
काठमाडौँ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन युद्धविरामबारे छलफल गर्न इजरायल पुग्नुभएको छ । प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) सँगको युद्ध पाँचौँ महिना प्रवेश गरेको बेला युद्धविराम सम्झौताका लागि पहल गर्न ब्लिन्केन बुधबार इजरायल पुग्नुभएको हो ।
साउदी अरबा, इजिप्ट र कतारपछि मध्यपूर्वको भ्रमणका क्रममा उहाँले इजरायलमा नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । द्वन्द्वको सुरुमा अस्थायी युद्धविरामको मध्यस्थता गरेको कतारले हमासले युद्ध रोक्नका लागि नयाँ प्रस्तावित सम्झौताको जवाफ दिएको बताएको छ ।
कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीले ब्लिन्केनसँग दोहामा भएको भेटपछि भन्नुभयो– ‘जवाफमा केही थप माग समावेश भएपनि यो सकारात्मक छ ।’
ब्लिन्केनले हमासको जवाफ इजरायलसँग ‘साझा’ भएको र बुधबार त्यहाँ छलफल गर्ने बताउनुभएको छ । उहाँले अझै धेरै काम गर्न बाँकी रहेको तर सम्झौता सम्भव छ र वास्तवमै आवश्यक छ भन्ने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो ।
इजरायली गुप्तचर संस्था मोसादले पनि हमासको जवाफ प्राप्त गरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले जनाएको छ । नेतन्याहूले मङ्गलबार भन्नुभयो– ‘हामी पूर्ण जितको बाटोमा छौं र हामी रोकिने छैनौं ।’
इजिप्टसँग जोडिएको गाजाको दक्षिणी सीमामा रहेको राफा शहरतर्फ इजरायली सेनाले आक्रमण गरेपछि युद्धविरामका लागि दबाब बढेको छ । संयुक्त राष्ट्रसङ्घीय सहायता समन्वय कार्यालय ओसीएचएका प्रवक्ता जेन्स लार्कले भन्नुभयो– ‘स्पष्ट रूपमा भन्नुपर्दा, यस अवस्थामा राफामा हुने सम्भावित कारबाहीले ठूलो मात्रामा नागरिकको ज्यान लिन सक्छ र यसबाट बच्न हामीले आफ्नो शक्तिले भ्याएसम्म सक्दो प्रयास गर्नुपर्छ ।’
अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको अभूतपूर्व आक्रमणका कारण करिब १ हजार १ सय ६० जनाको मृत्यु भएको एएफपीले इजरायली अधिकारीबाट पुष्टि गरेको तथ्याङ्कले देखाएको छ ।
लडाकूले करिब २५० बन्धकलाई कब्जामा लिएकोमा गाजामा १३२ जना अझै बाँकी रहेको र कम्तीमा २७ जना मारिएको अनुमान इजरायली स्रोतले एएफपीलाई उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु