
काभ्रेपलाञ्चोक। गत साताको अविरल वर्षामा बाढीपहिरोले काभ्रेपलाञ्चोकमा जनधनको ठूलो क्षति भएपछि राहत रकम उपलब्ध गराउन टोली परिचालन गरिएको छ । हाल जिल्लाका पाँच स्थानीय तहमा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई सङ्घीय सरकारद्वारा घोषित राहत रकम उपलब्ध गराउन टोली परिचालन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयबाट सबैभन्दा बढी मृतक सङ्ख्या रहेको पनौती नगरपालिका, बेथानचोक गाउँपालिका, रोशी गाउँपालिका, नमोबुद्ध नगरपालिका र मण्डनदेउपुर नगरपालिका गरी पाँच स्थानीय तहमा टोली खटिएको हो । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक उमेशकुमार ढकालसहितको टोलीले सुरुमा बनेपा र पनौतीका एक÷एक परिवारलाई राहत रकम उपलब्ध गराएको थियो ।
काभ्रेपलाञ्चोकमा पीडित परिवारलाई स्थानीयस्तरमै राहत दिन टोली खटाइएको ढकालले बताउनुभयो । उहाँका अनुसार पीडित परिवारलाई दुःख नदिने उद्देश्यका साथ सकेसम्म मृतकका घरमै पुग्ने र कठिन अवस्थामा वडा कार्यालयसम्म पुगेर भए पनि राहत रकम प्रदान गर्ने गरी टोली परिचालित गरिएको हो ।
सडक अवरुद्ध भएका कारण तेमाल गाउँपालिकामा खटाइएको टोली वैकल्पिक बाटोको खोजीमा रहेको जनाइएको छ । “स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर छिट्टै टोली पुग्नेछ”, सहायक प्रमुख जिल्ला अधिकारी सुवास पोडेलले भन्नुभयो । मृतक प्रति व्यक्तिले संघीय सरकारबाट रु दुई लाख नगद राहत पाउनेछन् । परिवारमा एकभन्दा बढी मृतकको हकमा रु दुई लाखमा रु एक लाख थपिने जनाइएको छ ।
गत साताको बाढीपहिरो र डुबानबाट अतिप्रभावित तीन दर्जनभन्दा बढी स्थानीय तहलाई राहत तथा पुनःनिर्माणलाई प्राथमिकता दिन सरकारले शुक्रबार ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सरकारले तीन महिनाका सङ्कटग्रस्त क्षेत्र घोषणा गरेमध्ये जिल्लाका रोशी, तेमाल, बेथानचोक, चौंरीदेउराली र महाभारत गाउँपालिका तथा पनौती, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका छन् ।
जिल्लाका १३ स्थानीय तहमध्ये पाँचखाल नगर, महाभारत र खानीखोला गाउँपालिकाबाहेक १० तहमा पछिल्लो विवरणअनुसार बाढीपहिरोमा परी ७२ जनाले ज्यान गुमाएका छन् । पाँच जना अझै बेपत्ता रहेको तथा ७५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतकमध्ये पनौतीमा एक विदेशी नागरिक तथा रोशी गाउँपालिकामा एक रामेछापकी महिलाको मृत्यु भएको हो । घटनामा हालसम्म ३१ महिला, २५ पुरुष, आठ बालक र छ बालिकाको मृत्यु भएको छ । बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारका लागि जिल्लास्थित स्थानीय तहले समेत राहत रकम घोषणा गरेका छन् । बाढीपहिरोले सयौँ परिवार घरबारविहीन भएका छन् । क्षतिग्रस्त भएका विभिन्न सडकमा यातायात सेवा अझै अवरुद्ध छ भने प्रभावित क्षेत्र विद्युत् र सञ्चारविहीन अवस्थामा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने