
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सिराहाको औरहीमा दलितमाथि गरिएको विभेद छानबिन गर्न संसदीय समिति माग गर्नुभएको छ ।
बैठकमा समय लिएर सांसद जीवन परियारले औरही–५ मा गाउँपालिका अध्यक्ष शिवजी यादव, जनमत पार्टीका पालिका अध्यक्ष दिलीप यादव र विष्णु महायज्ञका आयोजक बजरङ्ग बाबाले दलित समुदायका दीपक मलिकको घर भत्काएकामा निन्दा गर्दै छानबिन समिति गठन गर्न माग गर्नुभयो ।
अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाउने व्यवस्था संयुक्त राष्ट्रसङ्घले गरेको उल्लेख गर्दै उहाँले बुधबार सिराहाको औरहीमा जातीय विभेदको घटना भएकामा आपत्ति जनाउनुभयो । पुनःस्थापित प्रतिनिधिसभाबाट जातीय भेद्भाव उन्मूलन घोषणा गरेको पनि १८ वर्ष पुगेको अवस्थामा यस्तो घटना हुनु दुःखद् रहेको उल्लेख गर्दै सांसद परियारले उक्त घटनाका दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।
सांसद मनिष झाले सिराहाको औरहीमा भएको घटनामा छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्नुभयो । सांसद अब्दुल खानले औरहीका दीपक मलिक डोमको घर भत्काउने औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव, जनमत पार्टीका पालिका अध्यक्ष दिलीप यादव र महायज्ञका आयोजक बजरङ्ग बाबाले डोम परिवारको घर भत्काएर दलित समुदायको घरका सामग्री ओसारपसार गरेकाले कानुनी कारबाही गर्न माग गर्नुभयो ।
सांसद अमरेशकुमार सिंहले दलित र महिलामाथि शृङ्खलाबद्ध रूपमा अत्याचार हुँदा पनि केन्द्रीय र प्रदेश सरकारले किन केही गरिरहेको छैन ? भनी प्रश्न गर्नुभयो । कति दलितमाथि भएका घटना सञ्चारमाध्यममा पनि नआएका उहाँले सुनाउनुभयो । ‘सिराहको औरहीमा घर भत्काउनुका साथै माटो पनि निकालिएको छ । यो विषयमा निष्पक्ष छानबिन गरी छुवाछुत गर्ने तीनै जनालाई कानुनी कारबाही गरियोस्’ उहाँले भन्नुभयो ।
सांसद सम्झना थपलियाले मुलुकलाई छुवाछुतमुक्त घोषणा गरिए पनि सिराहाको औरही गाउँपालिकाको आदेशमा दलित समुदायको घर भत्काउने विषयले संसद् मर्माहत भएको बताउनुभयो । उहाँले गृहमन्त्रीले यस विषयमा संसद्लाई जवाफ दिनुपर्ने माग गर्नुभयो । संसद् यो घटनाप्रति मूकदर्शक बन्न नहुने भन्दै उहाँले शक्तिशाली संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभयो ।
सांसद रणेन्द्र बरालीले दलितमाथि गरिएको बर्बरताले सगरमाथाको टाकुरालाई नाघेको भन्दै औरही–५ का दीपक मलिकको घर भत्काउनु निन्दनीय काम भएको बताउनुभयो । मलिकको घर पाँच वर्षअघि प्रधानमन्त्री राहत कोषको बजेटबाट बनाइएको उहाँले जानकारी दिनुभयो ।
सांसद बरालीले विष्णु महायज्ञका आयोजक बाबा र गाउँपालिकका अध्यक्ष यादवद्वारा गरिएको उक्त घटनापछि त्यहाँका स्थानीय दलित समुदाय बोल्न पनि नसकेका बताउनुभयो । उहाँले गाउँपालिका अध्यक्ष यादवलाई निलम्बन गरी सबैलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो ।
सांसद अशोककुमार चौधरीले संवैधानिक व्यवस्था सामाजिक न्यायमाथि सिराहा औरहीको घटनाले प्रहार गरेको बताउनुभयो । यो घटनाले छुवाछुत अन्त्य भएको छ त ? भन्ने प्रश्न उब्जिएको उहाँको भनाइ छ । राज्यका संयन्त्र दलितमाथि प्रयोग गरिएको यो घटनाले पुष्टि गरेको उहाँले बताउनुभयो । सांसद चौधरीले यो घटनाको छानबिन गरी दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति दिन माग गनुभयो ।
सांसद प्रभु हजाराले २१औँ शताब्दीमा छुवाछुतका घटना जघन्य अपराध भएको बताउनुभयो । मानवलाई छुवाछुतका नाममा घर भत्काउने बाबा, जनमत पार्टीका पालिका अध्यक्ष यादव र गाउँपालिकाका अध्यक्ष यादवलाई कानुनी कारबाही गर्न उहाँले माग गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग