
झापा । धार्मिक तथा पर्यटकीय नगरको रुपमा परिचित मध्य झापाको कनकाई नगरपालिकाले साहित्य र कलालाई माया गर्ने थलोको रुपमा आफूलाई चिनाउने जमर्को गरेको छ । उसले पहिलो पटक कला–साहित्य उत्सवको सफलतापूर्वक आयोजना गरेर नगरले नयाँ पहिचान थपेको हो ।
रोटरी क्लब अफ कनकाईको आयोजनामा फागुन १४ देखि १६ गतेसम्म कनकाईको व्यापारिक केन्द्र सुरुङ्गामा कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव सम्पन्न भएको छ । उत्सवमा स्थानीयदेखि राष्ट्रियस्तरका स्रष्टाले आफ्ना सिर्जना प्रस्तुत गर्ने अवसर पाएका थिए ।
वरिष्ठ अभिनेता नीर शाहले उद्घाटन गर्नुभएको महोत्सवको बुधबार समापन समारोहलाई नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य तुलसी दिवसले सम्बोधन गर्नुभएको थियो । उहाँले कनकाईले साहित्य र कलाको महत्व बुझेर महोत्सव आयोजना गरेकोमा खुशी प्रकट गर्नुभयो ।
समापनको अवसरमा राष्ट्रिय कविहरूको जमघटले आकर्षण बढाएको थियो । प्रसिद्ध कविहरू अर्जुन पराजुली, कुन्ता शर्मा, लक्ष्मण गाम्नागे, मनु मञ्जिल, डा देवी नेपाल, धीरेन्द्र प्रेमर्षी, माया मानवीलगायतले आज आफ्ना कविता वाचन गर्दा दर्शक दीर्घाबाट वाहवाही पाएका थिए ।
रोटरी क्लब अफ कनकाईका अध्यक्ष शिव कँडेलले पहिलोपल्ट सुरुङ्गामा साहित्य र कलाको संरक्षण गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको जनाउँदै दर्शक र पाहुनाको सहभागिता उत्साहजनक रहेको बताउनुभयो । उहाँले आगामी वर्ष महोत्सवलाई कुनै न कुनैरुपमा निरन्तरता दिइने बताउनुभयो ।
महोत्सवमा राष्ट्रियता झल्काउने सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिएको रोटरी क्लब अफ कनकाईका पूर्वअध्यक्ष कुमारमणि पोखरेलले जानकारी दिनुभयो । कार्यक्रममा स्थानीय जातिको भेषभूषा, नृत्य र झाँकी प्रस्तुत गरिएको उहाँले बताउनुभयो । तीन दिनसम्म एक दर्जनभन्दा बढी कार्यक्रम महोत्सवमा सम्पन्न भएका छन् । प्रसिद्ध कलाकार मनोज गजुरेल जस्ता साङ्गीतिक हस्तीदेखि गायिका रचना रिमाललगायतका नवोदित कलाकारसम्मको उपस्थितिले कार्यक्रमको रौनक बढाएको थियो । नयाँ पुस्ताको आकर्षणले महोत्सव भव्य र सफल बनेकोलाई आयोजक समितिका संयोजक अखिलकुमार कोइरालाले बताउनुभयो ।
नयाँ पुस्तालाई सिकाउने लक्ष्य राखेर ६ देखि १२ वर्ष उमेर समूहका विद्यार्थीलाई चित्रकला र कविता लेखनका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा पुस्तक मेला र पुस्तक डोनेसन स्टलसमेत राखिएको थियो । महोत्सवको अर्को आकर्षण कला प्रदर्शनी रहेको थियो । चित्रकार हिम्मत नेम्वाङ र व्यङ्ग्य चित्रकार पवन राजवंशीको चित्र तथा मूर्तिकलाको त्यहाँ प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा अवलोकनकर्ताको ओइरो लागेको थियो ।
दुई दशकदेखि कला क्षेत्रमा समर्पित नेम्वाङका ४० वटा तेल चित्र, छाम्ने चित्र र मूर्ति कला प्रदर्शनीमा राखिएका थिए । आँखा देख्न नसक्नेले पनि छामेर थाहा पाउन सक्ने एक दर्जन चित्र प्रदर्शनीमा थिए । कार्टुनिष्ट राजवंशीका दुई दर्जन व्यङ्ग्य चित्र प्रदर्शनीमा थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध