
बाँके । राप्ती सोनारी गाउँपालिका–५ बिनौनाको टडुवास्थित धुमैया जलाधार क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।
सिद्देश्वरी सामुदायिक वन उपभोक्ता समूहको संरक्षणमा रहेको धुमैया जलाधार क्षेत्रमा नेपालगञ्जको प्रचण्ड गर्मी छल्न आउने आन्तरिक पर्यटकहरु झरनामा नुहाउने, तस्बिर खिच्ने, भिडियो छायाङ्कन गर्ने र वनभोज खाएर रमाउने गरेका छन् ।
गर्मीयाममा नेपालगञ्ज, कोहलपुरलगायतका सहरबाट आन्तरिक पर्यटकको भीड लाग्ने गरेको स्थानीय चन्द्रप्रकाश रिजालले बताउनुभयो । जलाधार क्षेत्रमा प्रवेश गर्ने आन्तरिक पर्यटकलाई प्रवेश शुल्क रसिद काट्ने काम गर्दै आउनुभएका रिजालले गर्मीयाममा दैनिक ३ सय÷४ सय जना घुम्न पुग्ने गरेको जानकारी दिनुभयो । गर्मीयाममा प्राकृतिक रुपमा बगिरहेको झरनामा नुहाउने र पोखरीमा पौडी खेल्न यहाँ आउने गरेको राप्ती सोनारी–३ बैजापुर निवासी टारजन वलीले बताउनुभयो । पछिल्लो पटक टाढाबाट समेत मानिसहरु जिप, कार र मोटरसाइकलमा आएर दिनभर रमाउने गरेको उहाँको भनाइ छ ।
सिद्देश्वरी सामुदायिक वन उपभोक्ता समूहको सक्रियतामा भएको सामान्य पूर्वाधार विकाससँगै खानेपानीको धारा, पौडी खेल्न मिल्ने पोखरी र वनभोज गर्न मिल्ने सामान्य संरचना निर्माण भएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको स्थानीय जुद्धबहादुर पुनले बताउनुभयो । जैविक विविधता, प्राकृतिक सौन्दर्य र सुगम भएकाले आन्तरिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको सिद्देश्वरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सविन पुनले उल्लेख गर्नुभयो । ‘बजेट अभावमा पूर्वाधार विकास गर्न सकिएको छैन, तर पनि पछिल्लो समय घुम्न आउने पर्यटकको संख्या बढ्दो छ’ उहाँले भन्नुभयो– ‘शनिबार र सार्वजनिक बिदाको दिन यहाँ आउने पर्यटकको भीडभाड हुने गर्दछ ।’
धुमैया जलाधार क्षेत्रको पूर्वाधार विकास र पर्यटन प्रवद्र्धनका लागि गाउँपालिका र प्रदेश सरकारसँग बजेट माग गरे पनि कहीँबाट बजेट विनियोजन हुन नसकेको उहाँको गुनासो छ । बर्सातमा बाढीले भत्काएको सडक समेत बजेट अभावले निर्माण गर्न नसकिएको पुनले जानकारी दिनुभएको छ ।
सदरमुकाम नेपालगञ्जबाट करिबबाट २५ किलोमिटर पूर्वमा राप्ती नदीपारि अवस्थित धुमैया जलाधार क्षेत्र पुग्न बिनौना चिलहरिया चोकसम्म पक्की हुलाकी राजमार्ग रहेको छ । चिलहरिया चोकदेखि करिब ३ किलोमिटरको कच्ची सडक पार गरेपछि सजिलै यहाँ पुग्न सकिन्छ ।
गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले धुमैया जलाधार क्षेत्रको पूर्वाधार विकास र पर्यटन प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल