
ताप्लेजुङ । पाथीभरा (मुकुमलुङ)मा निर्माण हुन लागेको पाथीभरा केबलकार आयोजना सहज रुपमा अघि बढाउने वातावरण निर्माणका लागि निजी क्षेत्रका प्रतिनिधिहरुले माग गरेका छन् । पाथीभरा मुकुम्लुङ केबलकार निर्माणका सम्बन्धमा साझा धारणा बनाउन र निर्माणलाई सहजरुपमा अघि बढाउन सम्वद्ध क्षेत्र तथा निकायसमक्ष उनीहरुले माग गरेका हुन् ।
ताप्लेजुङ उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी सङ्घ, निर्माण व्यवसायी सङ्घले बिहीबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै पाथीभरामा केबलकार निर्माणका लागि सम्द्धव सरोकारवाला निकाय एवं स्थानीय तथा प्रदेश सरकारसमक्ष सहजीकरणका लागि आग्रह गरेका छन् । ‘ताप्लेजुङमा स्थापित पाथीभरा मुकुम्लुङ सबैको साझा आस्थाको धरोहर हो । सबै धर्म र जातजातिको आस्थाको केन्द्रका रुपमा रहेको यस शक्तिपीठमा नेपालको मात्र नभएर छिमेकी मुलुक भारत तथा विभिन्न मुलुकबाट समेत दर्शन तथा पूजाका लागि आउने गरेको तथ्य हामी सबैमा सर्वविधितै छ’ विज्ञप्तिमा भनिएको छ– ‘ केही वर्षदेखि पाथीभरा मुकुम्लुङको धार्मिक पर्यटनमार्फत ताप्लेजुङको अर्थतन्त्र चलायमान भएको हामीले प्रत्यक्ष रुपमा अनुभूत गरेका छौँ । अहिले त्यस क्षेत्रमा वर्षेनी करिब तीन लाख भक्तजन आउने गरेका छन् ।’
निजी क्षेत्रले पर्यटकको सङ्ख्यामा गुणात्मक वृद्धि गरी ताप्लेजुङमा व्यावसायिक अवसरहरुको सिर्जना गर्नु अत्यन्तै जरुरी भएको उल्लेख गरेको छ । ताप्लेजुङमा केबलकार सञ्चालनमा आएपछि जिल्लाको अर्थतन्त्र चलायमान हुने र रोजगारी लगायतका विभिन्न अवसर सिर्जना हुनेछ यहाँका निजी क्षेत्रको भनाइ छ ।
केबुलकारमार्फत जिल्लामा लगानी भित्रने उल्लेख गर्दै निजी क्षेत्रले अर्बौं रुपैयाँको लगानीमा निर्माण हुन लागेको पाथीभरा मुकुमलुङ केबलकारमार्फत जिल्लाको आर्थिक विकासमा ठूलो योगदान हुनेमा विश्वास व्यक्त गरेका छन् । केबलकारबाट स्थानीयस्तरमा रोजगारी तथा स्वरोजगारीको सिर्जना हुने, जिल्लाको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने र अन्य पर्यटकीय गन्तव्यको विकास र प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।
यस्ता गौरवका योजनामा सबैपक्ष जिम्मेवार भई सहजीकरण गर्नुपर्ने र शान्तिसुरक्षाको प्रत्याभूतिसहित वार्ता तथा संवादका माध्यमबाट राज्यकोतर्फबाट लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने निजी क्षेत्रको धारणा छ । निजी क्षेत्रले पाथीभरामा केबलकार निर्माणको वातावरण बनाई समृद्ध ताप्लेजुङको सम्भावनामा एउटा इँटा थप्न जिल्लाका प्रतिनिधिमूलक संस्थाका तर्फबाट अपिल गरेको छ ।
यसअघि ताप्लेजुङको जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाको संयोजकत्वमा वार्ता गरी सहजीकरण गर्न एक समिति गठन भएको थियो । उहाँले यस आयोजनाबाट स्थानीय नागरिकले प्रत्यक्ष लाभ लिनसक्ने भएकाले स्थानीयसँग समझदारी जुटाएर अघि बढ्नुपर्ने जोड दिँदै आउनुभएको छ । फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले पनि केबलकार परियोजना निर्माण जिल्लावासीको हितमा रहेको बताउनुभएको छ । उहाँले मुलुकका धेरै क्षेत्रतिर अहिले धमाधम पर्यटन पूर्वाधार निर्माण भइरहेकाले मुलुककै प्रसिद्ध धार्मिक पर्यटकीयस्थलमा केबलकार बन्न लागेको काममा सहयोग गरी अगाडि बढ्नुपर्ने बताउनुहुन्छ ।
केबलकार निर्माणले ताप्लेजुङ मात्र नभएर छिमेकी पाँचथर, इलाम जिल्लाको पनि उन्नति हुने तथा प्रसिद्ध कञ्चनजङ्घा जाने पदयात्रीको पनि बाटो छोटो हुने भएकाले आन्तरिक धार्मिकका अतिरिक्त विदेशी पर्यटक ल्याउन सहयोग पुग्ने स्थानीयको भनाइ छ ।
केबलकार निर्माणपछि विदेशी पर्यटकका लागि कञ्चनजङ्घाको पदमार्ग थप सजिलो हुनुका साथै भारतका पश्चिम बङ्गाल, दिल्ली र विहारलगायत क्षेत्रबाट पर्यटक भित्र्याउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री