
पाल्पा । बाँदर आतङ्कले सताएपछि पाल्पाका वन उपभोक्ताले सरकारसँग भरुवा बन्दुक राख्न पाउनुपर्ने माग गरेका छन् । स्थानीयले लगाएको खेती बाँदरले नष्ट पार्नुका साथै मानिसलाई आक्रमण गर्न थालेको भन्दै सुरक्षाका लागि भरुवा बन्दुक राख्न पाउनुपर्ने माग गरेका हुन् ।
जिल्लास्थित डिभिजन वन कार्यालयले आयोजना गरेको कार्यक्रमका सहभागी उपभोक्ताले बाँदरका कारण गाउँमा असुरक्षा बढेको र खाद्यन्न समेत नष्ट भएको भन्दै भरुवा बन्दुक राख्न स्वीकृत दिनुपर्ने माग गरेका छन् ।
स्थानीयले गाउँका सबै मिलेर बाँदर धपाउन विभिन्न उपाय खोजे पनि त्यो सम्भव नरहेकाले विकल्पका रूपमा भरुवा बन्दुक राख्न पाउनुपर्ने अनुमति सरकारले दिनुपर्ने बगनासकाली गाउँपालिकाकी सरस्वती बस्यालले बताउनुभयो ।
अधिकांश जग्गा बाँझो हुँदै जाँदा बाँदरको आहारमा कमी भएपछि घरघर पसेर अन्नबाली खाइदिने, केटाकेटीलाई आक्रमण गर्ने भएकाले सुरक्षाका लागि भरुवा बन्दुक राख्न पाउनुपर्ने माग गरिएको उहाँको भनाइ छ । बाँदर मांसहारी भए पनि अहिले आहार नहुँदा घरपालुवा कुखुरा, परेवालगायत पशुपन्छी खाइदिन थालेको भन्दै आक्रमक बनेकाले बाँदर आतङ्क नियन्त्रणका लागि सरकारले कडा कानुन बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
बस्यालले गाउँमा पाकेका मकैका घोगा देख्न छाडिसके, फलफूल तरकारी सबै बाँदर र बँदेलले खाएर नष्ट गरेका बताउनुभयो । ‘काखका साना छोराछोरीलाई घरमा छोडेर काममा जान डर हुन थाल्यो । बाँदर घरमा आएर अँगेना र चुलाको छेउमा खानेकुरा खोज्न थाल्छन् । मानिसलाई हातमुख जोड्न मात्रै नभएर जीवन जोगाउनै गाह्रो हुन थालेको छ’ उहाँले भन्नुभयो ।
भूपति भट्टराईले हिउँद र वर्षाका बेला पाक्न लागेको बाली जोगाउन बारीमा पहरा दिए पनि जोगाउन मुस्किल परेको बताउनुभयो । अन्न खान आएको बाँदरलाई धपाउँदा उल्टै मान्छेतिर जाइलाग्ने र आक्रमण गर्ने गरेको उहाँले सुनाउनुभयो ।
भट्टराईले भन्नुभयो– ‘बाँदरले बाली मात्र नभएर मानिसलाई आक्रमण गर्न थाल्यो, अब बाँदर नियन्त्रण गर्न सकिएन भने गाउँ सबै खाली हुने अवस्था आयो । सरकारले अब भरुवा बन्दुक राख्न नदिने हो भने अवस्था थप जटिल हुँदै जाने निश्चित छ ।’ उहाँले अब बाली जोगाउने कि मान्छे रु भन्ने अवस्थामा पुगेको बताउनुभयो ।
सामुदायिक वन महासङ्घ तानसेन नगरकी अध्यक्ष भवानी गौतमले बाँदर नियन्त्रण चुनौतीका रूपमा रहेकाले नियन्त्रण गर्न ऐन, नियम बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महासङ्घकोतर्फबाट सरकारलाई पटकपटक यस विषयमा ध्यानाकर्षण गराउँदै आइएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले मानिसले बाँदर हैन, बाँदरले मानिस धपाउन थालेका बताउनुभयो । उहाँले जिल्लामा बाँदरका कारण देखापरेका समस्या र ग्रामीण क्षेत्रका जनताले पाएको सास्तीका विषयमा सरोकार भएका निकायसँग छलफल गरी समाधान खोजिने उल्लेख गर्नुभयो ।
प्रजिअ सुवेदीले भन्नुभयो– ‘बाँदर आतङ्कले गर्दा समस्या आएको छ । अहिले मान्छेले बाँदर धपाउनेभन्दा पनि बाँदरको बथानले घर घेरेपछि, मान्छे घर छोडेर बाहिर बस्नुपर्ने अवस्था आएको छ ।’ उहाँले गाउँगाउँबाट बाँदरले दुःख दिएको भन्दै गुनासो आउने गरेको उहाँले सुनाउनुभयो ।
‘मलाई गत साता एउटा फोन आयो, हाम्रो टोलका घरमा बाँदरको हुल पस्यो, हामी घर छोडेर बाहिर नजिकैको बारीमा बसिरहेका छौँ, तुरुन्तै सुरक्षा दिनुपर्ने भो, अनि मैले तत्काल प्रहरी पठाए र बाँदर भाँगे’ प्रजिअ सुवेदीले भन्नुभयो, अहिले बाँदरले दिएको सास्तीले मानिसलाई घर छोडेर भाग्नुपर्ने अवस्था आएको छ ।’
डिभिजन वन प्रमुख नारायणदेव भट्टराईले सरकारले कृषि हानिकारक वन्यजन्तु घोषणा गरेकाले अब खेतबारीबाट लखेट्दा रातो बाँदर र बँदेल मरे किसानलाई कानुनी कारबाही नहुने बताउनुभयो ।
‘लगाएको बालीमा क्षति गरिदिने हुनाले बाँदर र बँदेललाई कृषि हानिकारक जीव घोषणा गरिएको हो’ भट्टराईले भन्नुभयो– ‘खेतबारीमा आएका बेला लखेट्ने क्रममा बाँदर वा बँदेल मरिहाल्यो भने अब किसानलाई कानुन लाग्दैन ।’ बाँदरले बालीनाली वा धनजनको हानिनोक्सानी पु¥याए किसानले एक्लै वा सामूहिक रूपमा धपाउन, लखेट्न वा पक्रनसक्ने उहाँले बताउनुभयो ।
बाँदर वा बँदेल धपाउने, लेखेट्ने वा पक्रने क्रममा मरे सम्बन्धित वडा कार्यालयमा जानकारी दिनुपर्ने भट्टराईले बताउनुभयो ।
मरेको बँदेल तौलका आधारमा पञ्चकीर्ति मूल्य तोकी रकम राजस्वमा दाखिला गरेर सम्बन्धित स्थानीय तहको सम्बन्धित वडाभित्र व्यापारिक प्रयोजनबाहेकमा उपयोग गर्न सकिने उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग