
भरतपुर । चिउरी फुल्ने मौसम भएकाले चितवनका मौरीपालक किसान यतिबेला मौरी चराउन चिउरी फुल्ने पाखातर्फ लागेका छन् । चिउरीको बोटमा यतिबेला फूल खेल्न सुरु भएको छ । रत्ननगर–४ भोकाहाका किसान रामबहादुर थापा दुई सय घार मौरी लिएर कालिका नगरपालिका–१० स्थित पाइमाराङमा पुग्नुभएको छ ।
“तोरीमा फूल सकिँदै जान थालेपछि चिउरीमा चराउन मौरी लिएर आएका हौँ”, उहाँले भन्नुभयो, “फागुन अन्तिमसम्म मौरी यही राखिन्छ ।” उहाँले मौसमले साथ दियो भने दुई पटकसम्म चिउरीको मह काढ्ने बताउनुभयो ।
चिउरीको मह नजम्ने भएका कारण उपभोक्तले धेरै खोज्ने गरेको किसान थापाले बताउनुभयो । “विसं २०५६ देखि मौरी पाल्दै आएको हुँ”, उहाँले भन्नुभयो, “प्रत्येक वर्ष मौरी चराउन विभिन्न स्थानमा गइरहनुपर्छ ।” उहाँले मौरीको चरन क्षेत्र र महको बजारीकरणको समस्या रहेको बताउनुभयो । चरन क्षेत्रमा पनि जङ्गली जनावरले दुःख दिने उहाँको अनुभव छ । मौसम अनुकूल भएमा एक वर्षमा चार पटकसम्म मह काढिने थापाले बताउनुभयो । “मौरी पालेर परिवार ढुक्कसँग पालिएको छ”, उहाँले भन्नुभयो, “जिन्दगीको सबैभन्दा आनन्द यही हो ।”
चितवनको कालिका नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका विभिन्न वडामा चिउरीको बाक्लो जङ्गल छ । यहाँ यो सिजनमा मात्रै झण्डै ३० हजार घार मौरी चराउनका लागि ल्याउने गरिएको नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष शिवप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार यहाँ चितवनसँगै मकवानपुर, रौतहट, नवलपरासी, रुपन्देही, दाङलगायत जिल्लाका किसानले पनि मौरी ल्याउने गरेका छन् ।
जङ्गली फूलमा र विषादी नहुने भएकाले चिउरीमा मौरी चराइने गरिएको हो । चिउरीमा चरेका मौरीको मह नेपाल बाहेक अरु देशमा नपाइने भएकाले यसको बजारीकरण गर्न सके उच्च प्रतिफल प्राप्त हुने पूर्वअध्यक्ष पौडेल बताउनुहुन्छ ।
उहाँका अनुसार नेपालमा सेरेना र मेलीफेरा मौरीपालन हुने गरेको छ । व्यावसायिक रुपमा भने मेलिफेराको पालिन्छ । चितवन मौरीपालनको उर्वर भूमि हो जहाँ पाँच सयभन्दा बढी व्यावसायिक मौरीपालक किसान छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै