
नवलपरासी । नवलपुरका किसान मौरीपालनतर्फ आकर्षित भएका छन् । देवचुली नगरपालिका–७ का सुकबहादुर गुरुङको दैनिकी अहिले मौरीको स्याहारसुसार गर्दै बित्ने गरेको छ । १५ वर्षदेखि व्यावसायिक मौरीपालन गर्दै आउनुभएका गुरुङसँग एक सय २० मौरीका घार छन् ।
शुरुका वर्षमा थोरै सङ्ख्याबाट सुरु गरेको मौरीपालन व्यवसाय अहिले धेरै विस्तार भएको गुरुङले बताउनुभयो । वर्षामा खाना तथा परजीवीको अभाव हुँदा केही समस्या हुने भए पनि अन्य समयमा मौरीपालन गर्न सहज हुने उहाँको भनाइ थियो । “तालिम लिएपछि व्यावसायिक मौरीपालन गर्न सहज भएको छ”, गुरुङले भन्नुभयो, “हिजोआज उत्पादन भएको मह बिक्रीका लागि बजार पुग्नु पर्दैन, घरबाटै बिक्री हुने गरेको छ ।”
देवचुली नगरपालिका–९ का किसान विष्णुबहादुर खड्काले ५ घारबाट शुरु गर्नुभएको मौरीपालन अहिले २१ घार भएका छन् । बाख्रापालनसँगै मौरीपालन गर्दै आउनुभएका खड्काले पहिलोपटक ८४ किलो मह उत्पादन भएको भन्दै दोस्रोपटक एक क्विन्टल २० किलो उत्पादन भएको जानकारी दिनुभएको छ । “५ घारबाट थालेको मौरीपालन व्यवसायलाई थप वृद्धि गरी २१ पु¥याएको छु । आम्दानी पनि मनग्य भएको छ । अर्को वर्ष ५० घार बनाउने लक्ष्य रहेको छ”, उहाँले भन्नुभयो ।
देवचुली–९ का जस्मती रानाले मौरीपालन गर्न थालेको तीन वर्ष भयो । दुई घारबाट सुरु गर्नुभएको मौरीपालन अहिले १५ घारमा पुगेको रानाले बताउनुभयो । “मौरीपालनबाट राम्रो आम्दानी हुँदै गएकाले सन्तुष्ट छौँ । पहिलो वर्ष एक क्विन्टल र दोस्रो वर्ष दुई क्विन्टल मह बिक्री भयो”, उहाँले भन्नुभयो, “प्रतिकिलो ७ सय रुपैयाका मह बिक्री हुन्छ ।”
असार, साउनमा एकपटक चास्नी दिने र रानी उत्पादन गर्दा हेरविचार गरे पुग्ने भएकाले कम समय र मेहनतमा मौरीपालन गर्न सजिलो भएको रानाले बताउनुभयो । एउटा घारबाट वार्षिक ४० देखि ६० केजीसम्म मह उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो ।
थोरै लगानीबाट व्यवसाय शुरु गर्न सकिने र अन्य व्यवसायभन्दा सहज हुने भएपछि जिल्लामा मौरीपालनतर्फ किसानको आकर्षण बढ्दै गएको छ । नमा अहिले करिब २ सय किसान मौरीपालन व्यवसायमा आबद्ध रहेका नेपाल मौरीपालक किसान महासङ्घ नवलपुरका अध्यक्ष यदुवलपुरनाथ कँडेलले जानकारी दिनुभयो । “जिल्लामा पाँच हजार मौरीका घार छन् । बर्सेनि यो व्यवसायमा लाग्ने किसानको सङ्ख्या बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “जिल्लामा वार्षिक करिब ५० मेट्रिक टन मह उत्पादन हुने गरेको छ ।”
यो वर्ष जिल्लामा मौरीपालक किसानको सङ्ख्या बढेकाले मह उत्पादन पनि वृद्धि हुने अनुमान गरिएको कँडेलले बताउनुभयो । उत्पादित मह स्थानीय बजारका साथै छिमेकी जिल्लामा खपत हुने गरेको उहाँले बताउनुभयो ।
नवलपुरक८ स्थानीय तहमध्ये कावासोती, देवचुली र गैँडाकोट नगरपालिकामा व्यावसायिक मौरीपालन गर्ने किसानको सङ्ख्या धेरै रहेको अध्यक्ष कँडेलले जानकारी दिनुभयो । मौरीपालनबाट पर्याप्त आम्दानी लिन सकिने भए पनि चरनको समस्या रहेको उहाँको भनाई छ । “स्थानीय रूपमा चरनको समस्या हुँदा विभिन्न ठाउँमा लैजानुपर्ने बाध्यता छ । दाङ, कपिलवस्तु, प्यूठान, सल्यानसम्म मौरी चराउन लैजाने गरिएको छ”, कँडेलले भन्नुभयो । तोरी फुल्ने समयमा केही सहज भए पनि अन्य याममा चरनका लागि समस्या हुने गरेको उहाँले बताउनुभयो ।
फूल तथा बोटबिरुवा लगाउने क्रम घट्दै जाँदा चरन क्षेत्र साँघुरिँदै गएको अध्यक्ष कँडेलको भनाई छ । रुदिलो, फापर, फिलिङ्गे, सिलाम, सूर्यमुखी, चिउरीलगायत बोटबिरुवा मौरी चरनका लागि उपयुक्त हुने भए पनि कतिपय बोटबिरुवा पाउनै छाडेको किसान बताउँछन् । किसानले फूल खेती गर्न छाडेकाले मौरीपालक किसानलाई समस्या हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध