
चितवन । दूध प्रशोधन गरेर तयार पारिएका दुग्धजन्य पदार्थले कोल्डस्टोर र गोदाम भरिएपछि भरतपुरस्थित मिल्क उद्योग बन्द भएको छ ।
उत्पादन गरिएका पाउडर दूध र बटर बिक्री नभएर तयारी वस्तु राख्ने ठाउँ अभाव भएपछि उद्योग बन्द गरिएको हो । माघ २० गतेदेखि दूध सङ्कलन रोकिएको छ । भण्डारण गरिएको दूधको प्रशोधन गरेर २२ गतेदेखि उद्योग बन्द गरिएको उद्योगका प्रबन्धक दुर्गा पराजुलीले जानकारी दिनुभएको छ। ‘सहकारी र दुग्ध उद्योगले प्रशोधनका लागि ल्याएका दूध प्रशोधन गरेर पाउडर र बटर बनाउने गरिन्छ । उद्योगले प्रशोधन शुल्क लिएर दुग्धजन्य पदार्थ सम्बन्धित व्यक्तिलाई पठाउँछ’ उहाँले भन्नुभयो । उहाँका अनुसार सहकारी र दुग्ध उद्योगले बिक्री गर्न नसकेपछि दुग्धजन्य पदार्थले गोदाम र कोल्डस्टोर भरिएका हुन् ।
प्रबन्धक पराजुलीका अनुसार पाउण्डर दूधले गोदाम, चिनी भण्डारण गर्ने, कपडा फेर्ने ठाउँ, क्यान्टिन सबै भरिएको छ । बीस हजार बोराभन्दा बढी दूध बाँकी रहेको जनाउँदै उहाँले पाँच सय टनभन्दा बढी बटर कोल्डस्टोरमा थन्किएको बताउनुभयो । ‘हामीसँग एक अर्ब रुपैयाँ भन्दा बढी दुग्धजन्य पदार्थ गोदाममा थन्किएको छ’ पराजुलीले भन्नुभयो– ‘डेरी उद्योग र सहकारीलाई सामान लैजान ताकेता गरिरहेका छौँ । उहाँहरुले सामान नलगेपछि उद्योग सञ्चालन गर्नै नसकेर बन्द गरेका हौँ ।’
२०६४ सालमा स्थापना गरिएको त्यो उद्योग भूकम्पसँगै बन्द हुन पुगेको थियो । २०७५ देखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको एक सय १३ रुपैयाँ र बटरको प्रतिकिलो ५५ रुपैयाँ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ ।
प्रशोधन गर्ने उद्योग र चिस्यान केन्द्र सबैमा दुग्धजन्य पदार्थ मौज्दात रहेको उद्योगका प्रबन्धक पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार ३१ दुग्ध उद्योग र सहकारीको दूध भण्डार भएर बसेको छ । उत्पादन बिक्री हुन नसकेपछि उद्योग आर्थिकरूपमा समेत समस्यामा परेको उहाँको भनाइ थियो ।
दुग्ध उद्योग र सहकारीले आफ्नो उत्पादन बिक्री नभएपछि किसानले दूधको भुक्तानी पाउन सकेका छैनन् । प्रशोधनसमेत रोकिएपछि ‘मिल्क होलिडे’को सम्भावना बढेर गएको भन्दै किसान चिन्तित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु