
पिथौरागढ (भारत)। बझाङको देउलेकका परमले बोहरा ३५ वर्षदेखि भारतीय शहर पिथौरागढमा भारी बोक्दै आउनुभएको छ । उहाँले भारी बोकेरै पाँच छोराछोरीको लालनपालन गर्दै आउनुभएको छ ।
पिथौरागढको सिमलगैर बजारमा मजदूरी गर्दैआउनुभएका बोहरा भारी बोकेर पाउने रकमले घरखर्चको जोहो गर्न सहज भएको बताउनुहुन्छ । ‘नेपालमा रोजगारी पाइँदैन, यहाँ आउने बित्तिक्कै काम पाइन्छ’ नौ वर्षको उमेरदेखि पिथौरागढमा भारी बोक्दैआउनुभएका बोहराले भन्नुभयो । उहाँले केही वर्ष भारतको दिल्ली र बेङ्लौर पनि मजदूरी गर्नुभयो ।
पिथौरागढमा भारी बोक्ने बोहरा एक्लै मात्र होइनन् । उहाँले जस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका सयौँ नेपाली भारतीय शहरमा मजदुरी गरेरै घरखर्च चलाउँदै आएका छन् । ‘यहाँ भारी बोक्ने काम प्रायः नेपालीले मात्र गर्ने गरेका छन्’ बोहराले भन्नुभयो ।
नेपालमै पसिना बगाउने आफ्नो रहर भए पनि बाध्य भएर विदेशी भूमिमा भारी बोक्नु परेको दुखेसो गर्नुभयो । ‘गाउँमा पहिलाभन्दा अहिले रोजगारी त पाउने गरेको छ, तर मजदूरी गर्न पनि राजनीतिक भेदभाव हुने गरेको छ’ बोहराले भन्नुभयो । भारतमा पनि मजदूरी गर्न सहज नभएको उहाँको भनाई छ । ‘कुनै दिन काम नपाएर भोकै सुत्नुपर्ने बाध्यता पनि छ’ उहाँले भन्नुभयो– ‘यहाँ पनि कहिले काम पाइन्छ कहिले पाइँदैन, काम गर्न आउने नेपालीको संख्यामा अत्यधिक छ ।’ बोहरासँगै रोजगारीका लागि आएका ३ जना मिलेर २ हजार भाडा तिरेर कोठा भाडामा लिएर बोहरा बस्दै आउनुभएको छ ।
मजदूरी गर्न आउने जाने क्रम चलिरहन्छ । उनीहरुले घरको खेतीपाती पनि आफैले गर्नुपर्ने बाध्यता छ । ‘यहाँको कमाइले लत्ताकपडा लगेर घर जान्छौँ’ बोहराले भन्नुभयो, ‘पैसा अभावले छोराछोरीलाई स्कुल पढाउन सकेको छैन ।’
बैतडीको पुर्चौडी नगरपालिका–८ मल्लादेहीका परमानन्द जोशी पनि रोजगारीका लागि पिथौरागढ पुग्नुभएको छ । उहाँ खेतीपातीको काम सकेर रोजागरी खोज्दै पिथौरागढ पुग्नुभएको हो । ‘मजदूरी गरे बापत दैनिक ६ सय रुपैयाँ पाइन्छ’ जोशीले भन्नुभयो– घरबाट आएको केही दिनमात्रै भयो ।’ उहाँले ४० वर्षदेखि भारतमा मजदूरी गर्दै आएको बताउनुभयो । स्वदेशमा परिवार पाल्नका लागि कुनै सीप नचलेपछि बाध्य भएर विदेशिनुपरेको उहाँले गुनासो गर्नुभयो । जोशीका ३ छोरा छन् ।
आर्थिक अभावकै कारण उनीहरुलाई पढाउन नसकेको उहाँ बताउनुहुन्छ । ‘एउटा छोरा रोजगारीका लागि भारतकै बैङलौर गएको छ । २ छोरा घरमै छन्’ जोशीले भन्नुभयो– ‘छोराले पनि नेपालमा रोजगारी पाउन सकेनन् ।’ पिथौरागढको बजार पस्दा घरदेश छाडेर मजदूरी गरिरहेका सयौँ नेपाली भेटिन्छन् । ३० वर्षअघि सुदूरपहाडका नेपाली पिथौरागढ पुगेर घिउ बेच्थे । घिउ बेचेर नुन र लत्ताकपडा किन्थे । पहिले वस्तु र बस्त्रको व्यापार हुन्थ्यो । अहिले पसिनाको व्यापार चलेको छ ।
बैतडीको पुर्चौडीका उत्तमसिंह धामीको पनि उही बाध्यता छ । ‘यहाँ मजदूरी गरेर घरखर्चको जोहो गर्न थालेको ३५ वर्ष भयो– धामीले भन्नुभयो, ‘६ महिना स्वदेशमा घरखेतको काम गरेर छ महिना यहाँ मजदूरी गर्न आउँछौँ ।’ बैतडीमा रहेको फलाम खानी उत्खनन गरे आफूहरुले घर नजिकै रोजगारी पाउन सक्ने उहाँको भनाई छ । ‘हाम्रो देशमा रोजगारी पाउने धेरै सम्भावना छन । मेरो जिल्ला बैतडीमा फलाम खानी छ । सरकारले उत्खनन त गर्नुपरयो’ उहाँले भन्नुभयो– सरकारीस्तरबाट स्वदेशमै रोजगारीका लागि पहल नभए अब आउने पुस्ता पनि हामी जस्तै परदेशमा भारी बोक्न बाध्य हुनेछन् ।’ पिथौरागढको पुरानो नाम ‘सोर’ हो ।
कर्णाली नदीमा पुल बन्नु अघिसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाका नागरिक नुन लिन पिथौरागढ नै पुग्ने गरेका थिए । अहिले पनि उपचार र किनमेलका लागि उनीहरु पिथौरागढ धाउँछन् । पिथौरागढ बजार क्षेत्रमा पुग्दा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सयौँ नेपाली भारी बोक्दै गरेका भेटिन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग
- सभामुख घिमिरे र सांसद सिंहबीच नोकझोक, रेष्टमबाटै भनाभन
- सिङ्गापुरविरुद्ध नेपालको शानदार जित
- फेरी भाँचियो तामाकोसीमा निर्माणाधिन पक्की पुल
- सुनको मूल्य बढ्यो, चाँदी घट्यो
- प्रतिनिधिसभा बैठकमा रास्वपाद्वारा आज पनि वेल घेराउ र नाराबाजी
- वर्ल्डलिङ्कका सीईओलाई प्रश्न : ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए