
नवलपुर । नवलपुरको कावासोती–१५, मा रहेको थारू सङ्ग्रहालय पर्यटकीय केन्द्र बन्दै गएको छ ।
आदिवासी तथा थारू समुदायले प्रयोग गर्ने सामग्री तथा वेशभूषा अवलोकनका लागि यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको सङ्ग्रहालय व्यवस्थापन समितिका अध्यक्ष इनरप्रसाद महतोले बताउनुभयो ।
अमलटारी घरबास नजिकै रहेको थारू सङ्ग्रहालयमा यहाँका थारू, बोटे, माझी, मुसहर समुदायले परापूर्वकालदेखि प्रयोग गर्दै आएका विभिन्न सामग्री तथा वेशभूषा झल्किने सामग्री राखिएका छन् । यी समुदायले विगतमा प्रयोग गरेको कतिपय सामग्री लोप भइसकेका छन्, त्यस्ता सामग्री समेत सङ्ग्रहालयमा राखिएका छन् । आदिवासी थारू जातिका कलासंस्कृति झल्कने वेशभूषा, गरगहना, उनीहरूले प्रयोग गर्ने विभिन्न कृषि उपकरण पनि यहाँ सङ्ग्रह गरिएका छन् । यस्तै, चाँदीका गहना, पैसा, काठका चप्पल, माटाका भाँडा, ढकिया, गुन्द्री, जोत्न र खन्नलाई प्रयोग गरिने औजारसहितका सामाग्री सङ्ग्र्रहालयमा रहेको अध्यक्ष महतोले बताउनुभयो ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र समेत भएकाले यहाँ वन्यजन्तु अवलोकनका लागि आउने पर्यटक पनि सङ्ग्रहालय अवलोकनका लागि आउने गरेका छन् । थारू, माझी, मुसहर, बोटे समुदायको संस्कृति तथा परम्परा बुझ्न सङ्ग्रहालयले सहयोग पुग्ने हुँदा यसमा रुचि हुनेहरू अवलोकनका लागि आउने गरेको समितिका अध्यक्ष महतोले बताउनुभयो । ‘यहाँ आएपछि थारू समुदायका रहनसहन कस्तो हुन्छ, पहिरन के हुन्छन्, घरमा के कस्ता सामग्री हुन्छन्, सबै अवलोकन गर्न पाइन्छ, यस कारण पर्यटक यहाँ आउने क्रम बढेको छ’ उहाँले भन्नुभयो ।
विसं २०६६ मा चन्दा सङ्कलन गरी स्थापना गरिएको सङ्ग्रहालय लामो समयसम्म ओझेलमा परेको थियो । यहाँ घरबास स्थापना भएपछि पर्यटकीय गतिविधिमा वृद्धि हुँदा आदिवासी थारू सङ्ग्रहालयमा अवलोकनमा सहयोग पुगेको छ । सुरुमा यहाँ निःशुल्क प्रवेशको व्यवस्था थियो । पछिल्लो ६ महिनादेखि स्वदेशी पर्यटकका लागि प्रतिव्यक्ति २५ र विदेशीका लागि प्रतिव्यक्ति १ सय रुपैयाँ शुल्क लिने गरिएको छ । सङ्ग्रहालयको व्यवस्थापनका लागि शुल्क लिने गरिएको समितिले जनाएको छ ।
शुल्क लिन थालेपछि यहाँ अवलोकनका लागि आउने पर्यटकको अभिलेख राख्न सहज भएको समितिका अध्यक्ष महतोले बताउनुभयो । शुल्क लिन थालेको छ महिनाको अवधिमा स्वदेशी तथा विदेशी गरी करिब चार हजार जनाले सङ्ग्रहालय अवलोकन गरेको अभिलेख छ । गाउँमा प्रयोगमा नआएका सामग्रीलाई त्यसै फाल्नुभन्दा सङ्ग्रहालयमा उपलब्ध गराउन गाउँका बासिन्दालाई आग्रह गरेर सामग्री सङ्कलन गरिएको हो ।
केही सामान भने खरिद गरिएको र केही आफैँ निर्माण गरेर राखिएको महतोले जानकारी दिनुभयो । सङ्ग्रहालयले यहाँको पर्यटकीय गतिविधिमा टेवा पुगेको नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले बताउनुभयो । अमलटारी क्षेत्रमा आउँदा वन्यजन्तु अवलोकन मात्र नभएर यहाँका आदिवासीको रहनसहन, कलासंस्कृतिको समेत अवलोकन गर्न सकिने उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- उपराष्ट्रपति यादव र भियतनामकी समकक्षी सुआनबीच भेटवार्ता
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ