
पर्वत । कुश्मा नगरपालिका–३ आम्बोटबासी चन्दा सङ्कलन गरी पदमार्ग निर्माण गरेका छन् ।
राजमार्गभन्दा करिब ५०० मिटरमाथि जङ्गलमा रहेको आम्वोट आधारभूत विद्यालयसम्म जाने बाटो नभएपछि स्वदेश तथा विदेशमा रहेका व्यक्तिले चन्दा सङ्कलन गरेर पदमार्ग निर्माण गरेका हुन् । पदमार्ग निर्माणका लागि रु ११ लाख सङ्कलन भएको उक्त विद्यालयका प्रधानाध्यापक मीना गुरुङले बताउनुभयो ।
अङ्ग्रेजी माध्यममा शिशुदेखि तीन कक्षासम्म पढाइ हुने विद्यालयसम्म पुग्नका लागि पदमार्ग निर्माण गर्नुपरेको उहाँले बताउनुभयो । विद्यालयमा अहिले ३१ जना विद्यार्थी अध्ययनरत छन् ।
विसं २०५२ मा समाजसेवी खड्कबहादुर गुरुङको पहलमा विद्यालय स्थापना भएको थियो । तत्कालीन समयमा पोखरा–बागलुङ सडक खुलेपछि साविक दुर्लुङ र बाजुङ गाविसमा पर्ने निम्ने, कथुरे, ह्यार्दी, भारती, भुम, ओखलढुङ्गालगायत गाउँबाट अम्बोटमा बसाइँसराइ आउनेले चन्दा सङ्कलन गरेर विद्यालय खोलेका थिए ।
बालबालिकाको पढाइमा समस्या हुने देखेर तत्कालीन समयमा आफ्ना बुवाले विद्यालय सञ्चालनमा ल्याएको प्रधानाध्यापक गुरुङले बताउनुभयो । पदमार्ग निर्माणका लागि विद्यालयले गत असोजमा चन्दा सङ्कलन अभियान थालेको थियो । गाउँका देश तथा विदेशमा बस्ने १०४ जनाबाट रु ११ लाख ४६ हजार सात सय २३ सहयोग प्राप्त भएको थियो ।
त्यो रकमले विद्यालयसम्म पुग्ने फलामे रेलिङसहित ३०० मिटर ढलान गरेर सिँढी काटो निर्माण गरिएको छ भने बाँकी रकमबाट विद्यालय परिसरमा फलामको पिलर राखेर सिमेन्टको ढलान गरी सानो खेलमैदान निर्माण गरिएको छ ।
विद्यालयमा दुईदेखि आठ वर्ष उमेर समूहका विद्यार्थी पढ्न जाने गरेको प्रधानाध्यापक गुरुङले बताउनुभयो । विद्यालयसम्म जाने सहज बाटो नहुँदा सानो उमेरका विद्यार्थी ढुङ्गा र गेग्रानसहितको अप्ठ्यारो बाटोमा हिँड्नुपर्ने बाध्यता रहेको थियो । विद्यालयमा हाल खानेपानी र बिजुलीको अभाव रहेको प्रअ गुरुङले बताउनुभयो ।
स्थानीय तारे सामुदायिक वनको जग्गामा रहेको विद्यालयमा विद्युत् र खानेपानीको मिटरबक्स जडान गर्न समस्या भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सिर्जना रानामगरले बताउनुभयो । उहाँका अनुसार विद्यालयलाई पक्की भवन र मन्टेश्वरी तहका लागि एक जना शिक्षक आवश्यक छ ।
विद्यालयमा दुई प्रावि स्थायी र दुई जना निजी शिक्षक कार्यरत छन् । महिलाको नेतृत्व र व्यवस्थापनमा सञ्चालित विद्यालय व्यवस्थापनको अध्यक्ष र चारै जना महिला शिक्षक हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री