
चितवन । भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भ्रमण वर्षका रुपमा मनाउँदैछ । भ्रमण वर्षको औपचारिक उद्घाटन आगामी फागुन १८ गते हुँदैछ ।
भ्रमण वर्षमा यहाँ आउने पर्यटकका लागि विभिन्न प्याकेजसँगै दुर्लभ पाटेबाघ सहजै देख्न पाइने भएको छ । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकले एकाधले मात्रै बाघ देख्ने अवसर पाउँछन् । निकुञ्जले भ्रमण वर्षसँगै यहाँ आउने पर्यटकका लागि खोरमा बाघ देखाउने व्यवस्था गर्दैछ ।
निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार भरतपुर महानगरपालिकाको देवनगर रेष्जपोष्ट नजिक दक्षिणकाली मध्यवर्ती सामुदायिक वन क्षेत्रमा खोर निर्माण सम्पन्न गरिएको छ । बाघ हेर्नका लागि मचान निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । तिवारीका अनुसार अब केही दिनमा मचानको काम सम्पन्न हुन्छ ।
निकुञ्जले रु ५० लाख खर्च गरेर त्यहाँको वन्यजन्तु उद्धार केन्द्रमा बाघका लागि खोर निर्माण सम्पन्न गरेको छ । सँगै महानगरपालिकाको सहयोगमा मचान र पहुँच सडक निर्माण हुँदैछन् । उहाँको भनाइमा भ्रमण वर्ष उद्घाटन अघि नै त्यहाँ बाघ लगिनेछ । त्यसका लागि आवश्यक गृहकार्य भइरहेको तिवारीले जानकारी दिनुभयो ।
निकुञ्जको मुख्य कार्यालय कसरामा एउटा पोथी र तीन भाले बाघ खोरमा छन् । यसैगरी, सौराहामा दुई भाले छन् । ती बाघ हिंस्रक बनेपछि नियन्त्रणमा लिएर खोरमा राखिएको छ । तीमध्येबाट वा थप हिंस्रक बाघ नियन्त्रण गर्नु परेमा त्यसलाई खोरमा ल्याइँदै छ । पर्यटकलाई मचानबाट बाघ हेर्ने व्यवस्था मिलाउन लागिएको हो ।
भ्रमण वर्षलाई लक्षित गरी मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वन, बाटुली पोखरी, किङ फिसर ताल र बीस हजारी तालमा सरसफाइको काम भइसकेको छ । भरतपुर भ्रमण वर्षको मुख्य पर्यटकीय गन्तव्य निकुञ्ज हो । निकुञ्जले यहाँ रहेका जिप सफारीको पुराना रुटमा पनि सरसफाइ गरिसकेको छ ।
पर्यटकीयस्थलमा नक्सा (म्याप) राख्ने काम गरिएको उहाँले जानकारी दिनुभयो । निकुञ्जभित्र रहेका ताल, पोखरी र घाँसेमैदानलाई पनि व्यवस्थित बनाउने काम भइरहेको छ । मेघौली क्षेत्रका सामुदायिक वनका प्रवेशद्वारलाई शृङ्गार गर्ने काम गरिएको छभने निकुञ्जको मुख्यालय कसरामा सरसफाइ र रङ रोगनको कार्य भएको छ ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले निकुञ्ज घुम्न आउने पर्यटकले सहजै बाघ देख्न पाऊन् भन्ने उद्देश्यले देवनगरको वन्यजन्तु उद्धार केन्द्रमा महानगरले समेत लगानी गरेर बाघ हेर्ने व्यवस्था मिलाउन लागिएको बताउनुभयो । त्यहाँ मचान निर्माण र पहुँच मार्गका लागि महानगरपालिकाका तर्फबाट काम धमाधम भइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अब निकुञ्ज घुम्न आउनेले बाघ देखिन भन्न पर्दैन ।”
भ्रमण वर्षमा आउने स्वदेशी र विदेशी पर्यटकको प्रमुख गन्तव्य निकुञ्ज भएको जनाउँदै उहाँले निकुञ्ज प्रवेश गर्ने नाका र भ्रमणका गन्तव्यमा पर्यटकका लागि सहजीकरणको काम भइरहेको जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध