
नवलपरासी । कोरला–त्रिवेणी सडकखण्डअन्तर्गतको डेढगाउँ–झ्यालबास खण्डको भौतिक प्रगति ३० प्रतिशत पुगेको छ । गण्डकी प्रदेश सरकारले सो आयोजनालाई प्रदेश गौरवको योजनामा राखेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा डेढगाउँबाट सुरु हुने पहिलो खण्डको प्रगति सन्तोषजनक नै रहेको पूर्वाधार विकास कार्यालय नवलपुरका सडक इन्जिनियर रामकृष्ण घिमिरेले जानकारी दिनुभयो ।
डेढगाउँ–झ्यालबास खण्डमा पहिलो चरणमा हाल १४ दशमलव एक किलोमिटर सडक निर्माण अघि बढिरहेको छ । विसं २०७९ वैशाखमा सम्झौता भएर निर्माण सुरु गरिएको सो खण्ड विसं २०८१ कात्तिकमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । रु ३२ करोड २० लाखको लागतमा सडक निर्माण लामा गौरीशङ्कर जेभीले गरिरहेको छ ।
नालासहित कालोपत्र गर्ने योजनाका साथ काम चलिरहेको सो खण्डमा हाल सडक चौडा गर्ने काम सकिएको छ । नालासहित ११ मिटर चौडाइ रहने यस खण्डमा तीन किलोमिटरमा नाला निर्माण सकिएको इन्जिनियर घिमिरेले बताउनुभयो । उहाँका अनुसार नाला निर्माणसँगै ठाउँ–ठाउँमा ग्याविन भर्ने, सडक छेउमा पर्खाल निर्माण गर्ने काम जारी छ । सम्झौताको २१ महिना सकिएको र अब १० महिना बाँकी छ । सम्झौताको अवधिभित्रै काम सक्नेगरी लागिरहेको इन्जिनियर घिमिरेले बताउनुभयो । सडक चौडा पार्ने, ग्याविन भर्ने, छेउछाउमा पर्खाल लगाउनेजस्ता मुख्य काम धेरैजसो सकिएकाले बाँकी रहेको अवधिमा सबै काम सम्पन्न हुने उहाँको भनाइ छ । “प्रारम्भमा गर्नुपर्ने धेरै मुख्य काम सकिने चरणमा छन्, निर्माण नियमित सञ्चालन भए, सम्झौता अवधिमा नै सबै काम सम्पन्न हुन्छ”, उहाँले भन्नुभयो ।
नवलपुरको डेढगाउँबाट प्रारम्भ हुने सो सडक रुचाङ–झ्यालबास हुँदै चोरमारा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिन्छ । यसै खण्डमा दोस्रो चरणमा थप सात किलोमिटर सडक निर्माणको समेत अगाडि बढेको इन्जिनियर घिमिरेले बताउनुभयो । “पहिलो खण्डको १४ किलोमिटरपछि थप सात किलोमिटर सडक निर्माण अगाडि बढेको छ, चाँडै सम्झौता भएर अर्को खण्डको काम सुरु हुन्छ”, उहाँले भन्नुभयो ।
डेढगाउँबाट झ्यालबाससम्म करिब ४१ किलोमिटरमध्ये दोस्रो चरणको काम अघि बढेपछि २० किलोमिटरको काम बाँकी रहने उहाँले बताउनुभयो । गण्डकी प्रदेश सरकारको प्रदेश गौरवको योजना भएकाले क्रमशः सबै खण्डको काम अघि बढ्ने उहाँले बताउनुभयो । झ्यालबासबाट चोरमारासम्म नौ किलोमिटर सडक गत वर्ष निर्माण भइसकेको छ । चोरमारा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने यस सडक दुम्कीबासबाट त्रिवेणी पुर्याउने प्रदेश सकारको लक्ष्य छ । तर दुम्कीबास–त्रिवेणी खण्डमा भने चितवन राष्ट्रिय निकुञ्जका कारण कुनै काम अघि बढ्न सकेको छैन । सो सडक उत्तरतर्फ जिल्लाको डेढगाउँबाट तनहुँको मानपुर, भिमाद हुँदै खैरेनीटारमा गएर पृथ्वीराजमार्गमा जोडिन्छ ।
मुस्ताङको कोरलाबाट नवलपुरको त्रिवेणी जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग भएकाले गण्डकी प्रदेश सरकारले यस बाटोलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध