+

मन्दिरको प्रचारका लागि मिनी म्याराथन

तनहुँ । प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराही मन्दिरको प्रवर्द्धनका लागि यहाँका बासिन्दा जुटेका छन् । माछालाई देवीको रूपमा पुजिने यस मन्दिरको प्रचार–प्रसार गर्ने उद्देश्यले दमौलीबाट छाब्दी बाराही देवीको मन्दिरसम्म मिनी म्याराथन गरिने भएको हो । 

तनहुँको व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पस र व्यास–१४ स्थित छाब्दी बाराही विकास कोषको संयुक्त आयोजना तथा रजवाम युवा क्लबको सहआयोजनामा ‘आदिकवि–छाब्दी मिनी म्याराथन’ गर्न लागिएको हो । यसबाट मन्दिरको प्रचार–प्रसार र प्रवर्द्धन हुनाका साथै आन्तरिक, बाह्य एवं धार्मिक पर्यटनलाई विस्तार गरी युवालाई खेलप्रति आकर्षण गर्न सकिने त्यहाँका वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिनुभएको छ । 

‘क्याम्पसको वार्षिक खेलकुद कार्यक्रम–२०८० अन्तर्गत हुने दौड प्रतियोगितालाई पर्यटन प्रवर्द्धनसँगै समेटिएको छ’ उहाँले भन्नुभयो– ‘म्याराथन आयोजनाका लागि प्रारम्भिक तयारी बैठक बसेका छौँ । विभिन्न क्षेत्रबाट आदिकविमा अध्ययनरत विद्यार्थीमार्फत मन्दिरको संरचना विस्तार र क्याम्पसको शैक्षिक विकास हुने विश्वास लिएका छौँ ।’

क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले क्याम्पसबाट छाब्दी बाराही मन्दिरसम्म दौड हुने बताउनुभयो । व्यास–१ आदिकवि भानुभक्त क्याम्पसबाट व्यास–१४ छाब्दी बाराही मन्दिर परिसरसम्म दौड हुनेछ । उहाँले भन्नुभयो– ‘प्रतियोगिता प्रजातन्त्र दिवसका अवसरमा फागुन १ गतेदेखि खेलकुद सप्ताह सुरु हुन्छ । त्यही अन्तर्गत म्याराथन पनि गर्न लागेका हौँ ।’

म्याराथनमा जिल्लाभरका क्याम्पस र उच्च माध्यमिक विद्यालयका विद्यार्थीलाई खुला प्रतिस्पर्धा गर्ने अवसर दिइने क्याम्पस प्रमुख हड्खलेले बताउनुभयो । सात दशमलव पाँच किलोमिटर दूरीको मिनी म्याराथन दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकलाई  क्रमशः १५ हजार, १० हजार र  ५ हजार रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । 

मन्दिर विकास कोषका अध्यक्ष थानबहादुर थापाले भन्नुभयो– ‘सबै पक्षबाट गरिएको प्रवर्द्धनात्मक कार्यले मन्दिरको विकास हुनाका साथ धार्मिक, आन्तरिक तथा बाह्य पर्यटक आउने वातावरण पनि बनाउन सकिनछ ।’

मन्दिरमा भाकल र दर्शनले मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ माछालाई देवीको रूपमा पुजिन्छ । सदरमुकाम दमौली बजारबाट करिब आठ किलोमिटर पूर्वमा  मन्दिर अवस्थित छ । दमौलीबाट छाब्दी मन्दिरसम्म नै सडक कालोपत्र भइसकेकाले समय समयमा बसको यात्रामा करिब २० मिनेटमा सहजै मन्दिरसम्म पुग्न सकिन्छ । विभिन्न जिल्लाबाट भक्तजन यस मन्दिरमा पूजाअर्चना र भाकल बुझाउन आउने गर्दछन् । मन्दिरमा विशेषगरी साउन महिनामा पूर्णरूपमा नियमित पूजाअर्चना बन्द रहन्छ ।

पृथ्वी राजमार्गबाट नजिकको दूरीमा  मन्दिर पर्ने भएकाले पोखरा–काठमाडौँ यात्रा गर्ने यात्रुका लागि गन्तव्यस्थल बनाउन सकिन्छ । अन्य दिनमा भन्दा शनिबार भक्तजन बढी आउने गरेको मन्दिरका मुख्य पुजारी चोलबहादुर आलेले जानकारी दिनुभयो । उक्त दिन चारदेखि पाँच जना र अन्य दिनमा दुई पुजारीले पूजापाठ र बलि चढाउने कार्य गर्दै आएका छन् । आधा रुप देवी र आधा रुप मत्स्यका रुपमा छाब्दी बाराही देवीलाई लिइन्छ । 

मन्दिर परिसरमा रहेका माछा देवीका अवतारका रुपमा पुजिने गरिएको छ । शुरुमा खरको छानोबाट भएको  मन्दिर क्षेत्रमा अहिले पक्की भौतिक संरचना निर्माण गरिएको छ । भक्तजनका लागि लाइनमा बस्ने व्यवस्था, वनभोजस्थल र बलि दिइएका कुखुरा तथा बोका सरसफाइ गर्ने स्थलको व्यवस्थापन मन्दिर विकास कोषले गरेको छ । 

कुखुरा सफाइ गर्दा  एक सय र बोकाका लागि पाँच सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । दान, दक्षिणा र भेटीबाट सङ्कलन भएको रकमले मन्दिर परिसरमा भौतिक संरचना निर्माण गर्दै आइएको कोषले जनाएको छ । मन्दिर परिसरमा करिब १६ लाख रुपैयाँ को लागतमा छाब्दी देवीको आधा देवी र आधा मत्स्यगन्धाको पूर्णकदको मूर्ति निर्माण गरिएको अर्का पूजारी डोलबहादुर आलेले जानकारी दिनुभएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट