
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रको विकास र आधुनिकीकरणका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र रोबोटिक्स प्रविधि अपरिहार्य भइसकेको बताउनुभएको छ ।
राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित इन्टरनेसनल आर्टिफिसियल इन्टेलिजेन्स एन्ड रोबोटिक्स कन्फरेन्समा आज उहाँले एआईसम्बन्धी नीति तथा कानुन निर्माण गरी यसको विकासमार्फत औद्योगिक विकास र समृद्धिमा फड्को मार्नेगरी सरकार लागिपरेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘हामी यसका लागि नीतिगत र कानुनी संरचना निर्माण र पूर्वाधार विकासमा लागेका छौँ । डिजिटल पूर्वाधार विस्तार र सुदृढीकरण, औद्योगिक क्लस्टर र टेक्नोलोजी पार्क स्थापना, इन्टरनेट कनेक्टिभिटी र नेटवर्क विस्तार, डाटा सेन्टर र क्लाउड कम्प्युटिङ सेवा, एआई अनुसन्धान र विकास, क्षमता विकास, उद्योग–शिक्षा साझेदारी, अन्तर्राष्ट्रिय सहकार्य र ज्ञान हस्तान्तरण, स्टार्टअप इन्क्युबेसन र एक्सेलेरेसन, लगानी प्रवर्द्धनजस्ता क्षेत्रमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।’
मन्त्री भण्डारीले आफू नेतृत्वको मन्त्रालयले डिजिटल नेपाल औद्योगिक रूपान्तरण कार्यक्रम, एआई इनोभेसन हब स्थापना र युवा उद्यमी डिजिटल सशक्तीकरण कार्यक्रम अघि बढाउने योजना बनाएको बताउनुभयो । ‘यी सबै प्रयासको मुख्य लक्ष्य भनेको नेपालको औद्योगिक क्षेत्रलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउनु र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न योगदान पुर्याउनु हो । नेपाली युवाको जीवनका लागि एआई भन्ने यस सम्मेलनको नाराले पनि हाम्रो युवा पुस्तालाई डिजिटल युगको अवसर प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । आजको छलफलले यस दिशामा महत्वपूर्ण योगदान पुर्याएको छ’ उहाँले भन्नुभयो ।
मन्त्री भण्डारीले नेपालको औद्योगिक क्षेत्रमा एआई र रोबोटिक्स प्रविधिको भूमिका र सम्भावनाबारे गहन छलफल गरिएकामा खुशी व्यक्त गर्नुभयो । उहाँले यस क्षेत्रमा विश्वव्यापी रूपमा भइरहेका विकास र प्रगतिले मुलुकको औद्योगिक रूपान्तरणका लागि नयाँ दिशा र सम्भावना प्रस्तुत गरेको बताउनुभयो ।
एआईको प्रयोग र प्रभावले स्मार्ट म्यानुफ्याक्चरिङ, आपूर्ति शृङ्खला व्यवस्थापन र ग्राहक सेवा तथा बजार विश्लेषण गरी स्वचालित ग्राहक सेवा र समर्थन, बजारको प्रवृत्ति विश्लेषण, ग्राहक व्यवहार अध्ययन, व्यक्तिगत सिफारिस प्रणाली, सामाजिक सञ्जाल अनुगमन र विश्लेषण जस्ता आयाममा उल्लेखनीय योगदान र सहजीकरण गर्दै आएको भन्त्री भण्डारीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध