
काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र विस्तारै लयमा आएकाले छ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त हुने परिवेश बनेको बताउनुभएको छ ।
भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको २०औँ वार्षिक साधारणसभाको शुक्रबार उद्घाटन गर्दै मन्त्री डा महतले पर्यटक आगमन, विप्रेषण, शेयर मूल्य, जग्गा कारोबार, राजस्व र आर्थिक गतिविधि बढ्दो स्थितिमा रहेकाले समग्र स्थिति सन्तोषजनक भएको बताउनुभयो । उहाँले बहुवर्षीय आयोजनामा स्रोतको सुनिश्चितताका आधारमा बजेटका विनियोजन प्रणाली विकास गरी बजेटका बेथितिमाथि नियन्त्रणका साथै बैंकको ब्याजदर घट्नु र बजार मूल्यवृद्धि पाँच दशमलव पाँचबाट नबढ्नुले पनि सकारात्मक सङ्केत मिलेको स्पष्ट पार्नुभयो । मन्त्री डा महतले रातो किताबमा तोकिएकोभन्दा बाहिरबाट खर्च गर्ने स्थितिको अन्त्य गर्दै बजेट प्रणालीमा सुधार ल्याएको उल्लेख गर्नुभयो ।
समाजका अध्यक्ष डा नारायण खड्काले ज्ञान र सूचनाको केन्द्रका साथै मुलुकको परिवर्तन, सभ्यता र इतिहासको वैभव पनि भएकाले पुस्तकालयलाई राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले समाजका लागि बजेट कटौती गरेको, पुस्तकालयको भवनका लागि जग्गा नभएको र समाजकल्याण परिषद्ले व्यापारिक पसल सरह भाडा बढाउने गरेको समस्याबारे मन्त्री डा महतलाई अवगत गराउनुभयो ।
कार्यक्रममा समाजका अगुवा महेश अग्रवाल र तीर्थराज वन्तलाई सम्मान गरिएको थियो । २०६० असोज ८ गते काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको सो पुस्तकालयमा वार्षिक ३० हजारभन्दा बढी पाठक आउने गरेका छन् । यसका २ हजार ४ सय वार्षिक सदस्य रहेका छन् । समाजले २०६२ सालदेखि पुस्तकालय सञ्चालन गरेको हो । पुस्तकालयमा हालसम्म ३७ हजार ६ सय १४ पुस्तक उपहारस्वरुप प्राप्त भएका छन् भने चार हजार तीन सय ५१ पुस्तक खरिद गरिएका समाजले जनाएको छ ।
वाल्मीकि विद्यापीठले जग्गा दिने
त्यस अवसरमा वाल्मीकि विद्यापीठका प्रमुख प्रा डा भागवत ढकालले विद्यापीठको हातामा संयुक्त पुस्तकालय सञ्चालन गर्नेगरी समाजको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन सकिने प्रस्ताव गर्नुभयो । उहाँले विद्यापीठका लागि पुस्तकालय बनाउन बजेट अपुग भएका बेला समाजले भवनमा स्रोत खोज्ने गरी संयुक्त पुस्तकालय सञ्चालनमा ल्याउन सकिने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै