
पोखरा । गण्डकी प्रदेशभित्र यस वर्षको हिउँदमा करिब एक हजार २ सय १५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । प्रदेशका ११ जिल्लामध्ये १० जिल्लाका एक सय ४७ स्थानका वनजङ्गलमा डढेलो लागेको प्रदेश वन निर्देशनालयले जनाएको छ ।
‘मुस्ताङ बाहेक प्रदेशका सबै जिल्लामा डढेलोका घटना भएका छन् । सबैभन्दा बढी कास्कीमा तीन सय ८२ हेक्टरमा डढेलो लागेको छ’ निर्देशनालयका वन अधिकृत तिलकबहादुर थापाले भन्नुभयो । उहाँका अनुसार डढेलोबाट नवलपुरमा ८५ क्युफिट काठ क्षति भएको छ ।
म्याग्दीमा डढेलो निभाउने क्रममा एक जना घाइते भएका वन अधिकृत थापाले जानकारी दिनुभयो । कास्कीपछि सबैभन्दा बढी म्याग्दीमा तीन सय ५९ हेक्टर वन क्षेत्रमा डढेलोबाट प्रभावित बनेको छ । स्याङ्जामा दुई सय ८८, पर्वतमा ५०, बागलुङमा ४२, गोरखामा ३४, लमजुङमा २१, नवलपुरमा ३०, तनहुँमा सात र मनाङमा करिब दुई हेक्टरमा डढेलो लागेको निर्देशनालयले जनाएको छ ।
सबैभन्दा बढी म्याग्दीका ४६ स्थानमा डढेलो लागेको वन अधिकृत थापाले जानकारी दिनुभयो । उहाँका अनुसार कास्कीका २३, स्याङ्जाका ३२, लमजुङका १६, गोरखाका ११, बागलुङका आठ, नवलपुरका पाँच, पर्वतका तीन, तनहुँका दुई र मनाङको एक गरी एक सय ४७ स्थानमा डढेलो लागेको हो ।
वन अधिकृत थापाले बढीजसो मानवीय कारणले नै डढेलोका घटना हुने गरेको बताउनुभयो । ‘वर्षेनी डढेलोका कारण वन क्षेत्रमा ठूलो नोक्सानी हुने गरेको छ । डढेलोले वन्यजन्तु र पन्छी मर्ने तथा उनीहरुको बासस्थान नष्ट हुन्छ’ उहाँले भन्नुभयो– ‘डढेलोले पर्यावरणीय स्वच्छतामा पनि नकारात्मक असर पु¥याइरहेको हुन्छ ।’
थापाका अनुसार नेपालमा मुख्य गरी फागुन र चैतमा डढेलोका घटना हुने गरेका छन् । हिउँदे वर्षा नहुनु, हावाहुरीको याम, भिरालो भू–बनोटजस्ता कारणले पनि डढेलो छिटो फैलने गरेको उहाँले बताउनुभयो । वन व्यवस्थापनलाई चुस्त बनाउनसके डढेलोका घटना नियन्त्रण गर्न सकिने उहाँको भनाइ छ ।
‘समयमै घाँसदाउरा, स्याउला, सोत्तर वनबाट निकाल्न सके डढेलो लाग्न पाउँदैन । डढेलो नियन्त्रणका लागि तीनै तहका सरकारले प्रभावकारी उपाय अवलम्बन गर्न जरुरी छ’ वन अधिकृत थापाले भन्नुभयो– ‘समुदायस्तरमा डढेलोसम्बन्धी सचेतना जगाउनुपर्छ ।’ डढेलो नियन्त्रणका लागि जिल्ला र स्थानीय तहमा रहेका डिभिजन वन र सबडिभिजन वन कार्यालयअन्तर्गत डढेलो नियन्त्रण सञ्जाल क्रियाशील रहेको उहाँले जानकारी दिनुभयो ।
वन कार्यालयहरुले सुरक्षा निकाय, स्वयंसेवक र स्थानीय जनसमुदायसँग मिलेर डढेलो नियन्त्रणका काम गर्दै आएको निर्देशनालयले जनाएको छ । लम्बिँदो सुक्खायामका कारण यो हिउँदमा डढेलोका घटना अझै बढ्नसक्ने जोखिम रहेको वन अधिकृत थापाले बताउनुभयो । डढेलोले सामुदायिक र राष्ट्रिय वन क्षेत्रका बोटबिरुवा र बुट्यान सखाप पार्ने गरेको उहाँको भनाइ छ ।
वन अधिकृत थापाले विद्यालय तहदेखि नै डढेलो नियन्त्रण र वन संरक्षण सीपबारे बालबालिकालाई पढाउनुपर्ने बताउनुभयो । डढेलो लगाउने व्यक्तिलाई बिगोअनुसारको जरिवानासहित तीन वर्षसम्मको कैद हुनसक्ने कानुनी व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । कानुनी व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव