
मनाङ। मनाङमा हिउँद लागेसँगै बिदा भएका विद्यालय खुल्न थालेका छन् । जाडो बढेसँगै बन्द भएका मनाङका विद्यालय फागुनदेखि खुल्न थालेको शिक्षा तथा समन्वय एकाइ मनाङले जनाएको छ ।
विद्यालय खुलेसँगै हिमपात भएपछि विद्यार्थी हिउँसँगै पढ्दै आएको शिक्षा तथा समन्वय एकाइ मनाङका प्रमुख मतिलाल चपाईंले बताउनुभयो । उहाँका अनुसार विशेष गरी माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई मध्यनजर गरी मनाङका तीन विद्यालय खुलिसकेका छन् । उहाँले भन्नुभयो, “एसइईका लागि विद्यालय खुलाइसकेका छौँ । बिदा लम्बिँदा विद्यार्थीलाई समस्या हुन्छ । यसलाई मध्यनजर गरेका छौँ ।”
उहाँले नासों गाउँपालिका–५ थोंचेस्थित प्रकाशज्योति आवासीय माध्यमिक विद्यालय फागुन १ गतेदेखि खुलेको जानकारी दिनुभयो । चामे गाउँपालिका–१ तिमाङस्थित गौरीशङ्कर माध्यमिक विद्यालय माघ २३ देखि र चामे–४ चामेस्थित लोकप्रिय माध्यमिक विद्यालय माघ २८ गतेदेखि पठनपाठन सुरु भएको उहाँको भनाइ छ ।
यस वर्ष मनाङबाट प्रकाशज्योतिका १९, लोकप्रियका १७, अन्नपूर्ण माविका एक र लोकप्रिय माविबाट (खुला) तीन गरी ४० विद्यार्थी एसइई परीक्षामा सहभागी हुने प्रमुख चपाईंले बताउनुभयो । मनाङमा चारवटा मात्रै माध्यमिक विद्यालय छन् ।
यस वर्षको एसइई परीक्षालाई मध्यनजर गरी जाडो भए पनि विद्यालय छिटो खुलाइएको प्रकाशज्योति माविका प्रधानाध्यापक पद्मराज पन्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “एसइई परीक्षा दिने विद्यार्थीको पठनपाठनलाई लक्षित गरी विद्यालय चाँडै खुलाएका हौँ । चिसो भए पनि विद्यार्थीलाई पठनपाठनमा प्रभाव पर्नसक्ने विषयलाई मध्यनजर गरेका छौँ ।” जाडो बिदाका समयमा पनि लमजुङको च्याम्चेमा विद्यार्थीको घरमै पठनपाठन गराइएको उहाँले बताउनुभयो ।
प्रधानाध्यापक पन्थीले भन्नुभयो, “आवासीय विद्यालय भएकाले लमजुङका बच्चा पनि मनाङमा पढ्न आउँछन् । मनाङको सिमानामै पर्ने च्याम्चेका केही विद्यार्थी हाम्रैमा पढ्छन् । जाडो बिदाका समयमा च्याम्चेमा घर खोजेर पढायौँ । एसइई परीक्षालाई विशेषरुपमा लिइने हुँदा हामी पनि लागिरहेका छौँ । विद्यार्थी उत्कृष्ट र सहभागी सबै विद्यार्थी उत्तीर्ण हुँदा हाम्रो गौरव बढ्नेछ ।”
वार्षिक परीक्षा पनि आइसकेको र पठनपाठनमा लाग्नुपर्ने भएकाले बिहान दुई घण्टा र बेलुका दुई घण्टा तालिका बनाएर विज्ञान, गणित, अङ्ग्रेजी र ऐच्छिक गणित पढाउने गरेको प्रअ पन्थीले बताउनुभयो । एसइईका विद्यार्थी पठनपाठनमा व्यस्त हुने र साना बालबालिका हिउँमा खेल्दै पढ्ने गरेको उहाँको भनाइ छ ।
आवासीय विद्यालय भएकाले समय व्यवस्थापनमा समस्या नभएको उहाँले बताउनुभयो । पालिकाले रु ५० लाख वार्षिक बजेट छुट्याएर विद्यालयलाई सहयोग गर्दै आइरहेको छ । आवासीय विद्यालय भएकाले प्रतिविद्यार्थी रु एक हजार पाँच सय मासिक शुल्क भने लिने गरेको उहाँले बताउनुभयो । यसका अतिरिक्त १२ जना विद्यार्थीलाई निःशुल्क आवासीय सुविधा उपलब्ध गराएको विद्यालयले जनाएको छ । सञ्चालनमा नआएका विद्यालयका शिक्षकलाई काजमा ल्याएर पठनपाठन गरिरहेको पन्थीले जानकारी दिनुभयो ।
मनाङका अन्य विद्यालय फागुन १५ पछि मात्रै खुल्नेछन् भने नार्पाभूमि गाउँपालिकाका विद्यार्थीको पठनपाठन काठमाडौँ सञ्चालन भइरहेको छ । वार्षिक परीक्षा सकाएर नतिजा प्रकाशन गरी नयाँ शैक्षिकसत्रका लागि वैशाखमा सञ्चालन गरिने नार्पाभूमि गाउँपालिकाका शिक्षा शाखा प्रमुख मनिषा विकले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “एक त विकट छ । सदरमुकामबाटै जान दुई दिन लाग्छ । सडक सञ्जाल पुगेको छैन भने अर्कोतर्फ यहाँ अहिले बाक्लो हिउँ छ । चिसो अत्यधिक भएकाले गाउँ फर्किने अवस्था छैन । त्यसैले यहीँ चालु शैक्षिकसत्र सकाएर मात्रै फर्कन्छौँ । यसले विद्यार्थीलाई पनि सहज भएको छ ।”
गौरीशङ्कर मावि कक्षा ७ मा अध्ययनरत विद्यार्थी छुपी गुरुङ हिउँसँग खेल्दै पढ्न पाउँदा खुसी लागेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हिउँ परे पनि रमाइलो गरी खेल्दै पढ्न पाएका छौँ ।”
मौसम चिसो भए पनि हिउँ खेल्दै पढ्न पाएको कक्षा ८ मा अध्ययनरत विवेक गुरुङले बताउनुभयो । ढिलागरी परेको हिमपातले चिसो बढे पनि विद्यार्थी शिक्षाबाट प्रभावित हुन नदिने गरी विद्यालयमा पठनपाठन भने सञ्चालन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै