
पोखरा । पोखरामा आउँदो वैशाख १५ गते एसियन कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुने भएको छ । पोखरामा सन् २०११ देखि च्याम्पियनसिप हुँदै आएको छ ।
कोरोनाका कारण दुई वर्ष रोकिएको प्रतियोगिता त्यसपछि निरन्तर छ । नेपाल ट्रायथोलन सङ्घको आयोजनामा पोखराको लेकसाइड क्षेत्रमा प्रतियोगिता हुनेछ ।
प्रतियोगिताको मिति अन्तर्राष्ट्रिय ट्रायथोलन युनियनले आफ्नो आधिकारिक वेबसाइटमा राखिसकेको नेपाल ट्रायथोलन सङ्घका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार ट्रायथोलन च्याम्पियनसिपअन्तर्गत ट्रायथोलनको स्प्रिन्ट विधातर्फ प्रतिस्पर्धा गराइने छ । च्याम्पियनसिपमा गत वर्ष १८ देशका ५३ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
स्प्रिन्टअन्तर्गत फेवातालमा ७ सय ५० मिटर पौडी र त्यसपछि २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौड हुनेछ । अध्यक्ष श्रेष्ठका अनुसार पौडी फेवातालमा गराइने छ । दौड गौरीघाट–सहिदचोक, मुस्ताङचोक, विरौटाचोक, ड्यामसाइड हुँदै राष्ट्र बैंकचोक हुँदै गौरीघाटमा पुगेर समापन हुनेगरी पुरानै रुटमा यथावत हुनेछ ।
च्याम्पियनसिपका लागि पोखरामा तयारी शुरु भएको छ । सोमबार साँझ पोखरामा सङ्घका केन्द्रीय अध्यक्ष श्रेष्ठको उपस्थितिमा केन्द्र, प्रदेश तथा जिल्ला सङ्घका पदाधिकारीको बैठक बसेको थियो । बैठकमा विगतका संस्करणभन्दा यसपटक अझ भव्य बनाउने र तयारी शुरु गर्ने निर्णय गरेको छ ।
सङ्घका केन्द्रीय अध्यक्ष श्रेष्ठले यस वर्षको च्याम्पियनसिपमा विश्व ट्रायथोलन सङ्घ र एसियन ट्रायथोलन एशोसिएसनका अध्यक्षलगायत उच्चस्तरीय व्यक्तिहरूको सहभागिता हुने भएकाले भव्य हुने बताउनुभयो । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, पर्यटन व्यवसायी तथा यहाँका उद्योगी–व्यवसायीले अपनत्व लिनेगरी प्रतियोगिता सञ्चालन हुने बताइन्छ ।
‘एशियन कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप पोखराको ब्राण्ड बनिसकेको छ । पोखराको प्रवर्द्धनका लागि च्याम्पियनसिपले ठूलो भूमिका खेलेको छ’ अध्यक्ष श्रेष्ठले भन्नुभयो, – ‘पोखरामा ठूलो इभेन्ट हुने तर पोखरेलीको स्वामित्व नहुने अवस्था विगतमा थियो । तर यस वर्ष हामी त्यस्तो हुन दिँदैनौँ । विश्वका सम्पन्न देशले गर्नेभन्दा कुनै कमी च्याम्पियनसिपमा हुन दिँदैनौँ ।’
सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक कोइरालाले पोखरा ट्रायथोलन च्याम्पियनसिपका लागि विश्वकै उत्कृष्ट गन्तव्यमा पर्ने बताउनुभयो । पोखरासहित समग्र देशको अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि प्रतियोगिता महत्त्वपूर्ण हुने बताउनुभयो । विगतमा विभिन्न कठिनाइका बाबजुद निरन्तरता दिइएको च्याम्पियनसिपमा पछिल्लो समय प्रदेश तथा जिल्ला सङ्घ बनेर अझै सहज रूपमा सम्पन्न हुने कोइरालाले बताउनुभयो ।
नेपाल ट्रायथोलन सङ्घका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेशका अध्यक्ष सुमन देवकोटाले च्याम्पियनसिप पोखरामा हुने सबैभन्दा बृहत् खेल इभेन्ट भएको बताउनुभयो । च्याम्पियनसिप भव्य बनाउनका लागि विगतका कमजोरी सुधार गरिने उहाँले स्पष्ट पार्नुभयो । ‘विगतका कमजोरी दोहोरिन दिँदैनौँ र यस वर्षको प्रतियागिता अझै भव्य बनाउने छौँ’, देवकोटाले भन्नुभयो ।
गण्डकीको कार्यवाहक अध्यक्षमा शिशिर
नेपाल ट्रायथोलन सङ्घ गण्डकी प्रदेशको कार्यवाहक अध्यक्षमा शिशिर सुवेदी चयन हुनुभएको छ । सङ्घका अध्यक्ष सुमन देवकोटा पुसमा सम्पन्न अधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएपछि सुवेदीले गण्डकीको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउनुभएको छ ।
कार्यवाहक अध्यक्ष सुवेदीको संयोजकत्वमा आसन्न एसियन कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिपका लागि स्थानीय व्यवस्थापन समिति गठन गरिएको छ । कार्यवाहक अध्यक्ष सुवेदीले पोखरेलीको अपनत्व हुनेगरी च्याम्पियनसिपको तयारीका काम शुरु भएको जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु