
अमेरिका । मेरिल्याण्ड राज्यमा नेपाली मूलका पहिलो डेलिगेट डा ह्यारी भण्डारीले अमेरिकी सङ्घीय संसद्को तल्लो सदन कंग्रेसमा डिष्ट्रिक २ बाट उमेदवारीको घोषणा गर्नुभएको छ ।
उहाँको उमेदवारीले सोमबारबाट औपचारिक रुपमा प्रवेशसमेत गरेको छ । भण्डारीले डेमोक्र्याट पार्टीका तर्फबाट आगामी मे १४ मा हुने प्रारम्भिक निर्वाचनका लागि चुनावी अभियान घोषणा गरेको बताउनुभयो ।
अमेरिकाको मूलधारको राजनीतिमा विगत एक दशकदेखि सक्रिय रहनुभएका डा ह्यारी भण्डारीले आफ्नो राजनीतिक यात्रालाई सङ्घीय इकाईतर्फ अगाडि बढाउनुभएको हो । कंग्रेसमेनको रुपमा उमेदवारी घोषणा गर्नुभएका भण्डारीले पार्टीको आन्तरिक प्रतिस्पर्धामा हुने उक्त निर्वाचनमा विजयी भएको खण्डमा आगामी नोभेम्बरमा हुने चुनावमा डेमोक्र्याट पार्टीको तर्फबाट उमेदवार हुन पाउनुहुने छ ।
यसपटक मेरिल्याण्ड राज्यमा दुईजना कंग्रेसमेनले निर्वाचन नलड्ने घोषणा गर्नुभएकाले यसलाई खुला सिटको रुपमा लिइएको छ । ह्यारीले उमेदवारी दिन लाग्नुभएको स्थान उहाँले डेलिगेटमा दुई पटक विजयी भइसक्नु भएको स्थानमा पर्दछ । तसर्थ ह्यारी यस क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने जनप्रतिनिधिसमेत हुनु भइसकेको छ । तर डेमोक्र्याट पार्टीभित्रका हस्तीसमेत निर्वाचनमा होमिएकाले ह्यारीले निर्वाचनमा कडा प्रतिस्पर्धाको सामना भने गर्नुपर्ने छ ।
त्यसको साथमा ह्यारीले निर्वाचनको दौरानमा के कति रकम सङ्कलन गर्न सक्नुहुनेछ भन्ने विषय पनि पेचिलो रहने छ । ‘टिचर फर कंग्रेसमेन’ भन्ने नारा तय गरिएको ह्यारीको चुनावी अभियान करिब एक सय दिनसम्म चल्नेछ ।
नेपाली समुदायको आपत् विपत्मा सदैव अग्रपङ्क्तिमा रहेर समुदायको हितमा अहोरात्र खटिनुहुने ह्यारीले राससलाई संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो विगतमा जस्तै नेपाली अमेरिकनको सहयोग र सद्भाव प्राप्त गर्नेमा म विश्वस्त छु ।
ह्यारीले डेलिगेटका रुपमा नेपाली अमेरिकनका आप्रवासनसम्बन्धी विषयमा महत्वपूर्ण भूमिका निर्वाह गरिसक्नुभएको छ । कोरोनाकालमा बेरोजगार फारम भर्नेदेखि कोरोना पीडितको उपचारमा समेत ह्यारीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । कोराना महामारीको बेलामा दिवङ्गत हुनुभएका नेपालीको शव व्यवस्थापनमा ह्यारी र उहाँको टोलीले भूमिका निर्वाह गरेको थियो ।
ह्यारीले नेपालीहरुको सांस्कृतिक पहिचान दिलाउने उद्देश्यले ल्याउनु भएको दसँै बिल मेरिल्याण्ड जनरल एसेम्बलीले पारित गरेर गत अक्टोवर ५ तारिखलाई दसँै डे भनेर समेत मनाउन थालिएको छ ।
नेपालको पर्वत जिल्लाको ग्रामीण परिवेशमा जन्मिएर अमेरिकाको मूलधारको राजनीतिमा आफूलाई खरो रुपमा उभ्याउनु भएका ह्यारीले समुदायको सेवा आफ्नो प्राथमिकतामा सदैव पर्ने बताउँदै आउनु भएको छ । नेपाली मूलका व्यक्तिले अहिलेसम्म सङ्घीय निर्वाचनमा जित हासिल गर्न सकेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध