
बागलुङ । यहाँका मौलिक सम्पदासँग जोडिएका पहिचान नासिन थालेपछि स्थानीय ज्येष्ठ नागरिक चिन्तित बनेका छन् । विकासका नाममा जथाभाबी सडक सञ्जाल विस्तार गरिँदा मौलिक सम्पदा नासिन थालेपछि ज्येष्ठ नागरिक चिन्तित बनेका हुन् ।
‘हाम्रो गाउँमा पाँच(सात ठाउँमा वरपिपलका रुख थिए, मान्छेले बिहान–बिहान आएर पूज्थे, गर्मीमा शीतल लिन यसको फेँदमा बस्थे, बटुवाहरू हिँड्दा थकाइ मार्न एकछिन यसैको छहारीमा विश्रम लिन्थे, अहिले ती वरपिपल सबै बाटोले खायो, बटुवा पनि हिँड्न छोडे’ बागलुङको निसीखोला गाउँपालिका–४ का ८३ वर्षीय धनबहादुर मगरले मौलिक सम्पदा मासिँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो । धार्मिक महत्त्वसँग जोडिएको वरपिपल मोटरबाटोले पुरिएपछि अहिले गाउँ उजाड जस्तै बनेको उहाँले बताउनुभयो ।
बुढापाकाले रुखबिरुवा नभएको ठाउँमा वरपिपल रोपेर धर्मकर्म गरे पनि अहिलेको पुस्तामा त्यो खालको सोच नभएको मगरको भनाइ छ । पछिल्लो समय गाउँका विकासका नाममा मौलिक सम्पदा मास्ने काम भएको भन्दै उहाँले गुनासो पोख्नुभयो ।
जथाभावी रूपमा सडक निर्माण गर्दा बस्ती जोखिममा पर्नुका साथै धार्मिक आस्थासँग जोडिएका सम्पदा भत्काउने काम भइरहेको मगरले बताउनुभयो । अव्यवस्थित सडक निर्माणले गाउँको स्वरुप नै कुरुप बनाएको भन्दै यसलाई राज्यले व्यवस्थित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
आधुनिक प्रविधिको विकासले सञ्चालनमा रहेका सम्पदासमेत प्रयोगविहीन हुँदै गएका ढोरपाटन नगरपालिका–९ का कुलबहादुर पुनले बताउनुभयो । उहाँले डोजरे विकासले गाउँ, बस्ती र पर्यावरणमा असर पु¥याएको सुनाउनुभयो । सडक निर्माण गर्दा धेरै ठाउँमा पानीको मुहान सुक्ने समस्या भएको उहाँको भनाइ छ ।
ढोरपाटन जाने बाटैमा रहेको रुद्रतालमा पनि डोजर चलाउँदा अहिले सुक्दै गएको पुनले जानकारी दिनुभयो । रुद्रतालमा पूजा गरी स्नान गर्दा मनोकाङ्क्षा पूरा हुने र छालासम्बन्धी रोग नलाग्ने जनविश्वास रहिआएको जनाउँदै उहाँले अहिले त्यसक्षेत्र संरक्षण हुन नसकेको गुनासो गर्नुभयो ।
पुनले भन्नुभयो– ‘रुद्रतालमा देवता छन् भन्थे, यहाँ कसैले पनि फोहर गर्दैनथ्ये, एक दशक अगाडिसम्म यहाँ ठूला ताल थियो, पानी पनि भरी हुन्थ्यो । अहिले डोजर लगाएपछि पानी सुकेको छ, पहिलेपहिले देशभरका भक्तजन यहाँ आएर पूजा गर्न, ध्वजा बाँध्ने र वर माग्ने गर्थे, यहाँ पूजा गर्दा दुःख, कष्ट र समस्या आइपर्दैन भन्ने विश्वास थियो, अहिले तालनै मासिने स्थितिमा पुग्यो ।’
पछिल्लो केही वर्षयता भरिया र स्थानीयले थकाइ मेटाउने चौतारा, बटुवाले बास बस्ने पाटीपौवा र धर्मशालाको अस्तित्व समाप्त भएको स्थानीय प्रेमबहादुर बुढा मगरले बताउनुभयो । ‘सडकले हप्ता दिन लगाएर पुग्ने गन्तव्य छोटो बनाए पनि मौलिक सम्पदाको पहिचान भने मेटाइदियो’ उहाँले भन्नुभयो ।
बागलुङको पश्चिम क्षेत्रबाट जिल्ला सदरमुकाम आउँदा बाटोका दर्जनौँ स्थानमा वरपिपलका चौतारा, ढुङ्गेधारा र धर्मशाला भेटिने गरेको स्मरण गर्दै अहिले ती सम्पदा मासिएका बुढा मगरले उल्लेख गर्नुभयो ।
‘सडकले सुविधा त दियो तर हाम्रो मौलिक संस्कृति र पहिचान भने मेटाउँदै गयो, पहिले हामी दुई साता लगाएर बटौली पुगेर नुन, तेल र चामल बोकेर आउँथ्यौँ, बाटोमा अहिलेको जस्तो होटल हुँदैनथे, धर्मशाला हुन्थे, त्यही धर्मशालामा रात कटाउँथ्यौ, अचेल पाँच(सात घण्टामा पुगिन्छ’ उहाँले भन्नुभयो– ‘हाम्रो कुरा सुन्दा नयाँ पुस्ता छक्क पर्छन्, पाटीपौवा, धर्मशाला र चौतारा भन्ने बुझ्दैनन् ।’
मौलिक परम्परा र संस्कृतिसँग जोडिएका सम्पदाको राज्य, स्थानीय सरकार र सरोकार भएका सबैको पहलमा संरक्षण र सम्बर्द्धन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध