
महोत्तरी । बिहान बेलुकाको घुमफिर होस् वा कुनै बजारका काममा यात्रीलाई ढेसा (घच्चा) लगाउँदै हिँड्ने छाडा पशुले यहाँका सर्वसाधारण हैरान भएका छन् । जिल्लाका सबैजसो बजार क्षेत्रमा छाडा चौपायाको जगजगी छ । बजारतिर निस्केपछि छाडा पशुलाई छिचोलेर निस्कन हम्मेहम्मे पर्ने सर्वसाधारणको गुनासो छ ।
‘बजारतिर निस्केपछि छाडा पशुले सिङ चलाइदिने हुन् कि भन्ने डर हुन्छ’ जलेश्वर–२ की होटल व्यवसायी कमला कोइराला भन्नुहुन्छ – ‘निर्धक्क भएर बजारमा डुल्न कहिल्यै पाइएन ।’ घरपालुवा गाई, सुँगुर, बाख्रापाठा र घोडासहितलाई नगर क्षेत्रका चोक, बजारक्षेत्रमा छाडा छोड्दा सर्वसाधारण आजित भएका हुन् ।
‘सडकको माझमै गाईले गजधम्म बसेर बाटो छेकेका हुन्छन्, पेटी वरपर पाठापाठीपछि लगाएर हिँड्ने सुगुँर देखिन्छन्’ जलेश्वर–८ का रामनन्दन यादव भन्नुहुन्छ– ‘मान्छेकै लागि चाहिँ बाटो छैन कि भन्ने भान हुन्छ ।’
बजारमा हिँड्दा हिँड्दै गाई वा साँढेले पुच्छर चलाएर मलमूत्र छर्किदा बेरुप भएर घर फर्कन बाध्य हुनुपरेको जलेश्वर–४ की शिवानी राय बताउनुहुन्छ । ‘हिँडदा त्राहीत्राहीजस्तै परिन्छ, छाडा पशुले सिङ चलाएर नहानेको, ढेस्सा नलगाएको र पुच्छर चलाएर मलमूत्र लुगामा नलागेको कुनै दिन नै छैन’ उहाँको गुनासो छ ।
‘प्रत्येक दिनजसो बिहान मिरमिरे उज्यालो हुनासाथ पशुधनीले आफ्ना बस्तु फुकाएर बजार वा चोकतिर लघार्ने यहाँ आम चलनजस्तै बनेको छ । सदरमुकाम जलेश्वरसहित जिल्लाका सबैजसो बजार क्षेत्रका मुख्य सडक पेटीमा सडक ढाकेर गाईबस्तु देखिँदा पनि यसको रेखदेख र अनुगमन नहुँदा नगरचोक, मुख्य सडक र पेटी अस्तव्यस्त छन्’ भङ्गाहा–४ रामनगर निवासी गङ्गाराम महतो भन्नुहुन्छ– ‘सम्बद्ध नगरपालिका र वडा कार्यालयले यसमा तदारुखता देखाउनै पर्छ ।’
जलेश्वरका साथै बर्दिवास, गौशाला, रामगोपालपुर, मटिहानी, मनरा र बलवासहित बजारक्षेत्रमा घरपालुवा पशु छाडा छाडेको पाइन्छ । छाडा देखिने पशुमा धेरैजसो गाई र सुँगुर देखिन्छन् । बथानमै देखिने गाईलाई पछ्याउने साढे पनि दर्जनौँ सङ्ख्यामा देखिन्छन् ।
छाडा पशुले दैनिक सहरी र बजार क्षेत्रमा फोहर बढाउनाका साथै ट्राफिक समस्या पनि बढाएका छन् । सबैजसो बजार क्षेत्र र भित्री बस्तीमा पनि फोहरको डुङ्गुरमा सुँगुरले खोस्रेर जताततै दुर्गन्ध बढाएको छ । यसैगरी सुँगुरका कारण त नगर क्षेत्रका बासिन्दा आजित नै भएका छन् ।
गाई–गोरु, बाख्रापाठा आँगनमै आइपुग्दा लाठो देखाएर धपाउन सकिन्छ तर परम्परादेखि सुँगुर भने छुन नहुने भन्ने केही समुदायका लागि भने साह्रै समस्या भएको छ। ‘परापूर्वदेखि नै सुँगुर छोइएन’ जलेश्वर–६ की लक्ष्मी मिश्र भन्नुहुन्छ– ‘हामी त आजित भएका छौँ ।’ मुस्लिम (इस्लाम) धर्मावलम्बीको बसोबास भएका बस्तीमा छाडा सुँगुरले गर्दा सर्वसाधारणलाई यस्तो हैरानी भएको हो ।
व्यस्त बजारमा छाडा चौपायाले सडक ढाकेर गजधम्म बस्दा ससाना सवारी साधन चलाउन र पैदलयात्रुलाई हिँड्नसमेत सकस पर्ने गरेको छ । बिगतमा छाडा पशु नियन्त्रणका लागि बस्तीबस्तीमा काञ्जीहाउस (छाडापशु समातेर राख्ने घर) बनाएर छाडा पशु राख्ने र पशुधनी सम्पर्कमा पुगेपछि कारबाहीस्वरुप जरिवाना गर्ने चलन रहेको भङ्गाहा–४ का शेष जब्बार बताउनुहुन्छ ।
‘हामी २०÷२२ वर्षको हुँदा बाली नोक्सान गर्ने, छाडा छोडिएका पशुवस्तु काञ्जीहाउस पुर्याइन्थ्यो’ करिब पाँच दशक पहिलेका कुरा सम्झँदै उहाँ भन्नुहुन्छ– ‘त्यतिखेर पशु छाड्ने धनीलाई जरिवाना गर्ने र सम्पर्कमा कोही नआए लिलामसम्म गर्ने व्यवस्था थियो तर अहिले यस्तो व्यवस्था नहुँदा यस्तो समस्या बढेको हो ।’
यो समस्या समाधानका लागि स्थानीय निकाय नै अग्रसर हुुनुपर्नेमा जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमार लाल कर्ण जोड दिनुहुन्छ । ‘छाडा चौपायाका कारण हुने ट्राफिक समस्या हटाउन ट्राफिक प्रहरीको पनि तत्परता त हुनपर्छ’ उहाँ भन्नुहुन्छ– ‘तर पशु छाडा छोड्ने प्रवृत्ति निरुत्साहित गर्न स्थानीय तहले नै ठोस निर्णय गरेर निश्चित विधि अघि बढाउनुपर्छ ।’
‘छाडा पशु नियन्त्रणका लागि जिल्लाभरमै एकरुपता ल्याउन आवश्यक भएकाले अब जिल्लाका १५ वटै स्थानीयतहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीच अन्तक्र्रिया गरेर साझा नीति अख्तियार गर्न पहल गर्नेछु’ उहाँ भन्नुहुन्छ – ‘नगरका सर्वसाधारणले पनि छाडा पशु नियन्त्रणको उपाय सम्बन्धित निकायले चाँडै अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै