+

सत्ती भन्सारमा क्वारेन्टाइन स्थापना गर्छु : उपप्रधानमन्त्री खड्का

कैलाली । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले टीकापुर–९ खक्रौलामा रहेको सत्ती भन्सारमा क्वारेन्टाइन स्थापनाका लागि आफूले पहल गर्ने बताउनुभएको छ । 

उपप्रधानमन्त्री खड्काले शुक्रबार टीकापुरमा आयोजित सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव उद्घाटन गर्दै  क्वारेन्टाइन स्थापनाका लागि आफू लागिपर्ने बताउनुभएको हो । ‘वाणिज्य सङ्घले राखेका सातबुँदे माग पूरा गर्ने आश्वासन दिन्छु । आर्थिक उन्नति र प्रगतिका लागि लम्की टीकापुर सडक समयमै निर्माणका लागि पहल गर्छु’ उहाँले भन्नुभयो– निर्माणाधीन सडक समयमै सक्न कडाइ गर्नुका साथै सडक विस्तार र पर्यटकीय विकासलाई प्राथमिकतामा राखिनेछ ।’

महोत्सवले विकाससँगै सहकार्यमा जोड दिने बताउँदै रक्षामन्त्री खड्काले कैलाली जिल्लाको टीकापुर सुन्दर र आर्थिक सम्भावना बोकेको सहर रहेको स्पष्ट गर्नुभयो । विकासका लागि सङ्घीय सरकार नागरिकको साथमा रहने पनि उहाँले बताउनुभयो ।  ‘यो महोत्सवले कृषक, उद्यमी, व्यवसायी, कलाकार सबैलाई एकै ठाउँमा जुटाइ सहकार्यका लागि नयाँ ठाउँ पहिल्याउने छ’ उहाँले भन्नुभयो, ‘महोत्सवअन्तर्गत प्रदर्शनीमा राखिने कृषि तथा औद्योगिक उत्पादनले वस्तु चिनाउन र बाह्य बजार विस्तारमा सहयोग पुग्नेछ । महोत्सवले बहुमूल्य वस्तुको पहिचान र बजार विस्तारमा सहयोग पुग्नेछ ।’ 

मन्त्री खड्काले महोत्सवले यस्ता मेला महोत्सवले साना तथा मझौला उद्योग विस्तार गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले भारतबाट आउने धार्मिक पर्यटकलाई कैलाशमार्गसँग जोड्न सकिएमा पर्यटकीय विकासमा मद्दत पुग्ने बताउनुभयो । ‘टीकापुरको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’ उहाँले भन्नुभयो– ‘आधुनिक सहर निर्माणमा सरकारको साथ रहनेछ ।’

महोत्सवमा उद्योग वाणिज्य सङ्घ कैलालीले मन्त्री खड्कालाई टीकापुरवासीका तर्फबाट सीमामा रहेको खक्रौला भन्सारको स्तरोन्नति, सडकमार्ग विस्तार, सनकट्टीमा निर्माण हुने भनिएको पक्की पुल निर्माण, हवाई मैदान सञ्चालन आदि विषयमा माग राखेको छ । टीकापुर उद्योग वाणिज्य सङ्घको आयोजनामा गरिएको महोत्सवमा सुदूरपश्चिम प्रदेशसभा सदस्य ललिता सुनारले टीकापुरको विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो । ‘रक्षामन्त्रीले टीकापुरका सडक, खानेपानी, शैक्षिक तथा व्यापारिक विकासमा सहयोग गर्नुहुनेछ’ उहाँले भन्नुभयो– ‘प्रदेश सरकारले पनि सकेको विकासमा लगानी गर्नेछ ।’

कार्यक्रममा टीकापुर सहरको नक्साङ्कन गर्ने वरिष्ठ इञ्जिनियर शङ्करनाथ रिमाललाई दोसल्ला ओढाइ सम्मान गरिएको छ । वरिष्ठ इञ्जिनियर रिमालले टीकापुरमा आफूले काम गर्दा चार/पाँच जना मिलेर नक्साङ्कनको काम गरेको स्मरण गर्नुभएको थियो । ‘आज यतिधेरै मानिस देख्दा आनन्द लागेको छ । टीकापुरको स्परुप देख्दा खुशी लागेको छ’ उहाँले भन्नुभयो– टीकापुरलाई राम्रो सहर बनाउन के गर्नुपर्छ भनी विचार गरेर अघि बढेमा अबको ५० वर्षपछि  टीकापुर नेपालको ठूलो शहर बन्नेछ । नेतृत्वले ध्यान दिएमा सहर विकासमा सहयोग पुग्नेछ ।’

वाणिज्य सङ्घले २०६५ सालदेखि टीकापुरमा महोत्सव आयोजना गर्दै आएको छ । महोत्सवमा २ सय स्टलका साथै रमाइलो मेला र यहाँका स्थानीय कला र संस्कृति झल्कने विभिन्न प्रदर्शनी पनि छन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै