
नेपालगञ्ज । सामाजिक सञ्जालको प्रयोग गरी फिरौती उठाएको आरोपमा प्रहरीले बाँकेको कोहलपुरबाट एक युवकलाई पक्राउ गरेको छ ।
सुर्खेतको भेरीगङ्गा नगरपालिका–७ काठेघारी बस्ने ४१ वर्षीय रामबहादुर बिसी (बुढाक्षेत्री) लाई फिरौती माग गर्नुका साथै ठगीलगायत विभिन्न अरोपका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो ।
कोहलपुर–५ मा डेरा गरी बस्दै आएका बिसी भारतीय ग्याङस्टारका नाइके लरेन्स विश्नोई र अनमोल विश्नोईको नाम लिँदै फिरौती माग गरेको, ठगीलगायत आरोपका आधारमा निजलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । विश्नोईको नाम लिँदै पाँच करोड भारु अर्थात् आठ करोड रुपैयाँ फिरौती माग गरेको पाइएको प्रनाउ भण्डारीले जानकारी दिनुभयो ।
सामाजिक सञ्जाल ह्वाट्सएप प्रयोग गरी बिसीले फिरौती माग गरेको जानकारी दिँदै प्रनाउ भण्डारीले विदेशी नम्बरको ह्वाट्सएपबाट फोन गरेर धम्क्याउने समेत गरेको उल्लेख गर्नुभयो । ‘उनी विरुद्ध इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट विसं २०६१ साउन २७ मा जीउ मास्ने, बेच्ने उद्योगको कसुरमा मुद्दा चलेको थियो । त्यतिबेला एक नेपाली युवतीलाई ललाइँफकाइ विवाह गर्छु भन्दै काँकडभिट्टाबाट भारत लगेको आरोप छ’ उहाँले भन्नुभयो ।
विसं २०६२ चैत ८ मा सर्वसाधारणलाई धम्की दिँदै चन्दा असुली गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाबाट बिसीविरुद्ध मुद्दा चलेको थियो । यसको दुई वर्षपछि फिरौती रकम असुलेको आरोपमा काठमाडौँबाटै उनीविरुद्ध मुद्दा चलेको प्रहरीले जनाएको छ ।
विसं २०६४ भदौ ९ मा महानगरीय प्रहरी परिसर काठमाडौँ (हाल जिल्ला प्रहरी परिसर) बाट उनीविरुद्ध फिरौती लिएको आरोपमा मुद्दा चलेको थियो । निजमाथि एक व्यक्तिलाई नियन्त्रणमा लिएर ट्याक्सीमा राख्दै धम्क्याएर फिरौती असुलेको आरोप रहेको प्रनाउ भण्डारीले उल्लेख गर्नुभयो ।
‘आरोपीलाई कर्तव्य कसुरमा पनि मुद्दा चलाइएको छ । विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनमा एक व्यक्तिलाई गोली हानी हत्या गरेको आरोप पनि उनलाई लागेको छ । विसं २०६४ चैत २७ मा संविधानसभाका उम्मेदवार ऋषि शर्मा प्रचारप्रसार सकेर आउँदै गर्दा सुर्खेतको मेहलकुना जहरेबजार नजिक लोदे भन्ने ठाउँमा शर्माको गोली हानी हत्या भएको थियो । त्यसबेला इलाका प्रहरी कार्यालय छिन्चुबाट बिसीविरुद्ध मुद्दा चलेको थियो’ उहाँले भन्नुभयो ।
विसं २०६५ चैतमा द्वन्द्वपीडित सेना प्रहरीको आन्दोलनको क्रममा प्रहरीको हतियार खोसेको घटनामा उनीविरुद्ध काठमाडौँबाट मुद्दा चलेको प्रनाउ भण्डारीले जानकारी दिनुभएको छ ।
यसबाहेक पनि धेरै घटनामा उनीसंलग्न रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध