
चितवन । चितवनमा ७५ करोड रुपैयाँ मूल्य बराबरको दूध र घ्यू गोदाममा थन्किएको छ ।
भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेका चितवन मिल्क उद्योग गत माघ २२ गतेदेखि बन्द छ । प्रशोधन गरिएको नौनी घ्यू (बटर) र धुलो दूध बिक्री नभएर भण्डारण गर्ने ठाउँ नभएपछि उद्योग बन्द भएको हो ।
उद्योगले डेरी, सहकारी र व्यावसायिक फर्महरुको दूध भाडामा प्रशोधन गर्ने गरेको थियो । पछिल्लो समय दूध ल्याएका संस्थाले प्रशोधित दुग्धजन्य पदार्थ बिक्री नभएर लैजान छोडेपछि भण्डारमा थन्किएको उद्योगका प्रबन्धक दुर्गा पराजुलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार ७५ करोड रुपैयाँ भन्दा बढीको प्रशोधन गरिएका नौनी र धुलो दूध भण्डारणमा थन्किएको छ । पाँच सय टन नौनी घ्यू भण्डारणमा रहेको भन्दै उहाँले उद्योगमा तीन सय र ५०÷५० टनका तीन वटा कोल्डस्टोर तथा तिनका चार प्यासेज घ्यूले भरिएका जानकारी दिनुभयो ।
‘उद्योगले १५ किलोको घ्यूका प्याकेट निर्माण गर्ने गर्दछ । तिनलाई चाङ लगाएर कोल्डस्टोरमा राखिएको छ’ प्रबन्धक दुर्गा पराजुलीले भन्नुभयो– ‘घ्यू कोल्डस्टोरमा माइनस २० डिग्री सेन्टिग्रेट तापक्रममा राख्नुपर्ने हुन्छ । विद्युत् आपूर्ति नहुँदा जेनेरेटर चलाउनुपरेको छ ।’
उद्योग बन्द भएपनि करिब १६ लाखको बिजुली र १० लाख रुपैयाँ हाराहारीको डिजेल खर्च हुने गरेको उहाँले जानकारी दिनुभयो । योसँगै उद्योग सञ्चालन हुँदा ४० लाख हाराहारीको भुस प्रयोग हुने गरेको उहाँको भनाई छ ।
प्रशोधन गरिएको घ्यू रु सात सय हाराहारी प्रतिकिलोमा बिक्री हुने गरेको छ । ठाउँ अनुसार प्रशोधन गरेका संस्थाले दररेट तय गर्ने गर्दछन् । यस हिसाबले पनि ४० करोड रुपैयाँ भन्दा बढीको घ्यू भण्डारणमा रहेको पराजुलीले बताउनुभयो । उहाँका अनुसार २० हजार बोरा पाउडर दूध भण्डारण गरेर राखिएको छ ।
‘एक बोरामा २५ किलो हुन्छ । दूध प्रतिकिलो बजारमा रु सात सय हाराहारीमा बिक्री हुने गरेको छ । खुद्रा बिक्री हुँदा दररेट संस्थाले केही बढी तय गर्ने गरेका छन् । यसरी हेर्दा ३५ करोड रुपैयाँ भन्दा बढीको पाउडर दूध भण्डारणमा छ’ उद्योगका प्रबन्धक पराजुलीले भन्नुभयो । उहाँका अनुसार प्रशोधित दूध बिक्री नहुँदा किसानले भुक्तानी पाएका छैनन् भने उद्योगले प्रशोधन शुल्क पाउन सकेको छैन ।
पाउडर दूधले गोदाम, क्यान्टिन, घ्यू तथा दही बनाउने ठाउँ, चिनीको गोदाम, कपडा फेर्ने ठाउँ सबै भरिएको पराजुलीको भनाई छ । डेरी उद्योग र सहकारीलाई सामान लैजान ताकेता गरिरहेको भए पनि नलगेपछि उद्योग सञ्चालन गर्नै नसकेर बन्द गरिएको उहाँले बताउनुभयो ।
२०६४ सालमा स्थापना गरिएको उक्त उद्योग भूकम्पसँगै बन्द भएको थियो । २०७५ देखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको एक सय १३ र घ्यू (बटर) को प्रतिकिलो ५५ रुपैयाँ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ ।
३१ वटा डेरी उद्योग, निजी फर्म र सहकारीको दूध भण्डार भएर बसेको छ । उत्पादित सामग्री बिक्री हुन नसकेपछि उद्योग आर्थिक रुपमा समेत समस्यामा परेको छ । प्रशोधन समेत रोकिएपछि ‘मिल्क होलिडे’को सम्भावना बढेर गएको भन्दै किसान चिन्तित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै