
काठमाडौँ । कवि, उपन्यासकार तथा निबन्धकार धर्तीचन्द्र यात्रीकृत ‘जंगलमा ३३ वर्ष’ पुस्तकको परिचर्चा गरिएको छ । डा ठाकुरनाथ पन्त स्मृति गुठीद्वारा काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय भृकुटीमण्डपमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार तथा वन तथा पर्यावरणका क्षेत्रका वरिष्ठ संरक्षकहरुले कृतिको समीक्षा गर्नुभयो ।
वरिष्ठ साहित्यकार शैलेन्द्र साकारले वन तथा निकुञ्ज क्षेत्रमा रही राष्ट्रसेवा गरिरहनुभएका यात्रीले नेपालको वन, वन्यजन्तु र निकुञ्जसहितको तथ्य, तथ्याङ्क र सूचनासहितको कृति प्रकाशित गरी योगदान पुर्याउनुभएको बताउनुभयो ।
वरिष्ठ लेखक युयुत्सु आरडी शर्माले नेपालको वन्यजङ्गल, वन्यजन्तु र वनस्पतिको संरक्षण क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका यात्रीको पुस्तक वन्यजन्तुबारे जानकारी प्राप्त गर्ने महत्वपूर्ण दस्तावेज भएको प्रतिक्रिया दिनुभयो । वरिष्ठ साहित्यकार श्यामप्रसाद रिमालले अघिल्लो वर्ष फागुनमा प्रकाशन र विमोचन भएको कृतिबारे नौ महिनासम्म चर्चा परिचर्चा हुन सुखद पक्ष भएको बताउनुभयो ।
साहित्यकार सविना सिन्धुले यातायात र सूचनाको अभाव रहेका बेलामा बोटविरुवा र वन्यजन्तुको संरक्षणका सन्दर्भमा गर्नुपरेको सङ्घर्ष र भोगाइसहितका पर्यावरण संरक्षणसम्बन्धी तथ्यगत सूचना प्रकाशित गरी यात्रीले राज्यलाई ठूलो सहयोग गर्नुभएको बताउनुभयो ।
पर्यावरणविद् रोशन शेरचनले पुस्तक पढिरहँदा आफू वन र वन्यजन्तुसँगै रहेको भान हुने मात्र नभई त्यस क्षेत्रमा रहँदा भोग्न परेको दुःख कष्ट, उकाली(ओरालीका कथा व्यथा समेटिएको विचार प्रकट गर्नुभयो । काठमाडौँ फरेष्ट्री कलेजका उपप्राचार्य डा हिमलाल श्रेष्ठले वन र पर्यावरणबारे धेरै सूचनाको खानी रहेको पुस्तकमा यस क्षेत्रको अध्ययन गर्न चाहनेलाई ठूलो खुराक भएको बताउनुभयो । पुस्तकमा बाँदर र पानीको अनुसन्धान, जहाज दुर्घटना र भूकम्पको त्रासदीमा रहन पर्दाका क्षण, स्थान, विषय र प्रसङ्ग उल्लेख रहेको उहाँले बताउनुभयो ।
साहित्यकार प्रकाश सिल्वालले जागिरे जीवनको उतारचढावसँगै जङ्गल, पर्यावरण र निकुञ्जको रक्षामा केन्द्रित पुस्तकमा एउटा सूचना संवाहक पत्रकारको कार्य जिम्मेवारी जस्तै पर्यावरण संरक्षणका क्षेत्रमा गरिएका कार्यसम्बन्धी मिति, तथ्य तथ्याङ्क सूचना समेटिएको धारणा राख्नुभयो । गुठीका संरक्षक सुष्मा पाण्डे र साहित्यकार उत्तम विचार भेटवालले गुठीले समाज सेवा र साहित्य क्षेत्रमा प्रकाशित पुस्तकको श्रीवृद्धिका लागि सहयोग पुर्याउँदै आएको बताउनुभयो ।
पुस्तकका लेखक यात्रीले राष्ट्र सेवाका सन्दर्भमा लामटाङ, डोल्पा र बर्दिया क्षेत्रमा रहँदा वन क्षेत्रको विकास र विस्तारका लागि गरिएका प्रयास, भोग्नुपरेका समस्या र त्यससम्बन्धी तथ्य तथ्याङ्क समेटेर पुस्तक प्रकाशित गरेको जानकारी दिनुभयो । पुस्तक छिट्टै अङ्ग्रेजीमा प्रकाशित हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध