
सिरहा । इलाका प्रशासन कार्यालय लहानको अगुवाइमा लहानस्थित राजमार्ग केन्द्रित होटलमा अनुगमन शुरु गरिएको छ ।
अनुगमनमा म्याद गुज्रेका पेयपदार्थ तथा सडेगलेका खानेकुरा बिक्रिवितरण गर्ने चारवटा होटललाई ३० हजार बराबरको जरिवानासमेत गरिएको छ ।
इलाका प्रशासन कार्यालय लहानका अधिकृत सन्तोष रायको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालय राजविराज, घरेलु तथा साना उद्योग कार्यालय लहान, आन्तरिक राजस्व कार्यालय लहान, इलाका प्रहरी कार्यालय लहान, उपभोक्ता मञ्च नेपाल सिरहाका प्रतिनिधिसहितको संयुक्त टोलीले होटलहरूको अनुगमन शुरु गरेका हुन् ।
संयुक्त अनुगमन टोलीले लहान–१ को कान्छा होटलमा म्याद गुज्रेको ‘बडविसर’ ब्रान्डको ३७ ओटा बियरको बोतल जफत गरी नष्ट गर्नाका साथै त्यो होटललाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ । यसैगरी, लहान–४ को होटल गोधुल्लीको भान्साका खानेकुरा नछोपी राखिएको, फ्रिजमा पाकेको र नपाकेको मासुसँगसँगै राखिएको तथा सरसफाइमा हेलचेक्र्याइँ गरेको पाइएपछि त्यो होटललाई पनि ५ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।
यस्तै, लहान आँखा अस्पतालको परिसरमा रहेको किरान स्विट्स एन्ड भोजनालयले अखाद्य सामग्री प्रयोग गरी खानेकुरा बनाएको, खाद्य वस्तु छोप्न पत्रपत्रिका प्रयोग गरिएको तथा भान्साको नजिकमा फोहोर थुपारिएको पाइएपछि १० हजार रुपैयाँ जरिवाना गरिएको छ । होटलको सामुन्नेमा रहेको रिषिका जनरल स्टोर्समा म्याद गुज्रेको ३८ ओटा ‘कोल्ड ड्रिङ्कस’ पेयपदार्थ फेला परेपछि १० हजार रुपैयाँ जरिवाना तोकिएको छ । त्यो पसलले इजाजतविना अन्तःशुल्कजन्य वस्तुसमेत बिक्रीवितरण गरेको पाइएपछि सामग्री जफत गरी आन्तरिक राजस्व कार्यालय लहानलाई जिम्मा लगाइएको छ ।
अनुगमनका क्रममा होटल सम्राट इन र चौधरी होटलले आधारभूत रुपमा होटलको मापदण्ड पालना गरेको पाइएकाले सचेतीकरण मात्र गरिएको इलाका प्रशासन कार्यालय लहानका अधिकृत सन्तोष रायले जानकारी दिनुभयो ।
नयाँ वर्ष २०८२ लाई दृष्टिगत गरी आउँदो वैशाख १ गते लाग्ने फूलबारी मेलामा आउने लाखौँ भक्तजनले यहाँका होटलहरूमा खाना खाने हुँदा ग्राहकको स्वास्थ्यमाथि खेलबाड हुन नदिन अनुगमन सुरु गरिएको बताउनुभयो ।
उहाँले उपभोक्ताको स्वास्थ्यमाथि लापरबाही गर्ने होटलहरूलाई कानुनअनुसार जरिवाना गरिएको भन्दै आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सभामुख घिमिरे र सांसद सिंहबीच नोकझोक, रेष्टमबाटै भनाभन
- सिङ्गापुरविरुद्ध नेपालको शानदार जित
- फेरी भाँचियो तामाकोसीमा निर्माणाधिन पक्की पुल
- सुनको मूल्य बढ्यो, चाँदी घट्यो
- प्रतिनिधिसभा बैठकमा रास्वपाद्वारा आज पनि वेल घेराउ र नाराबाजी
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- वर्ल्डलिङ्कका सीईओलाई प्रश्न : ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए