
दाङ । ठूलो राप्ती र सानो राप्तीको बीचमा रहेको लमही नगरपालिका–६ ढीकपुरमा २५ बिघा जमिनमा व्यावसायिक केराखेती गरिएको छ ।
उद्यमशील बहुउद्देश्य कृषि सहकारी संस्थाको लगानीमा गरिएको केराखेतीले बाझो जमिन हराभरा भएको छ । सहकारी संस्थाका सचिव विश्वप्रकाश अधिकारीका अनुसार २७७ कित्ता विभिन्न व्यक्तिका नाममा गौचरनका रुपमा रहेको ५२ बिघा जमिनलाई चक्लाबन्दी गरिएको छ । उहाँले भन्नुभयो– ‘सहकारीले कार्यविधि तयार गरेर चक्लाबन्दी जमिन तयार गर्ने र कृषिमा जोडिने नयाँ कार्यविधिअनुसार केरा खेती गरिएको छ ।’ बाँझो जमिनलाई सदुपयोग गर्ने र व्यवसायमा जोडिने उद्देश्यले जमिनको खोजी गर्ने क्रममा राप्ती किनारमा गौचरनमा केराखती थालिएको हो ।
‘जग्गाको मालिक खोज्ने र छलफल गर्ने काम भयो । उहाँहरु सबैले जग्गा सहज रुपमा दिनुभयो’ सचिव अधिकारीले भन्नुभयो । चक्लाबन्दी गरी पाँच वर्षका लागि जमिन भाडामा लिएको उहाँको भनाइ छ । ‘बलौटे माटो भएकाले यहाँ केराखेती राम्रो हुन्छ’ उहाँले भन्नुभयो । बिरुवा उत्पादन गर्न मालभोग केराखेती गरेको अधिकारी बताउनुहुन्छ ।
विसं २०८० वैशाखमा चितवनको टाँडी र हेटौँडाबाट २० हजार बोट ल्याएर केरा रोपिएको हो । रोपेको एक वर्षमा केरा पसाउन शुरु गरेको छ । बिरुवा खरिद गर्न ३७ लाख रुपैयाँ लगानी गरिएको अधिकारीले बताउनुभयो । ‘केराका बिरुवा रेखदेख गर्न पाँच जनालाई रोजगारी दिएका छौँ’ उहाँले भन्नुभयो ।
अन्य कृषिबाली जस्तो मेहनत गर्न नपर्ने र आम्दानी पनि राम्रो हुने भएपछि गत वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएको अधिकारी बताउनुहुन्छ । एकपटक रोपेपछि धेरै पटक आम्दानी लिन सकिने र अरु कृषिबाली जस्तो दुःख नहुने भएपछि सहकारीले केराखेती गरेको उहाँले बताउनुभयो ।
उद्यमशील बहुउद्देश्य कृषि सहकारी संस्थाका अध्यक्ष लक्ष्मी शर्माले व्यावसायिक केराखेतीबाट मनग्य आम्दानी गर्न सकिने बताउनुभयो । ‘स्थानीय खोलाबाट लिफ्टिङ र बोरिङबाट पानीको जोहो भएको छ । लमही विद्युत् प्राधिकारणले विद्युत् विस्तार गरेकाले बिजुलीको समस्या छैन’ उहाँले भन्नुभयो ।
केराखेतीका लागि देउखुरीमा माटोसँगै सिँचाइको व्यवस्था भएकाले थोरै खेतीबाट पनि पर्याप्त आम्दानी लिन सकिने भएकाले पछिल्लो समय केराखेती गर्ने किसान बढेका कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले बताउनुभयो ।
उहाँका अनुसार जिल्लामा ५ सय ३० हेक्टर जमिनमा व्यावसायिक केराखेती हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग