
बागलुङ । पर्यटन प्रवर्द्धनका लागि बागलुङमा धुरीमार्ग निर्माण शुरु गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशमार्फत चालु आर्थिक वर्षमा विनियोजन भएको ५० लाख रुपैयाँले धुरीमार्ग निर्माण थालिएको हो ।
धुरीमार्ग करिब डेढ सय किलोमिटर हुने छ । बागलुङ नगरपालिका–१३ भैरवस्थानदेखि सुरु भएको धुरीमार्ग भकुण्डे भ्यू टावर, रायडाँडाको शान्ति गुम्बा–गाजाको दह, घोडाबाँधे बेलढुङ्गा, पञ्चकोट, शालिग्राम सङ्ग्रहालय हुँदै बागलुङ कालिका जोडिने छ ।
मन्त्रालयको बहुवर्षे योजनाअनुसार धुरीमार्गलाई अगाडि बढाइएको हो । यस वर्ष करिब एक किलोमिटर पदमार्ग निर्माण हुने छ । गत पुस ११ गतेदेखि निर्माण शुरुगरिएको धुरीमार्ग हालसम्म चार सय मिटर काम सकिएको धुरीमार्ग निर्माण समितिका अध्यक्ष दलबहादुर थापाले जानकारी दिनुभयो । धुरीमा पदमार्ग बनाइने हुँदा यसलाई धुरीमार्ग भनिएको उहाँको भनाइ छ ।
उहाँका अनुसार धुरीमार्ग स्लेट ढुङ्गा, रेलिङ, ढलानसहितको हुनेछ । स्लेट ढुङ्गा ताराखोला गाउँपालिका–१ माझखर्कबाट ढुवानी गरेर ल्याउँदा महङ्गो पर्ने हुँदा धेरै काम गर्न नसकिने थापाले बताउनुभयो । आगामी जेठको १५ गतेसम्म सक्ने गरी सम्झौता भएको जनाउँदै अध्यक्ष थापाले समयमै सामान उपलब्ध भए वैशाख दोस्रो साता नै काम सक्ने बताउनुभयो ।
यस वर्षको बजेटले भैरवस्थानदेखि कुण्डेसम्म जोडिने उहाँको भनाइ छ । भौगोलिक कठिनाइ र चिसो मौसमका कारण अहिले कामलाई तीव्रता दिन केही समस्या भए पनि दैनिक आफूहरुले काम गरिरहेको अध्यक्ष थापाले बताउनुभयो । उहाँँले भन्नुभयो, “इन्जिनियरको ‘स्टिमेट’ अनुसारको काम गरि रहेका छौँ, समयमै काम सक्ने योजना छ, दिनदिनै काम भइरहेको, ढुङ्गाको गुणस्तरमा ध्यान दिनुपर्ने छ, भिरपहरा फोडेर मार्ग निर्माण भइरहेको छ, बजेट ठूलो देखिन्छ, तर स्टिमेटअनुसार काम गर्दा धेरै काम गर्न सकिने रहेनछ, पदमार्ग सामान्य किसिमको बन्दै छैन, गुणस्तरीय नै बन्छ ।”
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले पर्यटकलाई हप्तौँसम्म बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्र घुम्न र पर्यटन प्रवद्र्धनका लागि धुरीमार्ग निर्माण गर्न थालिएको बताउनुभयो । यो पदमार्ग पूरा गर्नका लागि एकै वर्षमा सम्भव नभएको भन्दै बहुवर्षे योजनाका रुपमा यसलाई अगाडि बढाएको मन्त्री थापाको भनाइ छ । बागलुङमा समथर भू–भागदेखि अग्ला पहाडका टुप्पोसम्म पर्यटकीय गन्तव्य रहेको हुँदा तल्लो क्षेत्रमा सडक र माथिल्लो क्षेत्रमा धुरीमार्गको प्रयोग गरी आन्तरिक तथा बाह्य पर्यटक घुम्न सक्ने उहाँले बताउनुभयो ।
“धुरीमार्ग निर्माण सम्पन्नपछि बागलुङमा बाह्य पर्यटक बढ्ने छन्, ग्रामीण बस्तीसँग जोडिएको धुरीमार्गले गाउँको पर्यटनलाई प्रवद्र्धन गर्न महत्वपूर्ण टेवा पुग्ने छ, यो पदमार्गमा पर्यटकहरु हप्तौँ दिनसम्म यात्रा गर्न सक्ने छन्भने त्यस आसपासमा रहेका घरबास ‘होम–स्टे’, होटल र रेष्टुरेन्ट राम्रोसँग चल्नेछन्, स्थानीय उत्पादनले बजार पाउनेछन्”, मन्त्री थापाले भन्नुभयो, “पर्यटन प्रवद्र्धनका साथसाथै रोजगार सृजना पनि हुने छ, यहाँ यात्रा गर्ने पर्यटकले बागलुङका दर्जनौँ धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्न सक्ने छन् ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध