+

नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले सरकारबाट अलग हुने र आगामी दिनमा प्रतिपक्षमा दृढताका साथ उभिने निर्णय गरेको छ।



सुदूरपश्चिम प्रदेश सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई कुनै औपचारिक सूचना, संवाद वा प्रक्रिया बिना पदमुक्त गरिएको भन्दै पार्टीले गम्भीर आपत्ति समेत जनाएको छ । 

उक्त घटनालाई अत्यन्तै अपमानजनक, असंवैधानिक र दुर्भाग्यपूर्ण ठहर गर्दै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका सांसदहरूको गरिमामाथि आघात पुगेको उल्लेख गर्नु भएको छ । 

शुक्रबार सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै उहाँले भन्नुभयो, "सांसदहरूको बेइज्जती पार्टीको बेइज्जती हो, र यस्तो व्यवहारले जनताले पार्टीप्रति देखाएको विश्वासको अवमूल्यन भएको छ।"

पार्टीभित्र गहन छलफल तथा संरक्षक आदरणीय रेशम चौधरीज्यूको मार्गदर्शनमा नागरिक उन्मुक्ति पार्टीले सैद्धान्तिक र दूरदर्शी निर्णय स्वरूप अबदेखि प्रतिपक्षको जिम्मेवारी निर्वाह गर्ने निर्णयमा पुगेको जानकारी उहाँले दिनुभयो। यो निर्णय जनताको म्यान्डेट, पार्टीको प्रतिष्ठा तथा जननिर्वाचित प्रतिनिधिहरूको सम्मानको रक्षाका लागि गरिएको उल्लेख गरिएको छ।

अध्यक्ष श्रेष्ठले थप भन्नुभयो, “हामी यो घटनालाई सत्ता घमण्ड, स्वेच्छाचारिता तथा लोकतान्त्रिक मूल्यप्रति देखाइएको अवज्ञाको प्रतीकका रूपमा लिन्छौं।”

संघीय संसदमा नागरिक उन्मुक्ति पार्टीका चारजना सांसद छन् भने प्रदेश सभामा मधेसमा एक, लुम्बिनीमा चार र सुदूरपश्चिममा सातजना सांसदहरूको प्रतिनिधित्व रहेको छ। पार्टीको यो उपस्थिति केवल सांसदहरूको संख्यामा सीमित नभई संविधानप्रति निष्ठा, जनताप्रतिको प्रतिबद्धता र उत्पीडित समुदायहरूको आवाजको रूपमा रहेको उहाँले स्पष्ट पार्नुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट