
तनहुँ । आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथि निर्माण शुरु भएर एघार वर्षसम्म पनि पुल नबनेपछि स्थानीयवासी निराश बनेका छन् ।
पुल निर्माण शुरु भएर सम्पन्न भइसक्नुपर्नेमा हालसम्म पुल अलपत्र बनेपछि यस भेगका स्थानीयवासी निराश बनेका हुन् । केही दिनअघि स्थानीयवासीले पुल निर्माणको काम तत्काल शुरु गर्न माग गर्दै प्रशासन र सडक डिभिजन कार्यालय घेराउ गरेका थिए । एघार वर्ष अगाडिबाट निर्माण शुरू भएको पुल निर्माणमा ढिलासुस्ती भएपछि दबाब दिन सरोकार समिति गठन गरिएको छ । बन्दीपुर, देवघाट र आँबुखैरेनीका उपभोक्ताको भेलाले सिद्धान्त थापाको संयोजकत्वमा घुमाउने पुल सरोकार तथा सङ्घर्ष समिति गठन गरेको छ ।
देवघाट गाउँपालिका–२, ३ र ४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–५ र ६ तथा व्यास नगरपालिका–१३ र १४ का बासिन्दा दैनिक रूपमा हिँडडुल गर्ने पुल सम्पन्न नहुँदा सर्वसाधारणलाई सास्ती भएको संयोजक थापाले बताउनुभयो ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भीमबहादुर रानाले पुल निर्माणमा भइरहेको ढिलासुस्तीले यस भेगका सर्वसाधारणलाई आवतजावतमा समस्या भएको बताउनुभयो । आँबुखैरेनी गाउँपालिका–६ का पूर्ववडाध्यक्ष चुनाराम गुरूङले सम्बन्धित निकायले यस भेगका जनताको दुःख बुझेर काम शुरू गर्नुपर्ने बताउनुभयो ।
सडक डिभिजन कार्यालय दमौलीका प्रमुख राजिव श्रेष्ठले यसै आर्थिक वर्षमा दुई पटक आएको बाढीले पुल निर्माणमा समस्या भएको जानकारी दिनुभयो । पुलको डिजाइनमा केही परिवर्तन गर्नुपर्ने भएको र त्यसको काम भइरहेकाले काममा ढिलाइ भएको उहाँको भनाइ छ ।
मृत सञ्जीवनी निर्माण कम्पनी हेटौँडासँग पहिलो पटक २०७० असारमा उक्त पुल निर्माणका लागि सम्झौता भएको थियो । बारम्बारको म्याद थप र डिजाइन परिवर्तन पछि पनि हालसम्म ४५ प्रतिशत मात्र काम सकिएको छ । पुलको निर्माणको अवधि आउने चैतसम्म रहेको छ ।
त्रिशूली नदीमाथि स्टिल ट्रसको पुल बनाउने सम्झौता भएपछि डिजाइन परिवर्तन गरी आर्कब्रिज बनाउन लागिएको हो । अहिलेसम्म त्रिशूलीको वारिपारीका पिल्लर मात्र ठडिएका छन् । पुल एक सय पाँच मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने छ । पुलको लागत ९ करोड ५६ लाख रुपैयाँ रहेको छ ।
गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंहमार्गको घुमाउनेको मोटरेबल पुलको निर्माण सम्पन्न पश्चात पोखरा र दमौली भएर नारायणगढ आउन जान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने