
म्याग्दी । मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ ।
धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार अभावमा ओझेल परेको आठ सय वर्ष पुरानो गुफाभित्र रहेको गुम्बा संरक्षणको पनि पर्खाइमा छ । गुम्बाकी आनी थाक्पा ढोल्करका अनुसार तान्त्रिक बौद्ध धर्मसँग नजिक निङ्मापा सम्प्रदायको लुरीघाङ गुम्बा १२औँ शताब्दीमा बनेको हो ।
समुद्री सतहबाट करिब चार हजार मिटर उचाइमा याराको पूर्वी कुनाको पहराको चेपमा रहेको लुरी गुम्बा अनौठो धार्मिक सम्पदा हो । गोरेटो र सिँढी हुँदै पहाडको बीच भागमा रहेको तीनवटा गुफामा रहेको गुम्बामा पुगिन्छ । आँगनमा पुग्ने बेलामा काठको भर्याङ राखिएको छ । गुम्बाको मुख्य भाग, लामाको तपस्यास्थल पहराभित्र छिरेको गुफामा रहेको छ । लुरी गुम्बाको छोर्तेन प्राकृतिक भएको आनी ढोल्करले बताउनुभयो ।
आकर्षक भित्तेचित्र भएको छोर्तेनको वरपर परिक्रमा गर्न मिल्ने सानो भाग पनि छ । यहाँका चित्र पन्ध्रौँ शताब्दीमा बनाइएको हो । पहराको ढुङ्गालाई नै थामको रूप दिई बनाइएकाले गुम्बामा भित्तेचित्र, पुस्तक, पुराना थाङ्का र पद्मसम्भवको मूर्ति रहेको छ । भूटानी कन्या विवाह गरेका तत्कालीन ल्होका राजाले आफ्नी पत्नीलाई खुसी पार्न लुरी गुम्बा बनाएको इतिहास छ ।
स्थानीयवासीले यसलाई लुरी कावुङ भन्ने गर्छन् । अर्को किंवदन्तीअनुसार यारागाउँमा जन्मिएका उड्ने सिद्ध पाएका कुन्छाङ झलु नाम गरेका लामाले तपस्या गरेर ज्ञान आर्जन गरेका थिए । गुम्बापारिको पहाडको चुचुरोलाई स्थानीयवासी कुन्छाङ झलु लामाको बासस्थान मान्ने गरेका छन् ।
मुख्य गुम्बाभन्दा केही तल पेयुङखोलाको किनारमा अर्को गुम्बा पनि बनाइएको छ । दुवै ठाउँको गुम्बामा नियमित पूजाआजा हुने आनी ढोलकरले बताउनुभयो । लुरी गुम्बाको नजिकैको यारा र घारागाउँमा धर्मशाला र होटलको सुविधा छ ।
लोघेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङबाट ध्यखोला, ध्ये, सुर्खाङ, यारा हुँदै एक घण्टा सवारीसाधनको यात्रापछि पुगिने घारागाउँबाट २० मिनेटको पैदलयात्रा गरेपछि दामोदरकुण्ड जाने बाटोमै रहेको लुरी गुम्बा पुगिन्छ । लोमान्थाङबाट लुरी सर्किट पदमार्गको प्रयोग गरेर पनि यहाँ जान सकिन्छ । चराङबाट घारा जाने क्रममा ध्ये, सुर्खाङ र यारागाउँ, अनौठा आकृति भएको पहाड अवलोकन गर्न पाइन्छ ।
लोघेकर दामोदरकुण्ड गाउँपालिका र गण्डकी प्रदेश सरकारले सडकबाट लुरी गुम्बा पुग्ने ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाएका छन् । गाउँपालिका र प्रदेश सरकारको १५–१५ लाख रुपैयाँमा उकालोमा करिब तीन सय मिटर पक्की पदमार्ग निर्माण भएको वडाध्यक्ष पासाङ गुरुङले बताउनुभयो ।
यस वर्ष सार्वजनिक शौचालय बनाउन ५ लाख रुपैयाँ विनियोजन गरेको वडाध्यक्ष गुरुङले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने