
कञ्चनपुर । कृष्णपुर नगरपालिकाले चैते धानखेती गर्ने किसानलाई ८० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउने काम अगाडि बढाएको छ । नगरपालिकाको कृषि विकास शाखाको आव २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार किसानलाई अनुदानमा चैते धानको बीउ उपलब्ध गराउन थालिएको हो ।
किसानको मागका आधारमा बीउ वितरण गरिने नगरपालिकाको कृषि विकास शाखाका प्रमुख लालबहादुर धामीले बताउनुभयो । ‘धान उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर बनाउनका लागि दुई वर्षदेखि निरन्तररुपमा चैते धानको बीउ अनुदानमा वितरण गराउन थालेका छौँ’ उहाँले भन्नुभयो, ‘चैते धानखेती गर्ने किसानको सङ्ख्या बर्सेनि बढ्दोरुपमा रहेको छ ।’
किसानलाई अनुदानमा सिँचाइ सुविधाका लागि पम्पसेट, विद्युतीय मोटर उपलब्ध गराउने कार्यसँगै पुराना कुलो मर्मत गरी सञ्चालन गरिन थालेपछि चैते धानखेती गर्ने किसान बढ्दै गएको उहाँको भनाइ छ । पर्याप्त सिँचाइका साधन उपलब्ध हुन थालेपछि किसानले हर्दिनाथ जातको चैते धानखेतीपश्चात् बर्खे धानखेती गरेर दोहोरो फाइदा लिन थालेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार नगरपालिकामा खेतीमा संलग्न किसानमध्ये ८० प्रतिशतले धानखेती गर्दै आएका छन् । त्यसमध्ये चैते धानखेती मात्रै गर्ने किसानको सङ्ख्या पाँच प्रतिशत रहेको छ । थोरै जग्गामा चैते धानखेती गर्ने किसान ८० बढी भएको जनाउँदै कृषि विकास शाखाका प्रमुख धामीले एक बिघाभन्दा बढी क्षेत्रफलमा चैते धानखेती गर्ने किसान ३० बढी रहेको बताउनुभयो ।
गत वर्ष मात्रै नगरपालिकाले अनुदानमा बीउ उपलब्ध गराएर ४० बिघा जग्गामा २५ किसानले चैते धानखेती गरेको उहाँले बताउनुभयो । बर्खे धानभन्दा चैते धानले बढी उत्पादन दिने भएकाले किसानले यसको खेतीलाई प्राथमिकतामा राख्न थालेकाले यस वर्ष पनि अनुदानको कार्यक्रम राखिएको उहाँले जानकारी दिनुभयो ।
‘चैते धानमा बर्खे धानको तुलनामा रोग कीरा कम लाग्ने, मसिनो दाना हुने र धेरै फल्ने भएकाले किसानले यस धानको खेतीलाई रुचाएका छन’ धामीले भन्नुभयो । फागुनमा बीउ राखेर किसानले चैतभित्र यस धानलाई रोप्ने गरेका छन् । रोपेको चार महिनामा धान पाक्ने गर्दछ । असारमा चैते धान काटेर किसानले बर्खे धानखेती गर्दै आएका छन् ।
चैते धानको बीउ अनुदानमा लगेका किसानले अनिवार्यरुपमा धान रोपेकै हुनुपर्ने नियम नगरपालिकाले बनाएको छ । कृषि ज्ञान केन्द्रका अनुसार कूल धानखेती हुने ४८ हजार ४ सय ९६ हेक्टरमध्ये ३ सय हेक्टर जग्गामा चैते धानखेती हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध