
गोरखा । शहीद लखन गाउँपालिका–१ बक्राङस्थित श्री थानीमाई आधारभूत विद्यालयमा गएको दुई वर्षअघिसम्म मगर भाषाको पढाइ हुन्थ्यो ।
मगर भाषाको संरक्षण र सम्वर्द्धन गर्न स्थानीय मगर समुदायको पहलमा पुस्तान्तरणको उद्देश्यले विद्यालयमा मातृ भाषामा पठनपाठन हुन्थ्यो । करिब १० वर्षसम्म मगर भाषाको कक्षा सञ्चालन भएकामा अहिले भने पठनपाठन रोकिएको छ । यस क्षेत्रमा बक्राङको लोपा गाउँ, गालधूप, पीपलछाँप गैरीटोललगायत मगर समुदायको बाहुल्यता छ ।
यहाँका मगर समुदायका अभिभावकमध्ये करिब ८० प्रतिशतले मगर भाषा राम्रोसँग जानेका छन् । आफ्नो मातृभाषा पछिल्लो पुस्तालाई सिकाउन छोडेपछि मगर भाषा विस्तारै लोप हुँदै गएको स्थानीय वेदबहादुर थापामगरले बताउनुभयो ।
विद्यालयमा कक्षा सञ्चालन गर्दा अभिभावक र विद्यार्थीले रुचि नदेखाएपछि निरन्तरता दिन नसकिएको विद्यालयका प्रधानाध्यापकसमेत रहनुभएका थापामगरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘विद्यालयमा करिब ६० प्रतिशत मगर समुदायका बालबालिका पढ्छन्, अहिले अधिकांशलाई मगर भाषा बोल्न र लेख्न आउँदैन ।’
बालबालिकाको भविष्यका लागि मातृभाषाभन्दा पनि अङ्ग्रेजी राम्रो हुनुपर्छ भन्ने सोचले मातृभाषा सिकाउनेतर्फ कसैले ध्यान नदिएका प्रअ थापामगरले बताउनुभयो । ‘मातृभाषा सिकाउनुपर्छ भन्दा सबैले मातृभाषाले केही गर्दैन बरु अङ्ग्रेजी राम्रो भए देशविदेशमा गएर काम गर्न सक्छन् भनेर प्रतिक्रिया दिने गर्नुहुन्छ । हामीले चाहेर मात्र नहुने रहेछ’ उहाँले भन्नुभयो ।
घरमा बुवाआमाले बोल्ने, छोराछोरीलाई नसिकाउने गरेकाले पछिल्लो पुस्ताले भाषा बुझ्न र बोल्न छोडेको मगर समुदायका अगुवा बताउँछन् । अहिले आफ्नो भाषा, संस्कृति र पहिचानलाई जर्गेना गर्नुपर्नेमा मगरसङ्घ गोरखाका सदस्य वीरेन्द्र थापामगरले जोड दिनुभयो । ‘मातृभाषाभन्दा अन्य भाषा सिकाएर विदेश पठाउने अभिलाषामा अभिभावक देखिन्छन्’ उहाँले भन्नुभयो– ‘विदेशी हाम्रो भाषा संस्कृति हेर्न, अध्ययन गर्न आउँछन्, हामी भने हाम्रो भाषा संस्कृति भुल्दै गएका छौँ ।’
पुस्ता हस्तारन्तरण नहुँदा भाषा तथा संस्कृति लोप हुँदै गएको जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापामगरले बताउनुभयो । घरमा अभिभावकले जानेपछि छोराछोरीलाई नसिकाउने, नेपाली भाषा कुराकानी गरिदिने, मातृभाषा बोल्न प्रत्साहन नगर्ने प्रवृत्तिले भाषासँगै संस्कृति लोप हुँदै गएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो– ‘यसलाई लोप हुन नदिन मगर समुदाय बढी सचेत हुनु आवश्यक छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध