
काठमाडौँ । ललितपुरको इमाडोलमा छोरा र छोरीको मृत्यु भएको केही घन्टापछि घरको चार तलाबाट हाम्फालेकी आमा ३६ वर्षीया रविना महर्जनकोसमेत गएराति मृत्यु भयो ।
उक्त घटनाको प्रारम्भिक अनुसन्धानमा छोराछोरीलाई पहिले केही वस्तुले सास थुनेर हत्या गरी महर्जनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले घटनाको प्रकृति हेर्दा उनले नै छोराछोरीको हत्या गरी त्यसपछि घरको चार तलाबाट हाम्फालेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको जानकारी दिनुभयो । शव परीक्षणको रिपोर्टपछि मृत्युको यकीन कारण भन्न सकिने उहाँको भनाइ छ ।
उहाँले घटनाबारे सबै कोणबाट अनुसन्धान शुरु भएको जानकारी दिनुभयो । उक्त घटना शनिबार अपराह्न २ बजेतिरको हो ।
महर्जनले घरको चार तलाबाट हाम्फालेकी थिइन् । छिमेकीहरुले देखेपछि तत्काल प्रहरीलाई खबर गरी उपचारका लागि अस्पताल लगियो । घरभित्र जाँदा दुई बालबालिका अचेत भेटिएपछि उनीहरुलाई पनि अस्पताल लगिएको थियो ।
६ वर्षीय बालक र २ वर्षीया बालिका (महर्जनका छोराछोरी) लाई शनिबार साँझ ५ः२५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । राति ९ः३५ बजे उनको पनि मृत्यु भयो ।
अहिले शव परीक्षणका लागि शिक्षण अस्तपालमा पठाइएको छ । अनुसन्धानमा सहभागी एक प्रहरी अधिकृतले तकियाले बालबालिकाको मुख थुनेर हत्या गरी उनले आत्महत्या गरेको देखिएको बताउनुभएको छ ।
फरेन्सिक ल्याबका चिकित्सकले पनि बच्चाको सास रोकिएर नै ज्यान गएको बताएका ती अनुसन्धान अधिकृतले बताउनुभयो । उहाँले भन्नुभयो, “तर रिपोर्ट नआई हामीले कारण यो नै हो भन्न सक्दैनौँ ।”
हाम्फाल्ने क्रममा सासू पनि छतमै थिइन्
घटना हुँदा महर्जनकी सासू छतको अर्को कुनामा थिइन् । उनी अली बिरामी भएकाले धेरै हिँडडुल गर्न सक्दिनथिन् । रविना छतको बार चढ्न लाग्दा सासूले किन त्यहाँ गएको भनेर सोधेकी र उनले कपडा झरेकाले लिन लागेको जवाफ दिएकी थिइन् । “जान हुँदैन भन्दाभन्दै बार चढेर गएकी थिइन्, हाम्फाल्न पो रहेछ”, सासूलाई उद्धृत गर्दै ती अनुसन्धान अधिकृतले बताए । उनले यसअघि कोठामा ढोका बन्द रहेको र ढकढक गर्दा समेत नखोलेको प्रतिक्रिया दिएको बताइएको छ ।
उनका श्रीमान्को साउन्ड सिष्टमको व्यवसाय छ । शनिबार महालक्ष्मी नगरपालिकाको कामको तयारीका लागि उनी घरबाट गएका थिए । रविनाले हाम्फाल्नुअघि उनीसँग थोरै कुराकानी भएको थियो । २ बजेतिर फोन गरेर रविनाले कता हुनुहुन्छ भनेर श्रीमान्लाई सोधेकी थिइन् । श्रीमानले ३ बजे काम सकिन्छ र घर आउँछु भन्ने जवाफ दिएर फोन राखेको प्रहरीसँग बताएका छन् । त्यसपछि उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।
पारिवारिक बेमेल केही देखिएको छैन । कहिलेकाहीँ सामान्य झैझगडा भए पनि ठूलो रिसराग नदेखिएको प्रहरीले बताएको छ । धेरै नबोल्ने महिला भएकाले कुनै कुण्ठा पो थियो की भनेर त्यसतर्फ पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले यो घटनाको अनुसन्धान थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै