
तनहुँ । भानु नगरपालिका–४ स्थित आदिकवि भानुभक्त आचार्यको जम्मस्थल चुँदी रम्घामा ‘भानु साहित्य उद्यान’ निर्माण गरिने भएको छ ।
नगरप्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामे र प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले संयुक्त रुपमा रेखाचित्रको बुधबार सार्वजनिक गरेपछि निर्माण प्रक्रिया अघि बढाइएको हो ।
वरिष्ठ कलाकार अशोकमान सिंहद्वारा नेपालका राष्ट्रिय विभूति भानुभक्त आचार्यको स्मृतिमा उद्यानको परिकल्पना गरिएको भानु नगरपालिकाले जनाएको छ । भानु साहित्य उद्यानको भविष्यको वास्तविकता कस्तो हुने भन्ने विषयमा निर्माण गरिएको परिकल्पनाको प्रारम्भिक तस्वीर (रेखाचित्र) स्केच गरिएको हो ।
आयोजनाका लागि जग्गा प्राप्ति, गुरुयोजना निर्माण र भानुको सालिक निर्माणलगायत कार्य प्रारम्भ गर्न सङ्घीय सरकारले चालु आर्थिक वर्षमा रु पाँच करोड थप विनियोजन गरेको थियो । सरकारले भानु नगरपालिकालाई विसं २०७८ मा २ करोड स्रोत सुनिश्चित गरी त्यही वर्ष १ करोड रुपैयाँ विनियोजन गरेपछि जग्गाधनीलाई मुआब्जा वितरण शुरु गरेको हो ।
नगरपालिकाले बजेट विनियोजनपश्चात् चार सय २१ रोपनी बढी जग्गा प्राप्तिकका लागि जग्गाधनीलाई मुआब्जा वितरण गर्दै आइरहेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनुभयो । हालसम्म एक सय ३५ कित्ता जग्गा अधिग्रहण गरी जग्गधनीपुर्जा नगरपालिकाको स्वामित्वमा आइसकेको उहाँको भनाइ छ । उहाँका अनुसार हालसम्म जग्गा अधिग्रहण कार्य करिब ९५ प्रतिशत सम्पन्न भइसकेको छ ।
चालु आवमा गत माघ ३ गते ५ करोड बजेट प्राप्त भएपछि माघ २३ गते बैठक बसी मुआब्जा निर्धारण गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । उहाँका अनुसार साहित्यिक उद्यान निर्माणका लागि हालसम्म ३६ प्रतिशत वित्तीय प्रगति भएको छ ।
भौतिक संरचना निर्माण गरी नेपाली भाषा, साहित्य, संस्कृति, पर्यटन, कला र राष्ट्रिय सम्पदाको संरक्षण संवर्द्धन गर्ने योजना रहेको छ । भानु साहित्य उद्यानको मूल उद्देश्य भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक तीर्थस्थल र सांस्कृतिक एकताको केन्द्रका रुपमा विकास गर्नु रहेको नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले जानकारी दिनुभएको छ ।
प्रस्तावित संरचनाभित्र भानुभक्तको विशाल सालिक, रामायण मन्दिर, मूर्ति वाटिका, भानुभक्तकालीन नमुना बस्ती, भानु साहित्य ग्राम र भानु प्रज्ञा भवन निर्माण गरिनेछ । साथै भानु वनस्पति उद्यान, सप्तधाम, प्रवेशद्वार, बस्ती तथा बजार क्षेत्र, मनोरञ्जन, वनभोजस्थल, पार्किङस्थल, प्राकृतिक वनविचरण क्षेत्र, सम्पदा संरक्षण क्षेत्र र साहित्यिक पदमार्ग निर्माण गरिने जनाइएको छ ।
भानुभक्तका कृति, योगदान एवं नेपाली भाषा र साहित्यको अध्ययन, अनुसन्धानका निम्ति पुस्तकालय÷सङ्ग्रहालय स्थापना गरी चुँदी रम्घालाई प्राज्ञिक उत्कृष्ट केन्द्रका रुपमा विकास गर्न लागिएको नगरप्रमुख त्रिपाठीले बताउनुभयो ।
तनहुँको भानु नगरपालिका–४ चुँदी रम्घालाई साहित्यिक र सांस्कृतिक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न लागएको भन्दै यसको नेतृत्व नगरपालिकाले लिइसकेको उहाँले बताउनुभयो ।
विगतमा जग्गा अधिग्रहणको काम सुरु भए पनि गति लिन नसकेको भन्दै चालु आर्थिक वर्षदेखि यो काम तीव्रगतिमा अगाडि बढेको त्रिपाठीको भनाइ छ । ‘नेपाली भाषाका आदिकवि आचार्यको जन्मथलोलाई सप्तधामको रूपमा विकास गर्नुपर्छ भनेर अगाडि बढेका छौँ’ उहाँले भन्नुभयो– ‘यसले तनहुँमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्नुका साथै स्थानीयको आर्थिकस्तर वृद्धि हुँदै जाने अपेक्षा गरेका छौँ ।’
सिङ्गो नेपाललाई भाषाको माध्यमबाट जोड्ने आदिकवि आचार्यको जन्मथलो ओझेलमा परेपछि यसलाई साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाएर पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको नगरप्रमुख त्रिपाठीको भनाइ छ । उहाँले भन्नुभयो– ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा भानुभक्तको विशिष्ट पहिचान छ, यो ठाउँलाई समय सन्दर्भअनुसारको सबै किसिमको धाम बनाउने परिकल्पना साथ अगाडि बढेका छौँ ।’
नेपाली भाषा, साहित्य, संस्कृति, पर्यटन, कला र राष्ट्रिय सम्पदाको संरक्षण संवर्द्धनका निम्ति विविध कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै