
बागमती । बागमती प्रदेशसभाको चालु १५औँ अधिवेशन आज रातिदेखि अन्त्य गरिएको छ ।
आज दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभाको बैठक नबस्दै प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज राति १२ बजेदेखि लागू हुनेगरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको हो ।
यसअघि प्रतिपक्ष दलहरूले बजेट बाँडफाँटमा सन्तुलन कायम गर्नुपर्नेसहितका माग राख्दै आएकाले बैठक सञ्चालन हुन सकेको थिएन । प्रदेश सरकार मन्त्रीपरिषद्को आज बिहान बसेको बैठकले चालु अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले चालु अधिवेशन अन्त्य गरिएको सूचना प्रदेशसभा सचिवालयलाई पठाएपछि प्रदेशसभाको आजका लागि आह्वान गरिएको बैठक स्थगित गरिएको सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो ।
प्रदेशसभाको बैठक सञ्चालनका लागि सभामुख पाठकको पहलमा मङ्गलबार दिनभर भएको सरकार पक्ष र प्रतिपक्ष दलबीचको छलफलबाट कुनै निष्कर्ष आउन नसकेपछि प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने र त्यसअघि दलहरूबीचको संयुक्त छलफललाई आज पुनः निरन्तरता दिई सहमति कायम गर्ने सैद्धान्तिक सहमति भएको थियो ।
सत्तापक्ष र प्रतिपक्ष दलहरूबीच सहमति हुन नसकेपछि प्रदेश सरकारले चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।
प्रतिपक्ष दलहरूको अडानका कारण प्रदेशसभाको बैठक अन्योलमा परेकाले चालु अधिवेशन अन्त्य गरी आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमा केन्द्रित हुने सरकारले निर्णय लिएको उहाँले बताउनुभयो ।
यसैबीच, प्रतिपक्ष दलहरूले प्रदेश सरकारले हठात्मा चालु अधिवेशन अन्त्य गरी गैरजिम्मेवार ढङ्गबाट प्रस्तुत भएको भन्दै असन्तुष्टि जनाएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पत्रकार सम्मेलन गरी प्रदेश सरकारले गरेको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्ने प्रदेश सरकारको निर्णयले यथाशीघ्र हुने वर्षे अधिवेशनलाई प्रभावित पार्ने बताउँदै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले दलहरूबीच वार्ता, सहमति र सहकार्य कायम गरेर अघि बढ्न सरकारसँग माग गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग
- सभामुख घिमिरे र सांसद सिंहबीच नोकझोक, रेष्टमबाटै भनाभन
- सिङ्गापुरविरुद्ध नेपालको शानदार जित
- फेरी भाँचियो तामाकोसीमा निर्माणाधिन पक्की पुल
- सुनको मूल्य बढ्यो, चाँदी घट्यो
- प्रतिनिधिसभा बैठकमा रास्वपाद्वारा आज पनि वेल घेराउ र नाराबाजी
- वर्ल्डलिङ्कका सीईओलाई प्रश्न : ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो