
चोङकिङ (चीन) । चीनको चोङकिङ भ्रमणमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को उच्चस्तरीय भ्रमण दलले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को चोकिङ सहरका वरिष्ठ अधिकारीसँग भेटवार्ता गरेको छ ।
बिहीबार साँझ चोङकिङ सहरको पार्टी स्कुल विभागमा भएको भेटवार्तामा माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा, केन्द्रीय सदस्य रामद्वीप आचार्य, लेखनाथ न्यौपाने र नेताहरू सहभागी हुनुहुन्थ्यो ।
त्यस अवसरमा सचिव शर्माले माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) बीच गहिरोे सम्बन्ध रहेको बताउनुभयो । ‘यो पार्टी–पार्टीबीचको मात्र सम्बन्ध होइन, हामीबीच जनस्तरको सम्बन्ध पनि घनिष्ट छ । चीनप्रति सबै नेपालीले गहिरो माया, प्रेम र सम्मान प्रकट गर्दै आएका छन्’ उहाँले भन्नुभयो ।
सचिव शर्माले चिनियाँ विद्वानले इतिहासमा नेपालमा बुद्ध जन्मेको विषय बाहिरी विश्वलाई जानकारी गराएर नेपालको महत्त्व बढाएको उल्लेख गर्दै चीन र नेपालको सम्बन्ध सांस्कृतिक, धार्मिक, आर्थिकसहित बहुआयामिक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘यस्ता भेटवार्ताले नेपाल–चीन मित्रतालाई थप गहिरो र घनिष्ट बनाउने छ, यहाँको विकासले हामीलाई प्रभावित गरेको छ । नेपालले चीनसँग सिक्ने विषय धेरै छन् । कतिपय विषयमा नेपालले चीनसँग समझदारी गरेर अगाडि बढ्ने नीति लिएको छ ।’
भेटवार्तामा चीनको चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रले वैचारिक विषयमा अनुभव आदानप्रदान र तालिम कार्यक्रमलाई थप व्यवस्थित तरिकाले सञ्चालन गर्न दुवै दल सहमत भएका छन् ।
त्यस अवसरमा चोङकिङ नगरका पार्टी स्कुल विभागका प्रमुख लियु सियोउले चीनले नेपालसँगको सम्बन्धलाई ज्यादै महत्त्व दिएको र दुई देशबीचका जनतालाई पारस्पारिक लाभ हुनेगरी काम गर्न र सहकार्यका लागि आफूहरू सदैव तत्पर रहेको बताउनुभयो ।
नेपाल चीनबीचको ७०औँ वर्षगाठको प्रसङ्ग उल्लेख गर्दै नेता लियुले दुई देशबीच शिक्षा, व्यापार, संस्कृति र जनस्तरका क्षेत्रमा सम्बन्ध विस्तार गर्ने र व्यावहारिक सहकार्यलाई बलियो बनाउने धारणा व्यक्त गर्नुभयो ।
जनसङ्ख्याका हिसाबले चोङकिङ विश्वकै सबैभन्दा ठूलो र गतिशील सहर हो । पश्चिम चीनको यो शहरको जनसङ्ख्या ३ करोड ६ लाख छभने आर्थिक हिसाबले पनि यो शहर महत्त्वपूर्ण रहेको छ । भेटवार्तामा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका सदस्यहरू र चोङकिङ सहरका अन्य वरिष्ठ अधिकारीको सहभागिता रहेको थियो ।
यसअघि बिहीबार नै माओवादी केन्द्रको प्रतिनिधिमण्डलले चोङकिङ कृषि प्रविधि पार्कको भ्रमण गरेको छ । उच्चस्तरीय वैज्ञानिक प्रविधियुक्त त्यो कृषि पार्कसँग भरतपुर महानगरपालिकाले साझेदारीमार्फत काम गरिरहेको छ ।
त्यो आधुनिक कृषि अनुसन्धान केन्द्रमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत भ्रमण गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव