
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल औषधि लिमिटेडबाट औषधि उत्पादनका निम्ति भएका प्रयासको सराहना गर्दै २० प्रकारका औषधि उत्पादनको काम तत्काल थाल्न निर्देशन दिनुभएको छ।
नेपाल औषधि लिमिटेडका अध्यक्ष यज्ञ न्यौपानेसहितको टोलीलाई आज आफ्नै कार्यकक्षमा बोलाएर प्रधानमन्त्रीले तत्काल उत्पादन थाल्न निर्देशन दिनुभएको हो ।
त्यस अवसरमा प्रधानमन्त्रीले विगतमा नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका क्षेत्रमा राम्रो काम गरेको र पछिल्लोसमय त्यसमा अवरोध देखिएको भन्दै नयाँ ढङ्गले काम अगाडि बढाउन निर्देशन दिनुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो, “विगतमा नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका क्षेत्रमा राम्रो काम गरेको थियो, बीचमा चाहिँ तलमाथि भएको मैले बुझेँ । औषधि उत्पादनको कामलाई नयाँ ढङ्गले गति दिनुपर्छ भनेर नै मैले यो बैठक बोलाएको हुँ । तपाईहरू काम सुरू गर्नुस् सरकारको तर्फबाट जे–जस्तो सहयोग गर्नुपर्छ, त्यसका निम्ति म तयार छु ।”
प्रधानमन्त्रीले अहिले २० वटा औषधि उत्पादनबाट काम सुरू गरेर भविष्यमा त्यसको गुण र मात्रा दुवै बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “देश आत्मनिर्भर बन्ने आशालाग्दो एउटा क्षेत्र यो पनि हो । सबै कुरा एकैपटक नहोला। तपाईहरू काम सुरू गर्नुस्। म पनि अर्थ मन्त्रालय र उद्योग मन्त्रालयसँग थप छलफल गर्छु । यस क्षेत्रमा जनतालाई महसुस हुनेगरी काम गरौँ ।”
औषधि लिमिटेडका अध्यक्ष न्यौपानेले हाल १० प्रकारका औषधिहरू उत्पादन भइरहेको र तत्काल २० प्रकारका औषधि उत्पादनका लागि आवश्यक गृहकार्य जारी रहेको जानकारी दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
अध्यक्ष न्यौपानेले औषधि लिमिटेडले भुक्तानी गर्नुपर्ने विगतको दायित्वका कारण काम प्रभावकारी हुन नसकेको बताउँदै केही प्राविधिक जनशक्तिको व्यवस्था, मेसिनहरूको गुणस्तर वृद्धि र केही नयाँ मेसिन खरिद गरी उत्पादनलाई व्यवस्थित तुल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै