
कायरो (इजिप्ट ) । नेपाली राजदूतावास कायरोको आयोजनामा फेब्रुअरी २८ तारिखका दिन हिमालमा प्रकृति र साहसी यात्राको खोज नामक नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा प्रसिद्ध सगरमाथा आरोही गेल्जे शेर्पा र आद्रियाना ब्राउनलीको प्रस्तुति रहेको थियो ।
साथै गत वर्ष नेपालमा गरेको ट्रेकिङको अनुभवबारे कायरो अमेरिकन कलेजका प्राचार्य तथा शिक्षाविद् डा ज्यारेड ह्यारिस र सिङ्गिङ्ग बाउलको उपचारात्मक महत्वबारे नेपालमा तालिम लिनुभएका शिक्षाविद् कोर्टनी बेलीले वर्णन गर्नुभएको थियो ।
सो अवसरमा इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले नेपालको अनुपम सांस्कृतिक र प्राकृतिक सम्पदाबारे संक्षिप्त चर्चा गर्नुभएको थियो । साथै उहाँले इजिप्टमा नेपालको पर्यटन प्रवर्द्धनका लागि गरिएका प्रयासबारे प्रकाश पार्दै दुई देशबीचको जनस्तरको सम्बन्ध विस्तारका लागि इजिप्सियन मिडियाको सहयोगका लागि धन्यवाद प्रकट गर्नुभयो ।
कार्यक्रममा इजिप्टका भ्लग्गर र इन्फ्लुएन्सर, कलाकार, शिक्षा, संस्कृति र पर्यटनसँग सम्बन्धित व्यक्तित्वहरू, विदेशी कूटनीतिज्ञ, एयरलाइन्स, टिभी च्यानल एवं पत्रपत्रिकाका प्रतिनिधिका आदि गरी करिब ७० जना व्यक्तिको सहभागिता रहेको थियो ।
कार्यक्रममा फेब्रुअरी २७ र २८ तारिखका दिन आयोजित इजिप्टका बालबालिकाका आँखामा नेपालको तस्वीर नामक चित्रकला प्रतियोगितामा छनोट भएका उत्कृष्ट चित्रहरूको प्रदर्शनी पनि गरिएको थियो । इजिप्टको बालसंस्कृति केन्द्रको सहआयोजनामा आयोजित सो प्रतियोगितामा तीन सयभन्दा बढी इजिप्सियन विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा बालबालिकाले नेपालको कला, संस्कृति, इतिहास, प्राकृतिक सम्पदा र जनजीवन झल्किने पशुपतिनाथ, स्वयम्भूनाथ, बौद्धनाथ, तलेजु भवानी, हिमाल, बुद्ध, कुमारी आदिको तस्वीर उतारेका थिए ।
फेब्रुअरी २७ का दिन चित्रकला प्रतियोगिताका अवसरमा राष्ट्रिय बालसंस्कृति केन्द्रका प्रमुख तथा सुप्रसिद्ध बालसाहित्यकार मुहम्मद नासेफले कार्यक्रमले दुवै देशबीचको जनस्तरको सम्बन्ध थप प्रवर्द्धन गर्न मद्दत पुग्ने धारणा प्रकट गर्नुभयो । साथै उहाँले इजिप्टका संस्कृतिमन्त्री महामहिम नेभिन एलकिलानीले प्रतियोगिताको सफलताका लागि हार्दिक शुभकामना पठाउनुभएको उल्लेख गर्दै कार्यक्रमले इजिप्टका बालबालिकालाई नेपालको भौगोलिक विशेषता, प्राकृतिक सौन्दर्य र अनुपम संस्कृतिबारे जानकारी प्राप्त गर्ने अमूल्य अवसर प्रदान गरेको धारणा व्यक्त गर्नुभएको थियो ।
अरब गणतन्त्र इजिप्टका लागि नेपालका राजदूत सुशीलकुमार लम्सालले इजिप्टका बालबालिकामाझ नेपालको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक विशिष्टता तथा नेपाल–इजिप्ट सम्बन्धबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले प्रतियोगितामा पहिलोदेखि दशौँ स्थानसम्म हासिल गर्ने विद्यार्थीलाई पदक तथा सहभागी विद्यार्थीलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो । उक्त कार्यक्रममा इजिप्सियन नृत्यसहितको सांस्कृतिक कार्यक्रम, नेपाली कलाकृति तथा हस्तकला तथा बालसंस्कृतिसँग सम्बन्धित विविध विषयवस्तुको प्रदर्शनी गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध