
गण्डकी । कुनैताका वनपाखा चहारेर खाइने ऐँसेलु हिजोआज राजमार्ग छेउछाउ किनमेल भइरहेको भेटिन्छ । स्वादिष्ट र गुणकारी फल ऐँसेुल कपितयका लागि आयआर्जनको स्रोत बनेको छ ।
पाखापखेराबाट दुःखजिलो गरी टिपेर ल्याएको एँसेलु बेच्नेमा महिला र बालबालिका बढी हुन्छन् । वसन्त याममा मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका–३ काँडेमा ऐँसेलु बेच्नेको लर्को देखिन्छ ।
पहाडी भेगका अन्य सडकमार्गमा पनि ऐँसेलुको किनबेच हुने गर्छ । हिउँदको फुर्सदिलो समयमा ऐँसेलु टिप्नु र बेच्नु स्थानीयवासीको दैनिकी जस्तै बन्ने गरेको छ । काँडेकी मनमाया विकले वनपाखा पुगेर ल्याएको ऐँसेलुलाई मल्लाताको हरियो पातमा बेरेर बेच्ने गरेको सुनाउनुभयो । बिहानमा ऐँसेलु टिप्ने र दिउँसो राजमार्गमा ल्याएर बेच्ने गरेको उहाँले बताउनुभयो । ‘ऐँसेलु बेचेको पैसाले सामान्य घरखर्चको जाहो हुन्छ’ उहाँले भन्नुभयो– ‘बालबालिकाले कापीकलम किन्ने पैसा जुटाउँछन् ।’
काँडा छिचोलेर ऐँसेलु टिप्ने काम सजिलो भने नहुने उनीहरूको अनुभव छ । थोरै भएपनि नगद आर्जन हुने देखेर स्थानीयवासी ऐँसेुल बेच्न लालयित देखिएका हुन् । महिलाहरूले टपरी झैँ खिपेको सोली आकारको हरियो पातमा ऐँसेलु राखेर बेच्ने गर्छन् । एउटाको मूल्य रु एक सय राखिएको छ । कुनै दिन त एकै जनाले दुई हजारसम्मको ऐँसेलु बेच्ने गरेका छन् । दैनिक ज्यालादारी कामको भन्दा धेरै पैसा आउन थालेपछि ऐँसेलुतिर आकिर्षत भएको महिलाहरू बताउँछन् ।
राजमार्गमा यात्रा गरिरहेका यात्रुले गाडी रोकेर ऐँसेलु किन्ने गर्छन् । कतिपयले चाख मानेर ऐँसेलु किन्ने गरेपनि कोहीले भने वास्तै नगर्ने स्थानीयवासीको बताउँछन् । ऐँसेलुको किनमेल हुन थालेपछि फुर्सदको सदुपयोग भएको छ । घरगुजारा चलाउन पैसाको पनि जोहो हुन थालेको छ । अधिकांश सहरीया मानिसको रोजाइमा एैँसेलु पर्ने गरेको छ । विदेशी पर्यटकले पनि किनेर खाने गरेका छन् ।
लोकमार्गले छोएको कास्कीको फेँदी कटेपछि नागडाँडा, काँडे, लुम्ले, नयाँपुलसम्मै वसन्त याममा एसेलु बेच्नेहरु भेटिन्छन् । बिदाका दिनमा बालबालिका पनि ऐसेलु बेच्न निस्कन्छन् । वयस्क पुरुष भने यो काममा खासै भेटिदैँनन् । शनिबारको फुर्सद पारेर बालबालिका गाउँ नजिकैको वनबाट ऐसेलु टिपेर ल्याउर बेच्ने गर्छन् । पहिलेपहिले वनपाखा धाएर ऐसेलु, चुत्रोलगायत फल खाने चलन थियो । पछिल्लो समय त्यो क्रम हट्दै गएको छ । चैतदेखि जेठसम्म डाँडापाखामा एैँसेलु पाक्ने गरेको गरेको छ ।
ऐसेलुबाट जुस, वाइन पनि बनाउन सकिने वनस्पती विज्ञहरू बताउँछन् । वनमा यसै खेर जाने फलबाट लाभ लिन सक्नुपर्ने उनीहरूको भनाइ छ । मझौला काँडेदार बुट्यान (झाडी) मा ऐँसेलु फल्छ । पहाडी भेगको सातसय देखि दुई हजार मिटरसम्ममा ऐँसेलु पाइन्छ । यो फल रसिलो र गुलियो हुन्छ । ऐँसेलु प्रकृतिमा आफै उम्रेर वर्षौँसम्म टिक्ने वनस्पति हो । अपच भएको अवस्थामा ऐँसेलु प्रयोग गर्नु लाभदायी मानिन्छ ।
वनस्पती विज्ञका अनसार ऐँसेलुमा भिटामिनसीसहित सुक्ष्म पोषक तत्व पाइन्छ । ऐँसेलुको जरामा पनि औषधीय गुण हुन्छ । यो पूर्ण रूपमा जैविक फल हो । यो फल नेपालको अधिकांश पहाडी भेगमा पाइन्छ ।
नेपालसहित भारत, चीन र पाकिस्तानमा समेत पाइने यो फल रङ्गका आधारमा तीनथरिको हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध