+

भिजिट भिसा प्रकरणमा ७ अध्यागमन अधिकृत फरार सूचीमा

काठमाडौँ । नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर विदेश पठाउने धन्दामा संलग्न रहेको आरोप लागेका सात जना अध्यागमन कार्यालयका अधिकृत फरार रहेका छन् । 

प्रहरी अनुसन्धानबाट नक्कली कागजात बनाउने गिरोहसँग मिलेर उनीहरूले प्रतिव्यक्ति ४० हजारदेखि माथि रकम लिएर अध्यागमन पास गराउने गरेको रहस्य खुलेको छ । नक्कली कागजातका आधारमा भिजिट भिसामा जानेहरूमाथि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत मंसिरमा अपरेसन चलाएको थियो ।

अपरेसनका क्रममा घुस लिँदालिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । गत मंसिर २६ गते पक्राउ परेका उनीमाथि अनुसन्धान गर्दै जाँदा अन्य कर्मचारीको समेत संलग्नता खुलेको हो ।

प्रहरीले नक्कली कागजात बनाएर पठाउने गिरोहमाथि संगठित अपराध मुद्दामा अनुसन्धान गरेर आइतबार प्रतिवेदन सरकारी वकिलको कार्यालय बुझाएको छ ।

प्रहरीले बुझाएको प्रतिवेदनमा खड्काको बयानका आधारमा थप सातजना अध्यागमनका अधिकृतको समेत संलग्नता खुलेको काठमाडौँ प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूलाई पक्राउ नै नगरी प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन पेस गरेको छ ।

प्रहरीका अनुसार फरार रहेका अध्यागमन अधिकृतहरूमा शैलेन्द्र ढकाल, विष्णु अर्याल, पीताम्बर रिमाल, कुशल बराल, विमल पौडेल, विकास डंगोल र सुजन फागो लिम्बु रहेका छन् ।

पक्राउ पुर्जीसमेत जारी भइसकेका उनिहरुलाई प्रहरीले पक्राउ नै गर्न नसकेपछि फरार प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन वकिल कार्यालय बुझाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै