्दै एमालेले कसैको सदस्यता नखोसेको अभिव्यक्ति दिनुभएको हो । 

‘अहिले पूर्वराष्ट्रपतिको सदस्यता खोसिएको भन्ने आरोपका कुराहरु आएको छ, खासमा उहाँले राष्ट्रपति भएपछि पार्टी सदस्य त्याग्नुभएको हो’ उहाँले भन्नुभयो– हुँदै नभएको सदस्यता कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा कायम हुँदैन । उहाँले बाहिर बाहिर बोल्नुभएको छ । पार्टीमा आएर सदस्यता नवीकरण र नयाँ सदस्यताका लागि निवेदन दिनुभएको पनि छैन । पार्टीमा असन्तुष्ट र एकाध जनसंगठनमा हारेकाहरुलाई जम्मा गरेर उहाँले पार्टी  एकतामा यसरी असहयोग गर्नुहोला भन्ने हामीले कल्पना पनि गरेका थिएनौं ।’

प्रधानमन्त्री ओलीले आम जनता पार्टी (आजपा) का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई  एमाले पार्टी प्रवेश गराउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय, ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा एमालेका पूर्व केन्द्रीय सदस्यसमेत रहनुभएका साहसहितलाई प्रवेश गराउनुभएको हो । यस्तै आजपाका स्थायी कमिटी सदस्य मनोजकुमार यादव, फतुवा विजयपुर नगरपालिकाका पूर्व उपप्रमुख कान्तिदेवी महतो, माधवनारायण नगरपालिकाका पूर्व उपप्रमुख सिमलकुमारी साहसहित रौतहट र धनुषाका अन्य नेताहरु एमालेमा प्रवेश गर्नुभएको छ । 

अध्यक्ष ओलीले प्रवेश गर्नेहरूलाई स्वागत गर्दै गलत बाटो देखाउनेहरुको बहकावमा लागेर केही समय अलमलमा परे पनि अब सही घरमा आउनुभएकामा धन्यवाद दिनुभयो । ‘हामी शान्ति, मानवता, विकास र सुख चाहन्छौ’ कार्यक्रममा उहाँले भन्नुभयो– ‘अपराध सोचेर बस्नेहरूको जञ्जालबाट तपाईहरु मुक्त हुनुभएको छ । हामी एमालेको ठुलो परिवार भएर लागौ । मिलेर देश बनाउँ । गलत काम नगरौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट