
बैतडी । पाटन नगरपालिका ३ गुजरमा रहेको प्रसिद्ध वनारसी धाममा हरेक वर्ष हुने जात्रालाई जातीय विभेद अन्त्य गर्ने जात्राका रुपमा लिइन्छ । हरेक वर्ष माघ शुक्ल दशमीका दिन लाग्ने यो जात्रामा पुजारी दलित समुदायबाट हुने परम्परा छ । साथै जात्रा भर्ने गैरदलितले दलित पुजारीका हातबाट टीका र प्रसाद ग्रहण गर्छन् ।
धार्मिक सहिष्णुताको नमूना बनेको यो मन्दिरमा दलितले पूजा गरेपछि मात्रै देउता खुसी हुन्छन् भन्ने विश्वास छ । जात्रा हेर्न आउने गैरदलितले पनि टीका, प्रसाद ग्रहण गर्ने मन्दिरका मूल पुजारी झेरे लुहारले बताउनुभयो ।
यस मन्दिरमा सबै समुदायका दर्शनार्थी जाने र दलित समुदायका पुजारीबाट प्रसाद ग्रहण गर्ने प्रचलन रहिआएको वनारसी धाम विश्वनाथ सेवा समाजका धार्मिक प्रवक्ता गणेशप्रसाद पन्तले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वनारसी जात्रा जातीय विभेद अन्त्य गर्नेका रूपमा लिने गरेका छौँ, यहाँ दलित र गैरदलितबीच कुनै पनि विभेद हुँदैन ।”
वनारसी धामको जात्रा जातीय विभेद अन्त्यका लागि सन्देश दिने जात्रा भएको दलित अधिकारकर्मी रमेश कोलीले बताउनुभयो । दलित पुजारी हुने मन्दिरमा ब्राह्मण र अन्य जाति अनिवार्य सहभागी हुने परम्परा रहेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “गैरदलितले निर्धक्कसँग पूजा सामग्री चढाएर प्रसाद लिन्छन्, लामो समयदेखि दलितमाथि विभेद हुने गरेको थियो तर यो जात्रा विभेद अन्त्यको सन्देशका रूपमा लिन सकिन्छ ।”
वनारसी धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास छ । जात्रामा सहभागी हुन हजारौँ दर्शनार्थी पुग्छन् । जात्रामा छिमेकी जिल्लाबाट पनि भक्तजन आउने चलन छ । माघमा ठूलो पूजा लागे पनि अन्य बेलामा पनि मन्दिरमा पूजा गर्ने र बलि दिनेको सङ्ख्या उल्लेख्य हुने गरेको छ । परापूर्वकालमा खोपरे नामको राक्षसलाई वनारसी देवताले मारेको किंवदन्तीअनुसार वनारसीलाई शक्तिशाली देवताको रूपमा लिने गरिएको छ ।
पछिल्लो समय वनारसीधामलाई विश्वनाथधामका रूपमा विकास गर्ने काम पनि सुरु भएको छ । वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्गका रूपमा रहेको धार्मिक प्रवक्ता पन्तको भनाइ छ । मानसखण्ड पुराणमा सरयु नदीको किनारमा विश्वनाथ ज्योतिर्लिङ्ग अवस्थित रहेको उल्लेख भएको र पौराणिक सरयु अर्थात् सुर्नया नदीको किनारमा रहेको वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग भएको उहाँले सुनाउनुभयो ।
त्यसैगरी तत्कालीन राजा महेन्द्रको पालामा मन्दिरका लागि पूजा खर्च दिने गरेको र उहाँ यहाँ आएका बेलामा तीन दिनसम्म सोही ठाउँमा लघुरुद्राभसषेक र नवचण्डी पाठ प्रायण गरेको पनि पन्तले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु