
तनहुँ । पृथ्वीराजमार्गको बरादीबाट करिब २० मिनेट सवारी साधनको यात्रा तय गरेपछि पुगिन्छ आँबुखैरेनी–१ स्थित पर्यटकीय गाउँ गिरानचौर । ढुङ्गा छापेर चिटिक्क पारिएको बस्ती । परम्परागत घरले यहाँ पुग्ने जोकोहीलाई आकर्षित गरिहाल्छ ।
गिरानचौरलाई पर्यटकीय गन्तव्यस्थल बनाउँदै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न स्थानीय कस्सिएका छन् । गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय नमूना गाउँ घोषणा गरेपछि स्थानीयवासी यस ठाउँमा पर्यटक भित्र्याउन लागिपरेका हुन् ।
गाउँपालिकाको सहयोग र प्रेरणाले आफूहरु यस ठाउँमा घरबास सञ्चालन गर्ने प्रयासमा जुटेको स्थानीय ओममाया गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले हामीलाई यस ठाउँमा होमस्टे सञ्चालनका लागि उत्प्रेरित गर्नुभयो । हामी स्थानीय अहिले यसमा लागेका छौँ ।’ उहाँका अनुसार हाल यस ठाउँमा २० घरमा होमस्टे सञ्चालन गरिएको छ भने यसलाई विस्तार गर्ने लक्ष्य राखिएको छ ।
होमस्टे सञ्चालनका बारेमा आफूहरुलाई कुनै जानकारी नभएको र गाउँपालिकाले नै सिकाएपछि अहिले यसतर्फ अगाडि बढेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो– ‘गाउँपालिकाका अध्यक्षले सधैँ हामीलाई पैसा कमाउनुप¥यो भन्नुहुन्थ्यो, हामीले कसरी चलाउने, हामीलाई त आउँदैन भन्यौँ । उहाँहरुले सिकाउनुभयो, पाहुना पनि पठाउन थाल्नुभयो ।’
केही समय अगाडि मात्रै विद्यालयका एक सय जना शिक्षकहरु यहाँ बास बसेर गएको उहाँले जानकारी दिनुभयो । त्यस्तै कलाकार भटभटे माइला, बल्छी धु्रवेलगायत नामले परिचित कलाकारहरु समेत यहाँ आइसकेको उहाँको भनाइ छ । यहाँ आउने पाहुनालाई लोकल कुखुरा, गाउँमै उत्पादित आलुको परिकार, गुन्द्रुक, भट्ट, कोदोको रोटी खुवाउने गरिएको छ । त्यस्तै रातिको समयमा चुड्का नाच प्रस्तुत गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।
पारिवारिक वातावरणको प्रत्याभूति दिने गरी पाहुनाको स्वागत गर्ने गरेको स्थानीय नरेश गुरुङले जानकारी दिनुभयो । आफू डकर्मीको काममा समेत संलग्न रहेको बताउँदै उहाँले होमस्टे सञ्चालनका लागि आमा र श्रीमतीले सघाइरहेको उल्लेख गर्नुभयो । हालसम्म यस ठाउँमा तीन सयभन्दा बढीले रात बिताइसकेका छन् ।
आँबुखैरेनी गाउँपालिकाले यस ठाउँलाई नमूना पर्यटकीय गाउँको रुपमा विकास गर्न खोजेको गाउँपालिकाका अध्यक्ष चुमानले बताउनुभयो । गुरुङ बस्ती गिरानचौरमा ६० घरधुरी रहेकामा सबै घरमा होमस्टे सञ्चालनको लक्ष्य छ । उहाँका अनुसार यस ठाउँलाई पर्यटकीय गाउँ बनाउन ४० लाख रुपैयाँ विनियोजन गरिएको छ । उहाँले भन्नुभयो– ‘स्थानीयलाई आयआर्जनमा जोडेर आत्मनिर्भर बनाउने लक्ष्य हो ।’
कूल ६ वटा वडा रहेको गाउँपालिकामा प्रत्येक वडामा एउटा पर्यटकीय गाउँ बनाउने लक्ष्य राखिएको चुमानको भनाइ छ । उहाँले भन्नुभयो– ‘गिरानचौरका घरमा एकैखालको रङ र यहाँ फूलले आकर्षण बढाउने योजना पनि छ । यसका लागि स्थानीयवासीसँग साझेदारी गर्छौं ।’
पृथ्वीराजमार्गको बरादीदेखि समस्तीपुरसम्म पक्की र त्यहाँबाट कच्ची बाटो रहेकाले बाटो स्तरोन्नतिको प्रक्रिया थालिएको चुमानले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- उपराष्ट्रपति यादव र भियतनामकी समकक्षी सुआनबीच भेटवार्ता
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ