
म्याग्दी । रघुगङ्गा गाउँपालिका–४, दर्मिजामा रहेका प्राकृतिक तातोपानीका कुण्ड वर्षौंदेखि त्रिपालको ओतमुनि रहेको छ । तातोपानी कुण्डमा डुबेर उपचार गराउने बिरामीमा त्यहाँसम्म जान बाटो र कुण्डमा भौतिक पूर्वाधार निर्माण भए पनि जस्तापाताको छाना नहाल्दा त्रिपालको ओतमुनि बसेर बिरामी तातोपानी कुण्डमा डुब्न वा स्नान गर्न बाध्य छन् ।
अघिपछि कुनै समस्या नहुने भए पनि ठूलो पानी पर्दा र चर्को घाम लाग्दा भने समस्या उत्पन्न हुने र बिरामीले सास्ती व्यहोर्नुपर्ने कुण्डमा डुब्न आउनुभएको चिमखोलाका शेरबहादुर पुनले बताउनुभयो । दर्मिजा गाउँको पुछारमा रघुगङ्गा नदीको किनारमा रहेको यस कुण्डको मुहानबाट ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रमको तातोपानी निस्कने गर्दछ । प्राकृतिक तातोपानीमा डुब्दा विभिन्न रोग निको हुने विश्वास गरिन्छ । यसअगाडि सानो पोखरी रहेकोमा तीन वर्षअघि जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा पोखरी निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद पुनले जानकारी दिनुभएको छ ।
रघुगङ्गा नदीको किनारमा अलगअलग ठाउँमा चार वटा पोखरी बनाइएको छ । कुण्डमा जाने ठाउँको दक्षिणतर्फ जल बराहको मन्दिर छ । मुख्य कुण्डको माथि त्रिपाल हालेर घाम पानी छेक्ने बनाइएको अध्यक्ष पुनले जानकारी दिनुभयो । मन्दिरको दाँहिनेतर्फ रहेको तातोपानीको पोखरीमा त्रिपालको छाना हालिएको छ । त्यस पोखरीमा एकपटकमा २५ जनासम्मले डुबेर उपचार सेवा लिँदै आएका छन् । मन्दिरको देब्रेतर्फ सानाठूला गरी तीन वटा पोखरी छन् । एउटा पोखरीमा २० जना, अर्कोमा १० जना र तेस्रो पोखरीमा पनि १० जनाले एकसाथ बसेर डुब्न सक्नेगरी पक्की पर्खालसहित निर्माण गरिएको छ ।
यी पोखरी निर्माण गर्न जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले ३५ लाख रुपैयाँ सहयोग गरेको थियो । कोरोनाको जोखिमका बेलामा पनि स्थानीय मजदूर परिचालन गरी पोखरी निर्माण गरिएको दर्मिजा तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । ५० डिग्री सेल्सियसभन्दा बढी तातोपानी निस्कने मुहान यहाँ रहेको छ । त्यो मुहानको पानी सङ्कलन गरे छालासम्बन्धी रोग, चोटपटक, बज्रिएको, सुन्निने जस्ता समस्या निको हुने विश्वास छ ।
यहाँ स्नान गर्न आउने पाहुना तथा पर्यटकलाई बस्न मिल्ने स्थानको निर्माण पनि यस अगाडि भइसकेको स्थानीय ललिता गर्बुजाले बताउनुभयो । यस पोखरीको नजिक एउटा आकर्षक झरनासमेत रहेको छ । यस स्थानलाई सुरक्षित राख्नका लागि अहिले तटबन्धको कार्यसमेत भइरहेको समितिले जनाएको छ ।
यहाँ डुबेर उपचार सेवा लिनका लागि रघुगङ्गा गाउँपालिकाका विभिन्न ठाउँबाट बिरामी आउने गरेका छन् । त्यसैगरी कुण्डको नजिकै रघुगङ्गा खोलाको पारिपट्टि रहेको झरनामा रमाउन र कुण्डमा डुबुल्की लगाउन टाढाटाढाबाट समेत आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका स्थानीय तिलक गर्बुजाले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव